राष्ट्रिय जनावर गाई नै किन ?

मस्यौदा संविधानमा सुझाव दिने क्रममा जनस्तरबाट धर्मनिरपेक्षता हुनु हुँदैन भनेर सबैभन्दा धेरै सुझाव आएको भन्ने कुरा सार्वजनिक भएलगत्तै संविधानसभाअन्तर्गत राजनीतिक संवाद समितिका सभापति डा. बाबुराम भट्टराईले धर्मनिरपेक्षता, गणतन्त्र र संघीयताबाट देश पछि फर्कन नसक्ने कुरा प्रस्ट पारेका छन् ।
खासमा अहिलेको राजनीतिक परिवर्तनको मुख्य उपलब्धि नै यिनै हुन्, जसले राज्यको एकात्मक ढाँचालाई परिवर्तन गर्नेछ । तर, राजनीतिक वृत्तमा त्यही मुख्य उपलब्धिलाई पङ्गु बनाउने चलखेल सुरु भइरहेको छ । खासगरी यिनै उपलब्धिहरुका विरुद्ध अनेकखाले विभ्रम सिर्जना गरेर विवादित बनाउने र गलत ढंगले अपव्याख्या गरी जनतालाई दिग्भ्रमित पार्ने चाल पनि प्रस्ट देखिइसकेको छ ।
हो, परिवर्तनका पक्षधरहरु यहिँनेर चनाखो हुनुपर्ने देखिन्छ ।
हो, गाईको दूधमा पोषण पाइन्छ । के यत्तिकै आधारमा गाईलाई राष्ट्रिय जनावर घोषणा गर्नुपर्छ ? त्यसो त भैंसीले पनि दूध दिन्छ । चौंरीले पनि दिन्छ । बाख्राको दूध झन् पोषिलो हुन्छ । तर गाई नै किन ? किनकि गाई हिन्दू समुदायले पुजिने पशु हो ।
अहिले एकथरी मानिसहरु जो हिन्दु धर्मलाई राजधर्मको रुपमा ग्रहण गर्छन् र नेपाललाई ‘हिन्दू अधिराज्य’ भनाउनमै गर्व गर्छन्, उनीहरु धर्मनिरपेक्षताको विरुद्ध आगो बालेर आफ्नो रोटी सेक्ने कुत्सित चाल चाल्दैछन् । अनि जनमतको नाउँमा जनतालाई धर्मनिरपेक्षताका विरुद्ध उनीहरुको भावनासँग खेलवाड गर्दै सुझाव दिन उत्प्रेरित पनि गरिरहेका छन् ।
हो, यो यथार्थ कुरा हो कि नेपालमा हिन्दू धर्म मान्ने मानिसहरुको संख्या धेरै छ । मूलतः हिजोको राज्य प्रणाली नै हिन्दूधर्म र संस्कृतिमा आधारित राज्य थियो, जसका शासकहरुले यही धर्म र संस्कृतिलाई आफ्नो राजधर्म मानेका थिए । अनि त्यो देशका नागरिकहरुमा पनि त्यही धर्मको प्रभाव पर्नु कुनै ठूलो कुरो होइन ।
हिजोको एकात्मक राज्यसत्ताको धर्म र संस्कृतिले पूर्वतिरका किरातहरु जो प्रकृति पूजक हुन्, जसले पितृ र धर्ती पुजनलाई नै आफ्नो धर्म मान्दछन् उनीहरुको धार्मिक र सांस्कृतिक पहिचानलाई नै निषेध गरियो । उनीहरुलाई जबरजस्त हिन्दू धर्मअनुसारको कर्मकाण्ड थोपरिएको इतिहास हामीसँगै छ । 
भारतले सन् १९७३ मा लोपोन्मुख अवस्थामा पुगेको पाटेबाघलाई राष्ट्रिय जनावर घोषणा गरी संरक्षण अभियान चलाएको थियो । केही वर्षमै लोपोन्मुख अवस्थामा पुगेको बाघको संख्या बढ्यो । हामी पनि नेपालको तराईमा मात्र पाइने एकसिङ्गे गैंडालाई राष्ट्रिय जनावर घोषणा गरी गैंडाको संरक्षणमा लागौं न ।
त्यही हिन्दू धर्मावलम्बीहरुले पुज्ने पशु गाईलाई राष्ट्रिय जनावर घोषणा गरियो । हो, गाईले दूध दिन्छ । गाईको दूधमा पोषण पाइन्छ । के यत्तिकै आधारमा गाईलाई राष्ट्रिय जनावर घोषणा गर्नुपर्छ ? त्यसो त भैंसीले पनि दूध दिन्छ । चौंरीले पनि दिन्छ । बाख्राको दूध झन् पोषिलो हुन्छ । तर गाई नै किन ? किनकि गाई हिन्दू समुदायले पुजिने पशु हो ।
खासमा राष्ट्रिय जनावर घोषणाको निहितार्थ हुन्छ, कुनै लोपोन्मुख जन्तुको संरक्षण । भारतले सन् १९७३ मा लोपोन्मुख अवस्थामा पुगेको पाटेबाघ (द रोयल बेङ्गल टाइगर)लाई राष्ट्रिय जनावर घोषणा गरी त्यसको संरक्षण गर्ने अभियान चलाएको थियो । केही वर्षमै सोचेभन्दा राम्रो नतिजा हात लाग्यो । लोपोन्मुख अवस्थामा पुगेको बाघको संख्या बढ्यो । हो, हाम्रो सन्दर्भमा पनि अब कुनै त्यस्तै लोपोन्मुख जनावरलाई राष्ट्रिय जनावर घोषणा गर्नुपर्छ र त्यसको संरक्षणमा लाग्नुपर्छ ।
