संभावनायुक्त ‘ग्रेटर वीरगंज’

सामान्यतया विदा वा फुर्सदको समयमा घुमफिरको योजना बनाउने गरे तापनि कतिपय अवस्थामा अप्रत्यासित र अपर्झट हुने घुमफिर निकै रोमाञ्चकारी र अविश्मरणीय हुने गर्दछ । त्यस्तै एकदिने वीरगंज भ्रमण अप्रत्यासित एवं अविश्मरणीय भयो । शुक्रबार साँझ जगत पोखरेलजीले भोलि बिहान वीरगंज जाने है भनी प्रस्ताव राख्नुभयो । त्यसै त मध्य ग्रीष्मको खपिनसक्नु गर्मी, त्यसमाथि वीरगंजमा गएर गर्मीको मात्रा थप किन गर्नु ? मैले यो प्रचण्ड गर्मीमा वीरगंज किन जानु भन्ने विचार गर्दै पछि निर्णय दिने भनें । तर, त्यो भ्रमणमा पहिलेकै टोली अर्थात् यसै दैनिकका वरिष्ठ सम्पादक डीआर घिमिरे एवं सेवा विकास बैंकका कार्यकारी प्रमुख महेश काफ्ले पनि सम्मिलित हुने र त्यो एकप्रकारले व्यवसायिक एवं अवलोकन भ्रमण हुने भन्ने जानकारी पाएपछि मलाई पनि वीरगंज जाने चाहना भयो । त्यसो त वीरगंज मेरालागि नौलो ठाउँ थियो । र, यो यात्रामा मेरो वीरगंजको टेकाई नितान्त नूतन हुने थियो ।


भोलिपल्ट बिहान शनिबार अलि ढिला नै भयो । शनिबार भनेपछि अलि हलुका हुने दिन भएरै होला खासै बिहान चाँडै उठ्ने जाँगर पनि चल्दैन । त्यही भएर शनिबार अलि ढिलासम्म सुत्ने नै भइयो । फेरि अहिले विश्वको अर्को गोलाद्र्धमा विश्वकप फुटबलको महामेला चलिरहेको र यहाँको स्थानीय समय अनुसार त्यो खेल सबै राति नै हुने हुनाले यसो बिजुली बत्तिको चाँजोपाँजो मिलेको खण्डमा राति आक्कलझुक्कल फुटबल पनि हेरिने नै भइयो । तर पनि अधिकांश समय त हेर्दाहेर्दै झुलेर न अगाडिको थाहा हुने न पछाडिको पनि हुन्छ । अनि खेलको अन्तिम परिणामको पुनः भोलिपल्ट बिहान प्रशारण हुने हाइलाइट हेर्नुपर्ने बाध्यता पनि यथावतै छ । त्यो पनि बिजुली बत्तीले साथ दिएको खण्डमा मात्रै । नत्र रातभरी फुटबल हेर्दा पनि परिणाम पर्सिपल्ट मात्र अखबारमा हेरेर थाहा पाउनुपर्ने बाध्यता छ । यस मानेमा चालू विश्वकपको २० औं संस्करणले फुटबल पे्रमी नेपालीहरुको निद्रा ध्वस्त भएको र अबको अझै आधा महिनासम्म पनि यो प्रक्रियाबाट त्राण नपाउने अवस्था छ । त्यही विश्वकपको ह्याङओभरले पनि शनिबार बिहान चाँडै उठ्ने कुरै भएन ।

