कांग्रेसले लगाएको ‘दोषी चश्मा’

मनिकर कार्की ‘निवर्तमान’

कांग्रेसले मार्गदर्शकको रुपमा अंगिकार गर्दै आएको लोकतन्त्र र समाजवादका नारा केवल ब्यानरमा लेखिने आकर्षक शोपिस मात्रै बन्ने खतरा आएको छ ।

लोकतन्त्रको लडाईंमा झण्डै सात दसकभन्दा लामो समय बिताएको देशकै पुरानो र ठूलो पार्टी नेपाली कांग्रेसले आफ्नो १३ औं महाधिवेशन भर्खरै काठमाण्डूमा सम्पन्न गर्यो । कांग्रेस देशको पुरानो पार्टी त हो नै हो, नीति, दृष्टिकोण र नेतृत्वमा पनि यो पुरानै देखियो । कांग्रेस महाधिवेशनको झलक, पार्टीभित्र नेतृत्व हत्याउने सन्दर्भमा भए गरेका क्रियाकलाप, अनि चुनावी परिणामले देखाएको संकेतका आधारमा नेपाली कांग्रेस मूलतः परिवर्तनको प्रवाहलाई सहजै स्वीकार गर्न नसक्ने ‘बुढ्यौली’ले थल्लिएको पार्टी हो भन्दा त्यत्ति धेरै अनुपयुक्त पक्कै पनि हुनेछैन । किनकि खासमा कांग्रेस महाधिवेशनले युवा आगमनको संभावनाको बन्ध्याकरण गरिदिएको छ । यसले पार्टी विचार, सिद्धान्त अनि आस्थाका आधारमा भन्दा पनि धनदौलत र बाहुबलकै आधारमा चल्दोरहेछ भन्ने कुरालाई पुर्नपुष्टि गरिदिएको छ । नत्र ४० प्रतिशतभन्दा बढी युवा महाधिवेशन प्रतिनिधि भएको कांग्रेस महाधिवेशनको चुनावी परिणामले युवा नेतृत्व विकासको संभावनालाई यसरी स्थायी रुपमै बन्ध्याकरण गर्ने थिएन । यहाँ महाधिवेशन प्रतिनिधि बन्न पुगेका युवाहरुले पनि युवा नेतृत्वको पक्षमा हस्तक्षेपकारी भूमिका खेल्न सकेनन् वा चाहेनन् । शायद उनीहरु पनि नेतृत्वलाई प्रयोग गरेर आफ्नो व्यवसायिक र राजनीतिक भविष्य सुनिश्चित गर्नपट्टि नै लागे । 

आफूलाई जहिल्यै नम्बर एक लोकतान्त्रिक दाबी गर्ने कांग्रेसको निर्णय प्रक्रिया सबैभन्दा पारम्परिक र निरंकुश देखिन्छ । स्वर्गीय गिरीजा प्रसाद कोइराला हुँदासम्म यो पार्टीभित्र ‘म र मेरो’ ले निकै स्थान पायो । त्यसपछि सुशील कोइराला नेतृत्वमा आउँदा पनि कोइराला विरासतको निरन्तरता हटेन । महाधिवेशनपछि पनि म र मेरोको संस्कारलाई हामी र हाम्रोमा रुपान्तरण गर्न कांग्रेस सक्षम होला भन्ने आशा गर्न सकिंदैन । किनकि महाधिवेशनले कांग्रेसको नेतृत्व पुरानै विरासतवालालाई सुम्पिदिएको छ । जब नेतृत्वले नै हामी र हाम्रो संस्कार अवलम्बन गर्दैन, सिंगो पार्टीपंक्तिले कसरी हामी र हाम्रो संस्कृति अवलम्बन गर्ला ? हो, यसपटक कांग्रेसले आफ्नो महाधिवेशन सफलताको शुत्रलाई अंगाल्न सकेन र इतिहासकै पुनरावृत्तिलाई उपलब्धि ठान्न पुग्यो । 
महाधिवेशनले कांग्रेसको नेतृत्व पुरानै विरासतवालालाई सुम्पिदिएको छ । जब नेतृत्वले नै हामी र हाम्रो संस्कार अवलम्बन गर्दैन, सिंगो पार्टीपंक्तिले कसरी हामी र हाम्रो संस्कृति अवलम्बन गर्ला ? 
सबैभन्दा पुरानो दल भएकै कारण कांग्रेसले आफूलाई सधैं लोकतन्त्रको अस्सली पहरेदार दाबी गर्दछ । अनि कांग्रेस भन्छ, नेपाली कांग्रेस छ र मात्रै मुलुकमा लोकतन्त्र छ पनि भन्दछ । तर, आफूलाई लोकतान्त्रिक दाबी गरिरहने कांग्रेसकै आन्तरिक पार्टी जीवनमा कत्तिको लोकतन्त्र छ ? त्यो त कांग्रेसीजनहरुले नै जान्ने विषय हो । शायद कांग्रेसी संगठनको तल्लो तहमा त्यत्ति समस्या छैन । त्यहाँ पूर्ण लोकतान्त्रिक पद्दती अवलम्बन गरिन्छ । महाधिवेशन प्रतिनिधि चयनको क्रमसम्म नेपाली कांग्रेसले अवलम्बन गर्ने चुनावी प्रक्रिया वास्तवमै लोकतान्त्रिक छ । हरेक तह, वार्डदेखि क्षेत्रसम्म क्रमशः चुनावी प्रक्रियाबाट आउनुपर्ने आफैंमा लोकतान्त्रिक अभ्यासका राम्रो नमूना हो । तर, समस्या त्यसमाथि नै छ र पार्टीको आन्तरिक जीवनलाई क्रियाशील बनाउने संयन्त्र पनि त्यसभन्दा माथि नै निर्माण हुन्छ । त्यसकारण कांग्रेस तलबाट होइन माथिबाटै पुनःसंरचित हुनुपर्ने देखिन्छ ।