हामी नेपालको तराईका जंगलमा पाइने एकसिङ्गे गैंडा नेपालमा मात्र पाइन्छ भनिरहेका छौं भने त्यसैलाई राष्ट्रिय जनावर घोषणा गरी गैंडाको संरक्षणमा लागौं न । फेरि पछिल्लो समय गैंडाको चोरी शिकारी बढ्दै जाँदा लोपोन्मुख अवस्थामा पुगेको समाचारहरु पनि आइरहेका छन् । नत्र, हिन्दुबाहेक अरु धर्म र संस्कारमा मासुकै लागि प्रयोग गरिने गाई नै किन राष्ट्रिय जनावर ?
त्यसो त नेपाली समाजमै पनि त्यस्ता संस्कृति र परम्परा छन् जहाँ गाई, गोरुको मासु अनिवार्य र महत्वपूर्ण मानिन्छ । तर, ती समुदायका मानिसहरु जसले आफ्नो परम्परागत संस्कारअनुसार गाई–गोरुको मासु खाएको आरोपमा ज्यानमुद्दा लगाएर जेल चलान गरिन्छ, के यो अत्याचार र विभेद होइन ?
राज्यको त्यही अन्यायपूर्ण व्यवहारका कारण उनीहरु आफ्नो संस्कार र संस्कृति निर्धक्क भएर मान्न सक्ने अवस्थाबाट वञ्चितीमा परे । अनि बाध्य भएर त्यही राज्यले थोपरेको धर्म र संस्कारलाई अङ्गिकार गर्न पुगे । के आजको यो परिवर्तित सन्दर्भमा पनि तिनै पुराना बिम्बहरुलाई निरन्तरता दिनु उपयुक्त हुन्छ ?
साँच्चिकै भन्ने हो भने हिजो आर्य, खस जाति र समुदायका मानिसहरुले लगाउने पोशाक नै राष्ट्रिय पहिचान बन्यो, बनाइयो । उनीहरुको भाषा नै राष्ट्रभाषा बन्यो । उनीहरुको धर्म, संस्कार र संस्कृति नै राजकीय र शासकीय धर्म बन्यो । अनि यो वा त्यो रुपमा त्यही धर्म र संस्कृतिलाई देशव्यापी बनाइयो ।
बक्खु, दोचा, भाङ्ग्रा, कछाड, धोती लगाउनेहरुलाई जबरजस्त रुपमा मयलपोस र टोपी भिडाइयो, अनि त्यसैमा राष्ट्रियताको राग अलाप्न सिकाइयो । अनि मानिसहरुलाई त्यसैको सम्बद्र्धन गर्न लगाइयो ।
हिन्दू धर्मको नाउँमा देशव्यापी रुपमा अनेकथरी गुठी अनि धार्मिक संघसंस्थाहरु जन्माइयो । नत्र यो अनेकथरी गुठी, मठमन्दिर इत्यादिलाई परम्पराको नाउँमा होम, जप, हवन, पूजा इत्यादिका लागि राज्यकोषबाट रकम बाँड्ने परम्परा किन बसाइयो ?
यसको पछाडि एउटै मात्र कारण छ, मुलुकलाई सम्पूर्ण रुपले एकात्मक प्रणालीमा लैजानु थियो । हिजो मुलुकलाई नै हिन्दुकरण गरिएको थियो । जसका कारण अन्य धर्म र संस्कृति मान्ने मानिसहरुले आफ्नो पहिचान गुमाउनु पर्‍यो । अहिले ती सबैलाई मान्य हुने गरी निरपेक्षताको कुरा गर्दा एकथरी हिन्दु अतिवादीहरु कोकोहोलो मच्चाइरहेका छन् । उनीहरु कहिले शंख–घण्ट लिएर सडकमा उत्रिएका छन् त कहिले विरोधको नाउँमा पाखण्डीपूर्ण तमासा गरिरहेका छन् ।
वास्तवमा हिजो के थियो होइन, अब के गर्ने ? भन्ने मुख्य प्रश्न हो ।
के गर्दा सजिलो हुन्छ ? के गर्दा सबैको भावना समेट्न सकिन्छ ? के गर्दा सबैलाई अटाउने बनाउन सकिन्छ ? हो, गर्ने चाहिं त्यो हो ।
हिजो के थियो, त्यो मुख्य कुरा होइन ।
हिजोको व्यवस्थाले पुगेको भए, हिजोको राज्यसत्ताले न्याय गरेको भए, हिजोको सत्ताले सबैलाई हक, अधिकार र पहिचान दिएको भए, हिजोको सत्ताले जनतालाई विभेद नगरेको भए कुरा अर्कै हुन्थ्यो ।
तर हिजोको व्यवस्थाले विभेद गर्‍यो । त्यसले अरु धर्म, संस्कृति र समुदायका मानिसलाई विभेद गर्‍यो । त्यसले वर्ग, लिङ्ग, धर्म, क्षेत्र र जातका आधारमा विभेद गर्‍यो । त्यसैले आज नयाँ व्यवस्था गर्नुपरेको हो । नयाँका लागि संघर्ष गर्नुपरेको हो । अनि नयाँ व्यवस्थामा पनि तिनै पुराना विभेदकारी बिब र प्रतीकहरु किन ?
त्यसैले हिजो के थियो होइन, अब के गर्ने हो, त्यो सोच्ने बेला भइसकेको छ । भोलि फेरि ढिला हुनेछ ।

No comments:

Post a Comment

‘वैकल्पिक राजनीति’को कार्यभार

मनिकर कार्की निवर्तमान करिब पच्चीस सय वर्षअघि गौतमबुद्धले भनेका थिए – ‘दुःख छ । दुःखको कारण छ । दुःखको निवारण छ । ज्ञान, शील र समाधीको ...