करिब छ बजेतिर उठेर एकपटक वीरगंज जाने टोलीको यात्रा अवस्थाबारेमा जानकारी लिने विचार गरेर जगत पोखरेलसँग सम्पर्क गर्न कोशिस गरें तर उहाँको फोन व्यस्त भयो । त्यसपछि डीआर घिमिरेसँग सम्पर्क गर्दा उहाँहरु हिंड्नै लागेको बताउनुभयो र मलाई पनि जाउँ भन्नुभयो । यसो विचार गर्दा मेरालागि वीरगंज नौलो ठाउँ भएको हुँदा वीरगंज घुम्ने यो अवसर पनि हो भन्ने सोचेर म पनि सम्मिलित हुने कुरा व्यक्त गरें र म तयार भएर निस्किएँ । यसपटकको यात्रा मेरा कारणले निर्धारित समयभन्दा आधा घण्टा ढिला हुन पुग्यो । त्यसो त हामी समयमा निकै पछाडि छौं । एकाध घन्टा ढिला हुनु हाम्रा लागि अति सामान्य भइसकेको अवस्थामा समयको सवालमा हामी निकै बहस पनि गरिरहन्छौं । यसपटक पनि यात्रावधि भरी त्यही आधा घण्टा ढिला भएको विषयमा निकै रमाइलो घोचपेच पनि भयो । जेहोस् हामी वीरगंजको लागि बुटवल छाड्दा त्यस्तै साँढे छ जति बजेको थियो । बुटवलबाट पूर्व लाग्दा त्यही पुरानो दृष्यहरुले उपस्थिति जनाइरहेका थिए । हामीसँगसँगै यात्रारत केही बादलका टुक्राहरुले आकाश ढाक्ने चेष्टा गरिरहँदा हामीलाई भने बिहानै देखि चर्किने बुटवल वरिपरीको चिच्याहट मौसममा केही राहत मिलेको अनुभूति भएको थियो ।

जसै हामी दाउन्ने पुग्यौं, सामान्य चियानास्ताको लागि हामी रोकियौं र बिहानको चिया नास्ता ग¥यौं । चिया नास्तापछि हाम्रो यात्रा निरन्तर जारी नै रह्यो । जतिजति पूर्वलाग्दै गर्दा दिन पनि चढ्दै जाने र गर्मीको पारो पनि चढ्दै जाने अवस्था भयो । यद्यपि वातानुकूलित गाडीमा यात्रारत रहँदा बाहिरी वातावरणको रापिलो घाम र सडकको पिच तातेर चल्ने तातो हावाको अनुभव गर्न परेन । वातानुकूलित गाडीमा यात्रारत रहँदै गर्दा शायद मानिसले वातानुकूतिल घर, गाडीमा बसेर बाहिरको वातावरणको महशुस गर्न नसकेको जस्तै जनताको पहुँचबाट माथि पुगेका नेताहरुले पनि जनताको हैसियत र उनीहरुको आवश्कता महशुस गर्न नसकेको होलान् भन्ने विचार मनमा पलायो । यद्यपि आजको वातानुकूलित यात्रा भने क्षणभंगुरका लागि मात्रै थियो त्यसैले भोलिका दिनमा फेरि त्यही गर्मीको उच्चाटलाग्दो यथार्थसँग साक्षात्कार गरिने हुनाले कम्तीमा मेरो लागि यथार्थबोध नहुने कुरै थिएन ।