सरसर्ती हेर्दा २०६३ सालको राजनीतिक परिवर्तनमा नेपाली कांग्रेसले खेलेको नेतृत्वदायी भूमिका र योगदानको कदर गर्नैपर्छ । खासगरी तत्कालीन कांग्रेस सभापति गिरिजा प्रसाद कोइरालाले चौडा छाती गरेर ज्ञानेन्द्र शाहको निरंकुशताकाविरुद्ध तत्कालीन विद्रोही शक्ति नेकपा माओवादीसँग सहकार्यको हात बढाएकै हुन् । आखिर त्यसैको परिणाम हो अहिलेको राजनीतिक उपलब्धिहरु । तथापि त्यसयता नेपाली कांग्रेस परिवर्तनको संवाहक बन्न सकेन । बरु कुनै न कुनै रुपमा उसले परिवर्तित सन्दर्भप्रति लामो समयसम्म असन्तुष्टि पोखिनैरह्यो । २०६३ सालको परिवर्तनयताको खासगरी आधा दसकको अवधिमा नेपाली कांग्रेसले प्रतिक्रियात्मक राजनीति गर्यो र नै ६३ सालका युग परिवर्तनका सवालहरु बरालिन पुगे र अहिलेको राजनीतिक जटिलता उत्पन्न हुन गयो । यदि अहिलेका यी राजनीतिक उपलब्धिहरुलाई त्यो बेलै उचित सम्बोधन र व्यवस्थापन गरिएको हुन्थ्यो भने शायद राजनीतिको डाइनामिक्स अर्कैतिर जाने थियो र हामी अहिले यो राजनीतिको माखेसाङ्लोबाट मुक्त भइसकेका हुनेथियौं । यस मानेमा अहिलेसम्मको दृष्टान्त र नेपाली कांग्रेसले लोकतान्त्रिक आन्दोलनमा गएको ७ दसकमा खेलेको भूमिकालाई नियाल्ने हो भने खासखास समयमा नेपाली कांग्रेसले ऐतिहासिक जिम्मेवारी पूरा गर्न नसकेकै प्रमाणित हुन्छ । त्यो केही हदसम्म नयाँ संविधान जारी गर्ने क्रममा पनि प्रतिबिम्बित हुन पुग्यो । 
कांग्रेसले लोकतान्त्रिक आन्दोलनमा गएको ७ दसकमा खेलेको भूमिकालाई नियाल्ने हो भने खासखास समयमा नेपाली कांग्रेसले ऐतिहासिक जिम्मेवारी पूरा गर्न नसकेकै प्रमाणित हुन्छ । त्यो केही हदसम्म नयाँ संविधान जारी गर्ने क्रममा पनि प्रतिबिम्बित हुन पुग्यो । 
खासमा कांग्रेसले २०६४ सालको चुनावी परिणामलाई सहजै स्वीकार गरेर अघि बढ्न हिचकिचाहट प्रदर्शन गर्यो । यदि त्यो बेला कांग्रेसले अलि उदार भएर राजनीतिक संस्कार स्थापित गरिदिएको भए, परिवर्तनको प्रवाहले अर्कै मोड लिनेथियो । तर, दुर्भाग्य त्यसो हुन सकेन र राजनीतिले पुरानै लय समात्न गयो । त्यहाँनेर संविधानसभाको निर्वाचनबाट ठूलो दलको हैसियतमा उदाएको तत्कालीन माओवादीले पनि गल्तीमाथि गल्ती गर्दैगयो । उसले सबैलाई ‘चक्मा’ खुवाइदिएको शैलीमा आफ्नो अहम् प्रदर्शन गरेर ‘पेलेरै’ जाने नीति नलिएको भए शायद अर्को ढंगबाट समस्या सुल्झिन्थ्यो होला । माओवादीले ठूलो दल भएकै कारण दम्भ देखाउँदा घटनाक्रमले पुरानै मार्ग समात्न पुग्यो । खासमा गिरिजाबाबुलाई राष्ट्रपति नबनाउनु नै माओवादीको भूल थियो अनि माओवादीलाई तात्कालीन अवस्थामा संविधानसभाबाट पहिलो दल बन्न पुगेको माओवादीलाई विश्वास नगर्नु गिरिजाबाबुको ठूलो राजनीतिक भूल थियो ।

