नेपाली युवाको कोरिया ‘क्रेज’

एकजना सहकर्मी मित्र जो एक दसकभन्दा लामो समयदेखि प्राध्यापन पेशामा संलग्न छन्, उनी डिभि चिठ्ठा परेर अमेरिका जाने तयारीमा लागेका छन् भन्छन्, ‘आखिर यत्रो समय घोक्रो सुकाइयो, तर प्रतिफल के पाइयो ?’ त्यस्तै अर्का एक सहकर्मी जो विगत लामै समयदेखि शिक्षण पेशामा आवद्ध छिन्, उनी पनि भविष्यको चिन्ताले बेलाबेला पिरोल्ने गरेको बताउ“छिन् । अर्का एकजना बैंकर मित्रको विदेश यात्राको अनुभव यस्तो छ, ‘यो संसारमा सबैकुरा पैसा मात्र हो भनेर विदेश गइयो भने त विदेशमा बस्न सकिन्छ, नत्र विदेशले पोल्दो रहेछ’ । यी त भए स्वदेशमै रोजगार पाएका तर असन्तुष्ट युवाहरुको जीवन भोगाइको अनुभव । तर, ती युवाहरु जो स्वदेशमा कुनै पेशा, व्यवसायमा आवद्ध भएका छैनन् अथवा आफ्नो अध्ययन पूरा गरेर कामको खोजीमा भौंतारिरहेका छन् उनीहरुले अब विदेशिनुको विकल्प नदेख्नु कुनै नौलो कुरा रहेन ।


स्वदेशमै रोजगार पाएका र आफ्नो हैसियत बनाएकाहरुको त विदेशप्रतिको मोह छ भने बेरोजगार युवाहरुले रोजगारीका लागि विदेश ताक्नु स्वभाविकै हो । यो देशमा कुनै अवसर छैन भन्ने निश्कर्षमा पुगेर रिनधन नै गरेर भएपनि विदेशिने चक्करमा रात्री बसमा अमिलो अनुहार बनाउ“दै यात्रा गर्ने युवा युवतीहरुको ताँति नै लाग्ने गरेको छ । थाहा छैन उनीहरुको सुन्दर सपना कतै रात्री बसको कहालिलाग्दो दूर्घटनामा त पर्ने होइन ? गएको साताको मध्यतिर सुरु भएको कोरियन भाषा परीक्षाको लागि आवेदन दिने नेपाली युवाहरुको भीडलाई हेर्दा नेपालमा कुनै प्रकारको संभावना नरहेको दृष्टिगोचर हुन्छ । झण्डै ८ हजारको संख्यामा कामदार माग भएकोमा यसपाली ४८ हजारले भाषा परीक्षाको लागि आवेदन दिएको तथ्याङ्क छ । त्यसमा पहिलेदेखि नै भाषा परीक्षा पास गरेर बसेका युवाहरु पनि हजारौं रहेका छन् ।

कोरियाको प्रशिक्षार्थी कामदारका लागि लिइने कोरियाली भाषा परीक्षाका लागि लाम लागेका नेपाली युवाहरुको जमात हेर्दा यो मुलुकको भविष्य के हुने हो भन्ने चिन्ता लाग्नु स्वभाविकै हो । तर, पनि हामी श्रमशक्ति निर्यात गर्ने महान् देशको रुपमा परिचित हुनु मै गर्व गरिरहेका छौं । कोरियाली भाषा परीक्षाका लागि फाराम भर्ने युवायुवतीहरुको भीड हेर्दा मुलुक भीषण युद्धमा छ, र त्यहि युद्धको चपेटोबाट अन्य मुलुकमा शरणार्थी जीवन बिताउनको लागि आवेदन दिने ‘युद्धपिडीत’ नागरिकहरुको झझल्को दिन्छ । तर, हामीले बडो गर्वका साथ श्रमशक्तिको निर्यातमा जोड दिइरहेका छौं, फगत रेमिटान्सको नाउ“मा । के यस्तो परिपाटी र संस्कारले यो मुलुकको भविष्य निर्माण हुन सक्छ ? देशका होनाहार युवा शक्तिलाई पलायन गराउने अनि मुलुकको आर्थिक समृद्धिका कुरा गर्ने यो कस्तो द्वेध चरित्र हो ? आखिर नेपालका शासकहरुले किन मावन श्रम निर्यातलाई बढावा दिइरहेका छन् ?

