आस्थाको विभ्रम

मनिकर कार्की ‘निवर्तमान’

एक दिन बुटवलका केही अग्रज व्यक्तित्वहरुसँग भलाकुसारी गर्ने अवसर मिल्यो । तिहार भर्खरै सकिएको थियो । मानिसका घरघरमा तिहारका लागि पकाइएको सेलरोटी खाजाको रुपमा प्रयोग हुने क्रम शायद जारी नै थियो । त्यसैले तिहारमा पकाइएको सेलरोटी र चियासँगै गफको सिलसिला सुरु भयो, एक अधिवक्ता मित्रको कानूनी परामर्श कार्यालयमा । यो पंक्तिकारले दसैंको प्रसंगमा फेसबुकमा राखेको स्टाटसबाट भएको कुरा कुराकानीको केन्द्रीय विषय धर्म, संस्कार, संस्कृति र चाडपर्व बन्न पुग्यो ।

पंक्तिकारले दसैंको सन्दर्भमा ‘गाउँघर गएर बाआमा, आफन्तजन एवं साथीसंगीहरुसँग भेटघाट भयो तर, धार्मिक आस्था नभएका कारण निधारमा टिको टाँस्ने काम भने गरिएन’ भनेर स्टाटस लेखेको थियो । त्यही स्टाटसप्रति असन्तुष्टि जनाउँदै आफ्नो संस्कृति र परम्परा छाड्न नहुने सल्लाह दिनुभयो यो पंक्तिकारलाई । ठीक छ, उहाँले जसरी धर्म, संस्कृति, संस्कार र परम्परालाई आफ्नो पहिचानको रुपमा लिंदै जीवनका लागि त्यसको जर्गेना र निरन्तरता अति जरुरी रहेको तर्क गर्नुभयो । त्यसैगरी यो पंक्तिकारले पनि कुनै एक अमूक वर्ग, जाति, भाषाभाषि र समुदायको धर्म, संस्कार र संस्कृतिसँग बिलकुल फरक अझ कतिपय अवस्थामा उल्टो लाग्ने संस्कार, परम्परा र संस्कृति अर्को समुदायको छ भने त्यसलाई मान्ने छुट उसलाई हुन्छ कि हुँदैन भनी जिरह गरेको थियो ।



त्यसै सिलसिलाबाट सुरु भएको हाम्रो गफगाफको श्रृंखला अन्ततः चाडपर्व, धर्म, संस्कृति, परम्परा र आस्थासँग जोडिन गयो । अनि यो देशमा धर्म, संस्कृति र परम्पराको कुरा गर्दैगर्दा एउटा अमूक समुदाय अझ शासकीय समुदायले अवलम्बन गर्ने परम्परा, धर्म, संस्कार र संस्कृति नै अब्बल हुने नै भयो । धर्म, संस्कार र संस्कृतिको निर्माणको केन्द्रीय विषयभित्र सत्ता र सत्ताले निर्माण गरेको संस्कृति जोडिएर आउने गर्छ । हो, यो यथार्थ कुरा हो कि नेपालमा हिन्दु धर्म मान्ने मानिसहरुको संख्या धेरै छ । मूलतः यो देशको राज्य प्रणाली नै हिन्दुधर्म र संस्कृतिमा आधारित थियो, छ जसका शासकहरुले यही धर्म र संस्कृतिलाई आफ्नो राजधर्म मानेका छन् । अनि त्यो देशका नागरिकहरुमा पनि त्यही धर्मको प्रभाव पर्नु कुनै ठूलो र अनौठो कुरो कदापि हुन सक्दैन ।