हेटौंडा पुग्दा त्यस्तै १२ बजेको थियो । बार बजेको प्रचण्ड गर्मीमा पनि हेटौंडामा भने निकै शीतल अनुभव भयो । मध्यान्न भइकन पनि वादलको पातलो सतहले हेटौंडाको अधिकांश आकाश छोपेको हुनाले र हेटौंडाको हरियालीयुक्त वातावरणले सहर त्यति धुपिलो र रापिलो थिएन । फेरि नेपालकै सफा सहरको उपाधि पाएको हेटौंडा आफैंमा सुन्दर सहर पनि हो । सुन्दर भएकै हुनाले शीतलताको अनुभूति हुने नै भयो । जस्तो कि लुम्बिनी पुग्दा जस्तै धूपमा पनि शीतलताको अनुभूति भए भएजस्तो । आखिर गर्मी र शीतलता पनि अनुभूति गर्ने कुरा न हुन् । पछिल्लो समयमा हेटौंडा बजारमा फिलिलि गुडिरहेका विद्युतीय रिक्साले जोकोहीको ध्यान खिच्ने रहेछ । ‘मयूरी’ र ‘सारथी’ नामका विद्युतीय रिक्सा प्रदूषणरहित हुनुको साथै पारम्परिक रिक्सामा जस्ता शारीरिक श्रम आवश्यक नपर्ने र ८ जनासम्म यात्रा गर्न मिल्ने रहेछ । यो रिक्साको संभावना बुटवलमा पनि धेरै देखिएको महशुस गरेरै खासमा यसैको अवलोकन र बुटवलमा भित्र्याउने सोचका साथ यो भ्रमण भएको थियो । बुटवललाई बढ्दो सवारी चापबाट मुक्त गराई स्वच्छ, सफा, सुन्दर र हराभरायुक्त बुटवल बनाउने अभियानमा विद्युतीय रिक्सा निकै उपयुक्त हुने देखिन्छ । अहिले बुटवलमा पनि यो रिक्साको सेवा सञ्चालन गर्ने तयारी भइरहेको छ । जब हेटौंडाबाट पूर्व लागियो, यो भूगोल भने मेरा लागि नितान्त नौलो थियो । यसअघि पनि पटकपटक हेटौंडासम्मको यात्रा भए पनि त्यसपूर्वको यात्रा भने भएको थिएन । नयाँ ठाउँको यात्रा गर्दैगर्दा मेरा नजर भने त्यहाँको भूगोलको तस्बिर आँखामा कैद गर्न आतुर हुन्छन् । हेटौंडापूर्व बाराको अमलेखगञ्जसम्म खासै मानववस्ती देखिएन । चुरेको फेदैफेद जंगलको बाटो हुँदै अमलेखगञ्ज पुगिने रहेछ । अमलेखगञ्ज त्यत्ति ठूलो बस्ती रहेनछ ।

बाराको पथलैयाबाट हामीले पूर्वपश्चिम राजमार्ग छाडेर हामी दक्षिणतर्फ मोडियौं । अबभने औद्योगिक नगरी सुरु भएको महशुस भयो । सडकका वरिपरी लहरै रहेको विभिन्न उद्योग, कलकारखानाहरुले नेपालमा पनि औद्योगिक विकासको संभावना रहेछ भन्ने महशुस गरायो । त्यस्तै करिब आधाघण्टाको यात्रापछि हामी नेपालको औद्योगिक एवं वाणिज्य नगरी वीरगंज पुग्यौं । वीरगंज पुग्दै गर्दा सडकका दायाँबायाँ फालिएका फोहोर र खुल्ला नालिबाट बगिरहेको ढलले अलि दुर्गन्धित लाग्दथ्यो । मुलुककै सफा सहर हेटौंडाहुँदै वीरगंज जाने जोकोहीलाई त्यहाँको अव्यवस्थित सडक अनि बजार क्षेत्रमा गरिएका अव्यवस्थित पार्किंग, त्यसमाथि प्रचण्ड गर्मीका कारण चिम्सा आँखा बनाएर हुर्नुपर्ने बाध्यताले वीरगंजप्रतिको धारणा पूरै बदलिने देखियो ।


यतिहुँदाहुँदै पनि वीरगंजको आफ्नै महत्व र इतिहास छ । वास्तवमा वीरगंज नेपालको प्रजातान्त्रिक आन्दोलनमा एउटा उल्लेख्य इतिहास बोकेको पुरानो सहर हो । २००७ सालको क्रान्तिमा वीरगंजको भूमिका निकै रणनीतिक रहेको कुरा हामीले इतिहासमा पढ्दै आएका हौं । त्यसैगरी क्रान्तिकै क्रममा थिरवम मल्ल र तेज बहादुर अमात्य सहिद भएको इतिहासका बारेमा त्यहाँकै एक अगुवा एवं प्राध्यापक डा. दीपक शाक्यले जानकारी दिनुभयो । शाक्यले नै हामीलाई वीरगंजका अन्य महत्वपूर्ण पक्षहरुको बारेमा पनि जानकारी दिनुभयो ।


