धर्म सापेक्षताले मुलुक ‘राष्ट्र’ बन्दैन

अहिले सुझाव संकलनकै प्रक्रियामा काम भइरहँदा संविधानका अन्तरवस्तुमा भन्दा पनि जनताको व्यक्तिगत भावनासँग सम्बन्धित विषयवस्तुलाई विवादित तुल्याइएको छ । अनि त्यही भावनात्मक कुरोलाई प्रधान मानेर अनावश्यक रुपमा सुनियोजित ढंगले किचलो निकालिंदैछ । त्यस्तै एउटा विषय हो, धर्मनिरपेक्षता । अहिले एकथरी मानिसहरु जो हिन्दु धर्मलाई राजधर्मको रुपमा ग्रहण गर्छन् र नेपाललाई ‘हिन्दु अधिराज्य’ भनाउनमै गर्व गर्छन्, उनीहरु धर्मनिरपेक्षताको विरुद्ध आगो बाली आफ्नो रोटी सेक्ने कुत्सीत चाल चल्दैछन् । उनीहरु सुनियोजित रुपमै मुलुकलाई धार्मिक द्वन्द्वमा फसाउने कुचेष्टा गरिरहेका छन् । अनि उनीहरु संगठित रुपमै जनमतको नाउँमा जनतालाई धर्म निरपेक्षताको विरुद्ध उकासिरहेका छन् । सोझासाझा जनतालाई धर्मनिरपेक्ष भयो भने आफ्नो धर्म, परम्परा र संस्कृति अतिक्रमणमा पर्नेजस्तो वाहियात कुरा गरेर बेवकुफ बनाउँदैछन् । कहाँसम्म भने स्वामी भनिने केही धार्मिक अतिवादीहरु त जनतालाई धर्मयुद्धका लागि आह्वान पो गर्दैछन् । आखिर तिनले यो देशमा के गर्न खोजेका हुन् ? के यो देश तिनले भनेजस्तो सनातनी एकात्मक धार्मिक राज्य हो ? आखिर उनीहरु कुन बलका आधारमा यस्तो धार्मिक र सामाजिक सद्भावमै खलल पुग्ने खाले कुरा गरेर जनतालाई उत्तेजित पार्दैछन् ? अनि किन यसो गर्दैछन् ? हो, यो यथार्थ कुरा हो कि नेपालमा हिन्दु धर्म मान्ने मानिसहरुको संख्या धेरै छ । मूलतः हिजोको राज्य प्रणाली नै हिन्दुधर्म र संस्कृतिमा आधारित राज्य थियो । त्यसैलाई संस्कारित गरियो । अनि शासकहरुले यही धर्म र संस्कृतिलाई आफ्नो राजधर्म मानेका थिए । अनि त्यो देशका नागरिकहरुमा पनि त्यही धर्मको प्रभाव पर्नु कुनै ठूलो कुरो होइन । हिजोको एकात्मक राज्यसत्ताको धर्म र संस्कृतिले पूर्वतिरका किराँतहरु जो प्रकृति पूजक हुन्, जसले पितृ र धर्ती पूजनलाई नै आफ्नो धर्म मान्दछन्, उनीहरुको धार्मिक र सांस्कृतिक पहिचानलाई नै निषेध गरेको थियो । उनीहरुलाई जर्बजस्त रुपमा हिन्दुधर्म अनुसारको कर्मकाण्ड थोपरिएको इतिहास हामीसँगै छ । अहिले बन्ने नयाँ संविधानमा ती सबै धर्म, समुदाय र सांस्कृतिक पहिचान भएका अल्पसंख्यक समुदायहरुको संस्कृतिलाई राज्यले संरक्षण गर्नुपर्छ भन्ने मान्यता हो । अनि ती सबै धर्म, परम्परा, संस्कार र संस्कृतिहरुलाई संरक्षकत्व प्रदान गर्नुपर्ने कुरा चलिरहँदा कसरी एउटा धर्म सापेक्ष बन्न सक्छ देश ? धर्म निरपेक्षताले त्यही कुराको वकालत गर्ने न हो । अनि धर्म निरपेक्षताले कहाँनेर हिन्दु धर्मलाई हानी गर्यो ? यहाँ धर्म निरपेक्षताको व्याख्या भन्दा अपव्याख्या बढी भएको छ । धर्मनिरपेक्षताले हिन्दु धर्म र संस्कारलाई कसै गरेपनि निषेध गर्दैन । कतिपय हिन्दु धर्म र संस्कारमा दीक्षित एवं कथित रुपमा संस्कारित मनुवाहरुले धर्मनिरपेक्षताको एकोहोरो ढंगबाट विरोध गरिरहेका छन् । जुन सहि होइन । के हिन्दु धर्म यति धेरै कमजोर छ, जसलाई संरक्षण गर्न राज्य नै लाग्नुपर्छ ? अनि धर्म राज्यले मान्ने हो कि व्यक्तिले ? यदि व्यक्तिले मान्ने हो भने ऊ जुनसुकै धर्म अवलम्बन गर्न स्वतन्त्र छ, हुनुपर्छ । कसैलाई धर्मप्रति आस्था नै छैन भने नमान्न पनि पाउनुपर्छ । वास्तवमा भन्ने हो भने, सबै धर्मलाई समान रुपमा हेर्ने आँखा भनेकै धर्मनिरपेक्षता हो । अनि धर्म नितान्त व्यक्तिगत स्वतन्त्रताको कुरा हो मानेपनि हुन्छ, नमान्न पनि पाइन्छ, पाउनुपर्छ । म एउटा यो देशको नागरिक भएको हैसियतले मेरो देश कुनै एक धर्म सापेक्ष होस् भन्ने चाहन्नँ । अनि सापेक्ष नहुने भनेको त निरपेक्ष नै हो नि । अनि यसमा किन यस्तो कोकोहोलो ? स्वभाविक रुपमा ८० प्रतिशतभन्दा बढी हिन्दु धर्म मान्ने मानिसहरु भएको ठाउँमा धेरैले धर्म निरपेक्षताको विरुद्ध मत जाहेर पनि गर्लान् लौ । तर, धेरैले गलत गरे भने पनि सहि त हुँदैन होला नि । धर्मनिरपेक्षता भन्दा कसरी हिन्दु धर्मको विरोध हुन्छ ? यो जनताको आस्था र भावनासँग खेल्ने काम गर्नु हुँदैन । यदि नेपाललाई पहिलेकै जस्तो कुनै एक धर्म सापेक्ष बनाइयो भने यो मुलुक राज्य त बन्नेछ, जुन विगतमा पनि थियो तर, ‘राष्ट्र’ बन्न सक्दैन । यहि यो देशलाई साँच्चिकै राष्ट्र बनाउने हो भने धर्मनिरपेक्षताको विकल्प खोज्नु हुँदैन ।
 - See more at: http://www.khabardabali.com/2015/07/30132/#sthash.39vh56L0.dpuf

No comments:

Post a Comment

‘वैकल्पिक राजनीति’को कार्यभार

मनिकर कार्की निवर्तमान करिब पच्चीस सय वर्षअघि गौतमबुद्धले भनेका थिए – ‘दुःख छ । दुःखको कारण छ । दुःखको निवारण छ । ज्ञान, शील र समाधीको ...