हिजो जसरी राज्यको निर्माण भयो त्यसले सत्ताको संस्कृति पनि निर्माण गर्दै गयो र मुलुकमा एकात्मक राज्यसत्ता र संस्कृतिको निर्माण हुन गयो । त्यसमा शासक जातिका मान्छेले अवलम्बन गर्दै आएका धर्म, संस्कृति र परम्परालाई सिंगो राज्यको संस्कृतिको रुपमा अंगिकार गर्ने काम भयो र त्यसैलाई राज्यको धर्मको रुपमा स्थापित गर्ने काम भयो । अनि विगतदेखि कायम रहेका फरकफरक धर्म, परम्परा, संस्कृति र सांस्कृतिक समूहका मानिसहरुलाई बहिस्करणमा पारियो । अझ यसो भनौं उनीहरुले पारम्परिक रुपमा मनाउँदै आएका चाडपर्व, धर्म, परम्परा र संस्कृतिमाथि अतिक्रमण भयो र एउटै बनाउने नाउँमा उनीहरुलाई जर्बजस्त रुपमा शासक जातिले मान्ने गरेको धर्म थोपरियो । जसको परिणाम स्वरुप उनीहरु राज्यले अंगिकार गरेको धर्म, संस्कार र संस्कृति अवलम्बन गर्न बाध्य पारिए ।

त्यसो त राज्यको निर्माणादिकालमा धर्म, संस्कार र संस्कृति राज्य संचालन गर्ने साधनकै रुपमा प्रयोग गरिन्थ्यो र आम जनतालाई त्यसैका आडमा शासन गर्ने प्रचलन थियो । अनि शासक वर्गले अवलम्बन गर्ने धर्म, संस्कृति र परम्परालाई राज्यकै धर्म, संस्कृतिको रुपमा अंगिकार गरिन्थ्यो । अनि त्यही धर्म र संस्कृति नेपाली राष्ट्रियता निर्माणको आधार बन्न पुग्यो । त्यसो त नेपाली राष्ट्रियताको कुरा गर्दैगर्दा आधुनिक नेपालका ‘राष्ट्र निर्माता’ भनिएका पृथ्वीनारायण शाह र उनका उत्तराधिकारीहरुसम्म पुग्नु पर्ने हुन्छ । पृथ्वीनारायण शाहले युद्धमार्फत विभिन्न स्वतन्त्र अस्तित्वमा रहेका राज्यहरुमाथि सैन्य बलबाट बिजयी हासिल गरी गोर्खा साम्राज्यको निर्माण गरे । अनि ती गोर्खा साम्राज्यमा गाभिएका ससाना राज्य, रजौटाहरुलाई त्यही गोर्खाली भाषा, भेष, संस्कार र संस्कृति जर्बजस्त रुपमा अंगिकार गराइयो । गोर्खा साम्राज्यमा गाभिनुपूर्व उनीहरुको छुट्टै भाषा, भेषभुषा, परम्परा, रितिरिवाज, संस्कृति इत्यादिले निर्माण गरेको छुट्टै राष्ट्रियता विशाल बन्दै गएको गोर्खा साम्राज्यमा अस्वीकृत भयो र कालान्तरमा अहिलेको नेपाली राष्ट्रियताको डिस्कोर्स निर्माण गरियो ।

त्यही भाष्यलाई संस्थागत गर्ने काम तत्कालीन राजा महेन्द्रले आफ्नो प्रत्यक्ष शासन कालमा पूरा गरे । उनले घोषित रुपले नै नेपाललाई एकात्मक राज्यमा परिणत गरिदिए र एक भाषा, एक धर्म, एक भेष र एकल संस्कृतिलाई एकताको पर्यायको रुपमा परिभाषित गरिदिए र सबैलाई एउटै बनाउने अभियानमा लागे । हो, हामी आज तिनै शासकले निर्माण गरिदिएको एकल राष्ट्रियताको डिस्कोर्सलाई बोकिरहेका छौं । अनि हामीलाई एउटै देशभित्र धेरै राष्ट्रियताहरु हुन्छन् भन्दा जिब्रो टोक्नु पर्ने अवस्थामा आइपरेको छ । किनकि हामीलाई हाम्रा इतिहासकारहरुले त्यसरी कहिल्यै सिकाएनन् । राष्ट्र र राष्ट्रियता भनेको एउटै कुरा हो, नेपाल राष्ट्र र नेपाली राष्ट्रियता, बस् हामीले सिकेको कुरा त्यही हो । त्यही लेखियो, त्यही पढियो अनि पढाइयो । अनि कसरी फरक सोच्नु ? हामीलाई कहिल्यै भनाइएन राष्ट्रियताहरु बहु हुन्छन् भनेर । कहिल्यै पनि सिकाइएन यो देशका सबै भाषाभाषि, धर्म, जातिका समुदायहरुको आआफ्नो फरक रहनसहन, चालचलन, रितिरिवाज, भाषा, धर्म, संस्कार र संस्कृति छ ।