वीरगंज नेपालको लागि पहिलो र महत्वपूर्ण आर्थिक नाका हो । भारतीय बजारबाट सजिलो, छिटो, सहज र सस्तो दरमा सामान ल्याउने एकमात्र नाका वीरगंज नाका हो । यसर्थ, नेपालको आर्थिक विकासमा वीरगंजको मुख्य भूमिका रहने गर्दछ । त्यसो त वीरगंज भन्सार नाकाबाट मात्रै मुलुकको करिब ४० प्रतिशत कूल राजस्व भित्रिने गरेको तथ्यांक छ । त्यसैगरी वाणिज्य र औद्योगिक नगरी वीरगंजदेखि पथलैयासम्म औद्योगिक करिडोरको रुपमा विकास भएको छ । यद्यपि यहाँका उद्योगधन्दा तथा कलकारखानाहरुको सचित व्यवस्थापन हुन नसकेको देखियो । वीरगंज व्यवसायिक क्षेत्र भएकोले विकासका अन्य दृष्टिकोणबाट वीरगंज निकै संभावनायुक्त हुँदाहुँदै पनि सामाजिक, सांस्कृतिक एवं मानवीय विकासमा पछाडि रहेको प्रतीत हुन्थ्यो ।

वीरगंज आर्थिक, सामाजिक, धार्मिक तथा कृषि उत्पादनको हिसाबमा संभावना युक्त स्थान हो । वीरगंजको संभावनाकै कुरा गर्ने हो भने नेपालकै एकमात्र सुख्खा बन्दरगाह वीरगंजमा छ । त्यसैगरी एकीकृत भन्सार कार्यालयले पनि यसको व्यवसायिक महत्व दर्शाएको छ । त्यसैगरी बाराको निजगढमा निर्माण हुने अन्तर्राष्ट्रिय विमानस्थल एवं काठमाडौं–निजगढ फास्ट ट्र्याकले वीरगंजको संभावनालाई उजागर गर्दछ । वीरगंजको वैभव बढाउने र वीगरंजलाई नेपालकै नमूना सहर बनाउनको लागि ‘ग्रेटर वीरगंज’ घोषणाका लागि आवश्यक तयारी भइरहेको र त्यो योजना अनुसार वीरगंजलाई औद्योगिक, यातायात, शैक्षिक, कृषि सहरको रुपमा व्यवस्थित गरिने योजना रहेको जानकारी प्राध्यापक शाक्यले दिनुभयो । ग्रेटर वीरगंज अन्तर्गत पूर्वपश्चिम बाराको कलैया देखि विन्दवासिनीसम्म तथा उत्तरदक्षिण पथलैयादेखि रक्सौलसम्मको भूगोल समेटिने र सन् २०५० सम्ममा वीरगंजलाई आधुनिक सहरको रुपमा व्यवस्थित गरिने योजना रहेको जानकारी पनि उहा“ले दिनुभयो । वीरगंजको यिनै यथार्थ र संभावनाको जानकारीका साथ हाम्रो यात्राले विश्राम लियो । यात्राका क्रममा हामीलाई वीरगंज तथा हेटांैडामा आत्मीय आतिथ्यता प्रदान  गर्ने नेपाल जेसिसका साथीहरु एवं समग्र वीरगंजको यथार्थ जानकारी र संभावनाको बारेमा जानकारी दिनुहुने डा. शाक्यलाई हार्दिक धन्यवाद ।

मनिकर कार्की “निवर्तमान”

Published at: Dainikpatra Daily

No comments:

Post a Comment

‘वैकल्पिक राजनीति’को कार्यभार

मनिकर कार्की निवर्तमान करिब पच्चीस सय वर्षअघि गौतमबुद्धले भनेका थिए – ‘दुःख छ । दुःखको कारण छ । दुःखको निवारण छ । ज्ञान, शील र समाधीको ...