गएको आर्थिक वर्षमा झण्डै ४ खर्ब रेमिटान्स भित्रिएको सरकारी आंकडा छ । ०७० जेठ मसान्तसम्मको तथ्याङ्क हेर्दा ३ खर्ब ८८ अर्ब ४६ करोड रुपैंया गत वर्ष भित्रिएको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २१.३ प्रतिशतले वृद्धि भएको हो । यसरी विप्रेशन आयले मात्रै मुलुकको झण्डै एक चौथाई कूल ग्राहस्थ उत्पादन धानेको देखिन्छ । शायद विदेशिएका नेपालीहरुले आफ्नो रगत पसिना बगाएर कमाएको धनले मुलुकको अर्थतन्त्र धानिएको हुँदा शासकहरु जहिल्यै पनि मानव निर्यातमै मस्त देखिएका छन् । अनि कहिले कोरिया त कहिले इजरायलको बहानामा आम नेपाली युवाहरुलाई विदेशिन उत्प्रेरित गरिंदैछ । अहिले सरदर दैनिक पन्ध्र सयभन्दा बढी युवाहरु बोइङ चढेर औपचारिक रुपमा वैदेशिक रोजगारीका लागि विदेशिइरहेका छन् । अझ भारतस“ग भएको खुल्ला सिमानाका कारण त्यहा“ मजदुरी गर्न जानेहरुको संख्या त यकिनका साथ भन्न सकिएको छैन । झण्डै बीस लाख भन्दा बढी नेपालीहरु त भारतीय श्रम बजारमै छन् भन्ने तथ्याङ्कहरु सार्वजनिक भइरहेका छन् ।

यसरी हेर्दा औपचारिक अनौपचारिक रुपमा विदेश (भारत पनि ) जाने नेपालीहरुको संख्या झण्डै पचास लाख नै पुगेको देखिन्छ । जुन पछिल्लो जनगणना अनुसार झण्डै १८ प्रतिशत भन्दा बढी हुन आउँछ । ती विदेशिएको जनशक्ति साँच्चिकै काम गर्ने शक्ति हो । नेपालीहरुको एउटा अनौठो आदत के छ भने स्वदेशमै बसेर ससानो पेशा, व्यवसाय गर्नुभन्दा पनि विदेशमा गएर जनुसकै काम गर्न तयार रहने गर्दछन् । शायद यो देशमा श्रमप्रतिको सम्मान नहुनुले पनि मानिसहरुलाई स्वदेशमा पाइने ससाना रोजगार र स्वरोजगारका अवसरहरुले आकर्षित गर्न सकेको छैन । र, धेरै धन कमाएर सम्पन्न हुने लोभका कारण उनीहरु विदेशिन विवश छन् । शायद हाम्रो विद्यमान शिक्षा प्रणालीले पनि विद्यार्थीहरुलाई कहिल्यै पनि श्रमप्रतिको सम्मान गर्न सिकाएन । हामीले फगत सिद्धान्तका बडाबडा कुरा त सिकायौं, तर त्यसले व्यवहारतः विद्यार्थीहरुलाई अनुशासित बनाउने र उनीहरुको जीवनलाई नै रचनात्मक बनाउने दिशामा कुनै काम गरेन । फलस्वरुपः हाम्रा शिक्षालायहरु फगत बेरोजगार उत्पादन गर्ने कारखाना बन्न पुगे । जसको प्रतिबिम्बन कोरिया जाने शिक्षित भीडमा डरलाग्दो गरी देखिएको छ । जसले विदेशप्रतिको मोहलाई आम संस्कृतिको रुपमा फैलाउने काम गरेको छ ।

यसरी हेर्दा पछिल्लो समयमा नेपाली अर्थतन्त्रको मेरुदण्ड नै वैदेशिक रोजगारीबाट प्राप्त आम्दानी बन्न पुगेको छ । सरदर दैनिक पन्ध्र सयको संख्यामा बाहिरिने नेपालीहरुको कमाइले नै मुलुकको अर्थतन्त्र धानेको छ । यसवर्ष रेमिटान्स आयमा आएको बढोत्तरीसँगै मुलुकको समग्र सोधानान्तर स्थितिमासमेत अनुकूलता थपिएको सरकार बताइरहेको छ । यद्यपि रेमिटान्स आयको ‘बुम¥याङ’मा भने अझै पनि मुलुकको अर्थतन्त्र झेलिइरहनुपर्ने अवस्था देखिएको छ । किनकि नेपालमा रोजगारीका अवसरहरु सीमित बन्दै गएका छन् । झण्डै १५ प्रतिशत नागरिक पूर्ण बेरोजगारीको अवस्थामा रहेका छन् भने झण्डै ४९ प्रतिशत नागरिकहरु छद्म बेरोजगारीको अवस्थामा रहेका छन् । ती सबैलाई पूर्ण राजगारीमा लगाई मुलुकको आर्थिक उन्नति गर्ने न त कुनै योजना छ, न त कुनै कार्यक्रम नै ।