अनि अहिले जब एकाएक पहिचान र बहुराष्ट्रिय राज्यको अवधारणा बहसमा आयो हामी एकाएक अताल्लिन पुगेका छौं । अनि बल्ला आभाष हुन थाल्यो कि यो मुलुक देश बनेको रहेछ, तर अझै पनि राष्ट्र बन्न सकेको रहेनछ । तर, हामीले अझै पनि त्यसरी सोच्न सकेका छैनौं । एकथरी मानिसहरु आज पनि पञ्चायतकालीन राष्ट्रवादको स्वर्णिम वर्णन गर्न पछि पर्दैनन् । नेपालको राजनीतिक इतिहासमा पञ्चायत काल यस्तो कालखण्ड थियो जहा“ खस, आर्य एकल राष्ट्रियताको खुबै व्यापार भयो । यो अवधिमा मुलुकलाई नै एउटै भाषा, भेष, धर्म, संस्कार र संस्कृतिमा ढाल्ने चेष्टा गरियो ।

महेन्द्रले तिनका जिजुबाबुले पनि गर्न नसकेको काम गरेर देखाइदिए । अनि हामी अहिले पनि त्यही महेन्द्रीय राष्ट्रवादको चर्चा गरिरहेका हुन्छौं । के महेन्द्रीय राष्ट्रवादमा जनताको अधिकारको कुरा छ ? जनताको समृद्धिको कुरा छ ? जनताका मौलिक पहिचान, संस्कार, परम्परा, धर्म, संस्कृतिको जगेर्नाको कुरा छ ? मुलुकमा भएका विभिन्न जाति, भाषाभाषि, वर्ग र समुदायका मौलिक पहिचानको संरक्षण छ ? जनतालाई अधिकार सम्पन्न मालिक बनाउने विषयवस्तु छ ? अहं छैन । किनकि उनको राष्ट्रवाद फगत दौरा सुरुवाल र टोपीमा आधारित छ । खोला, नाला, हिमाल, पहाड, झरना अनि डा“फे र मुनालका सुन्दर कविताका पंक्तिहरुमा कुदिएको छ । अनि गाजलु ती ठूलाठूला आंखाको सुन्दरतामा वर्णित छ । अहं ससाना चिम्सा आंखा पनि हुन्छन् र ती पनि सुन्दर हुन्छन् भन्ने स्वीकारोक्ति पटक्कै छैन । अनि हामी वर्षको एकाधपटक दौरा सुरुवाल र टोपीमा ठा“टिएर गर्व गर्दै भन्छौं, र तस्बिर खिचाएर सामाजिक सञ्जालमा अपलोड गर्दै लेख्छौं ‘यो मन त मेरो नेपाली हो’ । बस् राष्ट्रियताको एकथान बलियो झलक प्रस्तुत भइगयो । अनि त आफैं मखलेल ।

तर, यो मन त मेरो नेपाली होमा रमाउ“दै गर्दा हामीले कहिल्यै पनि आत्मनिर्भरतातिर सोचेनौं । बरु विदेशी रेष्टुरा“हरुमा पिजा, बर्गर अनि वाइन खा“दै गर्दा गाउ“घरको भुटेको मकै, गुन्द्रुकको अचार र मोही मिस गर्यौं, बस् । किनकि यो मन त मेरो नेपाली होलाई जसरी पनि कायमै राख्नु जो छ । हामीले अहिलेसम्म आफ्नो राष्ट्रियताको सम्बद्र्धनमा गरेको कुरा त्यत्ति हो । र हाम्रा शासकहरुले पनि फगत नेपाली मनहरुलाई विदेश निर्यात गर्दै रेमिटान्सले देश चलाउनै सजिलो मानिरहे । अनि कहिल्यै पनि जनताको समृद्धि र प्रगतिस“गै राष्ट्रियता मजबुद हुन्छ अनि मुलुक सा“च्चिकै राष्ट्र बन्छ भनेर सोचेनन् । उनीहरुलाई यसरी सोच्ने आवश्यकतै परेन । किनकि सबैकुरा छ“दैछ, उपभोग गर्न पाइएकै छ त किन लेठो गर्नु ?