निश्चित रुपमा रेमिटान्सको ‘बुम¥याङ’को कुरा गर्दैगर्दा विदेशबाट नेपालीहरुले डलर भित्र्याएका त छन् साथसाथै उनीहरुको मार्मिक पीडा र त्यसले नेपालको सामाजिक बनावटमा पार्दै गरेको असरलाई मूल्याङ्कन गर्ने हो भने पछिल्लो समयमा रेमिटान्स आयले मोटाएको पुस्ता विस्तारै विस्तारै परजीवी बन्दै गइरहेको छ । अब गाउ“घरका दिदी बहिनीहरु सहरबजारमा डेरा गरेर बस्न थालेका छन् । आफ्ना नानीहरुलाई शिक्षादीक्षा दिने र गाउ“घरको दुःखलाई तिलाञ्जली दिने नाउँमा उनीहरु विस्तारै श्रमबाट विमुख बन्दै गइरहेका छन् । यसरी विस्तारै विस्तारै एउटा तप्का नै फगत उपभोगवादी संस्कृतिको चंगुलमा फसिरहेको छ । र, मुख्य रुपमा रेमिटान्स आयमा बाँचिरहेकाहरु दिनप्रतिदिन परजीवी बन्दै गइरहेका छन् ।

पचास लाख श्रमशक्ति विदेशिएको नेपाल जस्तो सानो मुलुकको अािर्थक समृद्धिको सपना कसरी पूरा होला ? यो प्रश्नले अहिले लखेटिरहेको छ । गाउ“घरमा मेलापातका लागि काम गर्ने मानिसहरु पाइन छाडेकै कारण गाउ“घरका अधिकांश खेतबारीहरु बा“झो रहन गएका छन् । अब उत्पादन गरेर भन्दा बजारबाट किनेर खान सजिलो भएको छ । यो पंक्तिकार झण्डै तीन वर्षअघि अर्घाखाँचीको एउटा ग्रामीण भेकमा जा“दा त्यहाँ आतिथ्यका लागि पानी होइन ‘चीसो’ (कोक) दिइएको थियो । खाजा खाने बेलामा नजिकैको पसलमा गएर चाउचाउ किनेर ल्याएर उमालियो । पछिल्लो समयमा विस्तार भएको यातायातको सुगमताले धेरै यस्तै उपभोग्य वस्तुहरुलाई गाउ“गाउ“मा पु¥याउन सजिलो हुनु बाहेक त्यसले गाउ“घरको अर्थतन्त्रमा खासै ठूलो परिवर्तन ल्याउन सकेको छैन । किनकि गाउ“घरमा काम गर्ने जनशक्तिको ठूलो अभाव खड्किँदै गएको देखिन्छ ।

मुलुकमा नया“ रोजगारीका अवसरहरुको सृजना हुन नसक्दा प्रत्येक वर्ष थपिने श्रमशक्ति त्यसै खेर गइरहेको छ । मुलुकको राजनीतिले रचनात्मकता पाउन नसक्दा आर्थिक मुद्दाहरु ओझेलमा पर्ने गरेका छन् । आर्थिक समृद्धिका लागि निकै ठूला भाषणबाजी र गोष्ठीहरु हुन्छन् तर, ससानो रुपबाट समेत आर्थिक समृद्धिका लागि कुनै कार्य भएको छैन । आखिर गफै बेचेर खानेहरुको जमात बढिरहेको छ । गाउँहरु युवाबिहीन बन्दै गएका छन् । नेपाली युवा पुस्ताको विदेश मोहका दुईवटा आयामहरु छन् । पहिलो खासगरी सहरी क्षेत्रका सुविधासम्पन्न ठाउँका निम्न मध्यम तथा मध्यम वर्गहरुको लागि अमेरिका, बेलायत, अष्ट्रलिया आकर्षणको केन्द्र बन्दै गएको छ । दोस्रोमा कमजोर आर्थिक अवस्था भएका नेपाली श्रमिकहरुका लागि साउदी अरब, दुबई, कतार, मलेसिया लगायतका खाडी मुलुकहरु श्रमबजारको गन्तव्य बन्न पुगेका छन् ।

यसरी जुनसुकै तह र तप्काका मानिसहरु भए पनि उनीहरुलाई विदेशिनु बाध्यता बन्न पुगेको छ । विदेशिनु कसैको रहर होला तर धेरै नेपाली युवाहरुको बाध्यता बनेको छ । समाजका सबै वर्ग र समुदायका मानिसहरुका लागि वैदेशिक रोजगारी एकमात्र सुरक्षित गन्तव्य झैं देखिन गएको छ । तर, दिनहुँजसो काठको बाकसमा फर्किने नेपालीहरुको मृत शरीरले निश्चय पनि वैदेशिक रोजगारीको सफलता सोचे जस्तो सहज र सरल छैन भन्ने देखाउँछ । यति हुँदाहुँदै पनि केही समयअघि कोरियागमनका लागि आवेदन दिनेहरुको भीडले नेपाली युवाहरुको छरपस्ट सपनालाई नै उजिल्याउँछ ।

मनिकर कार्की “निवर्तमान”
Published on Dainikpatra National Daily dated 2070.05.10
manikar.nibartaman@gmail.com

No comments:

Post a Comment

कस्तो विकास, कस्तो अर्थतन्त्र

मनिकर कार्की निवर्तमान सामान्य अर्थमा अपेक्षित दिशातर्फको परिवर्तन, उत्पादन र उपभोगको वृद्धि, भौतिक पूर्वाधारको निर्माण नै विकास हो।...