अनि मानिसहरुलाई त्यसैको सम्बद्र्धन गर्न लगाइयो । त्यही धर्मको नाउँमा देशव्यापी रुपमा अनेकथरी गुठी अनि धार्मिक संघसंस्थाहरु जन्माइयो । जसको पछाडि एउटै मात्र कारण थियो कि मुलुकलाई सम्पूर्ण रुपले एकात्मक प्रणालीमा लैजानु । त्यही एकात्मक बनाउने अभियान स्वरुप एउटा खास वर्ग, समुदायका मानिसहरुले मनाउने चाड, पर्व, धर्म र संस्कृतिलाई राज्यकै चाडपर्वको रुपमा सबैलाई मान्न बाध्य बनाइयो । अरुको पहिचान खोसियो र एकल धर्म र सांस्कृतिक पहिचान भिडाइयो । नत्र, २०६३ को परिवर्तन अघिसम्म हामी ल्होसार, उभौली, गौरा इत्यादि पर्व र संस्कृतिसँग अनविज्ञ किन भयौं ? जबकि यी र यस्ता पर्वहरु पनि उत्तिकै पुरानो र पारम्परिक हुन् । किनकि त्यो बेला राज्य एकात्मक प्रणालीमै थियो । हामीलाई त्यही दसैं, तिहार, तीज, संक्रान्ति बाहेक अरु चाहिंदैनथ्यो र थाहा पनि थिएन ।

यसरी हिजो एकात्मक शासन प्रणालीको डोजरमार्फत मुलुकलाई नै हिन्दुकरण गरियो । जसका कारण अन्य धर्म र संस्कृति मान्ने मानिसहरुले आफ्नो पहिचान गुमाउनु पर्यो । अहिले ती सबैलाई मान्य हुने गरी निरपेक्षताको कुरा गर्दा एकथरी हिन्दु अतिवादीहरु कोकोहोलो मच्चाइरहेका छन् । समाजले कथित धर्म, संस्कृति र परम्पराको नाउँमा मानिसहरुलाई कहिल्यै पनि भौतिकवादी दृष्टिकोण अवलम्बन गर्न सिकाएन । अनि समाजले जहिल्यै पनि अलौकिक संसारलाई एउटा आदर्श मानक खडा गरिदियो र हामी त्यही मानकलाई पूज्न थाल्यौं । अनि हामीलाई त्यसभन्दा अलि फरक तरिकाले सोचे अराजक लाग्छ । त्यसैले त हामी पौरखमा भन्दा विभ्रममै विश्वस्त हुन्छौं । कथित आस्थाको विभ्रम । कथित आत्मसन्तुष्टिको नाउ“मा हामी अलौकिक वस्तु र विम्बहरुको मानक खडा गरेर बा“चिरहेका छौं । हामी समयसापेक्ष उत्पादनमूलक उद्योग कलकारखाना खोल्दैनौं । हामी ठूलाठूला धाम, मन्दिर अनि मूर्ति बनाउँछौं । यसका लागि अहोरात्र खटेर होम, महायज्ञ इत्यादि गर्छांैं । अनि राज्यकोषबाट करोडौं सहयोग माग गर्छाैं । खासमा समाजको यही चिन्तन र प्रवृत्ति नै प्रगतिको बाधक बनिरहेको छ । यदि अब साँच्चिकै समृद्ध समाजको कल्पना गर्ने हो भने आस्थाको विभ्रमलाई चिरेर अतितमुखी होइन, भविष्यमुखी हुनुपर्छ । 

No comments:

Post a Comment

कस्तो विकास, कस्तो अर्थतन्त्र

मनिकर कार्की निवर्तमान सामान्य अर्थमा अपेक्षित दिशातर्फको परिवर्तन, उत्पादन र उपभोगको वृद्धि, भौतिक पूर्वाधारको निर्माण नै विकास हो।...