त्यसयता पनि नेपाली कांग्रेसले खासखास समयमा प्रतिक्रियात्मक राजनीतिलाई जोड दिइनैरह्यो । वर्तमान राजनीतिक जटिलता र पछिल्लो समयमा निर्माण भएको वैकल्पिक अर्थराजनीतिक धारप्रति नेपाली कांग्रेस अनविज्ञ मात्र होइन किन्तु, नेपाली कांग्रेसको नेतृत्व पूरै नकारात्मक छ । अझ नमिठो शब्दमा भन्नुपर्दा नेपाली कांग्रेस आजसम्म इतिहासको ब्याजले नै धानिएको पार्टी हो भन्ने कुरा भर्खरैको महाधिवेशनबाटै पनि पुष्टि भएको छ । इतिहासमा एकथरी मान्छेहरुले आरामको जिन्दगी बिताएर बसेका हुन्छन् भनिन्छ, हो त्यस्तै आरामका जिन्दगी बिताउनेहरुको पार्टी बन्न पुगेको छ, नेपाली कांग्रेस । त्यसकारण आरामको जिन्दगी बिताउनेहरुको जमातबाट नयाँको आशा र अपेक्षा गर्नु व्यर्थ छ । किनकि नयाँको लागि आफैं जागरुक भएर बाटो देखाउन सक्नुपर्छ । अनि जोखिममा हिंड्न सक्नुपर्छ । तर, अब नेपाली कांग्रेसको विद्यमान नेतृत्वले जोखिम मोलेर इतिहासको पांग्रालाई फरक दिशातर्फ मोड्नसक्ने क्षमता राख्दैन । त्यसकारण कांग्रेस आरामको जिन्दगी बिताउनेहरुको जमात बन्न पुगेको छ भन्दा त्यत्तिधेरै फरक पर्दैन ।
अब नेपाली कांग्रेसको विद्यमान नेतृत्वले जोखिम मोलेर इतिहासको पांग्रालाई फरक दिशातर्फ मोड्नसक्ने क्षमता राख्दैन । त्यसकारण कांग्रेस आरामको जिन्दगी बिताउनेहरुको जमात बन्न पुगेको छ भन्दा त्यत्तिधेरै फरक पर्दैन ।
नेपाली कांग्रेसले पछिल्लो राजनीतिमा तरंग फैलाएको विभिन्न उत्पीडित जाती, क्षेत्र, लिंग, वर्ग र भूगोलका नागरिकको पहिचानको लडाईंलाई अझै पनि आत्मसात गर्न सकेको छैन । कांग्रेस अझैपनि इलिटहरुको वर्गस्वार्थ रक्षा गर्दै परिवर्तनको प्रवाहमा देखिएका यावत संघर्षका श्रृंखलाहरुलाई फगत ‘सामाजिक सद्भाव’ कै गुम्फनमा सीमित गर्न चाहन्छ । खासगरी उसले आफू सत्तासीन हुँदा देखाएको राजनीतिक व्यवहारबाटै यो कुरा पुष्टि भएको हो । उसले आफू सत्ताबाट बाहिर आएपछि मधेश आन्दोलनप्रति र मधेशी समुदायको मागहरुप्रति देखाएको दोहोरो चरित्रले पनि त्यो ऊ ती मागहरुप्रति गम्भीर छैन भन्ने नै देखिन्छ । अनि उसले अहिले देखाएको समभाव केवल सत्ताबाहिर बस्नुपर्दाको असन्तुष्टि मात्र हो । किनकि मधेश आन्दोलनलाई उपेक्षा र बेवास्ताको शिकार बनाउने पनि नेपाली कांग्रेस नै हो । अनि यो नै नेपाली कांग्रेसको अहिलेको समग्र राजनीतिक रुपान्तरणलाई हेर्ने ‘दोषी चस्मा’ हो । 

त्यही नेपाली कांग्रेसले भर्खरै काठमाण्डूमा आफ्नो १३ औं राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको छ । खासगरी नीति, दृष्टिकोण र पार्टीले आगामी दिनमा लिने कार्यदिशा भन्दा पनि नेतृत्व चयनतिरै केन्द्रित भएको महाधिवेशनले साँच्चिकै नेपाली कांग्रेसलाई पुर्नजीवन दिन सकेन । बरु यसले संभावनाको डिलमा पुगेको कांग्रेस पुनः पुरानै लयमा बरालिन पुग्यो । ०७० साल भदौमा नयाँ निकै ठूलो हल्लाखल्ला र तामझामका साथ नवलपरासीको त्रिवेणीधाममा सात्वीक भोजनसँगै आफ्नो महासमिति बैठक गरेको कांग्रेसले ०७२ फागुनसम्म आइपुग्दा तामसी भोजनका साथ केन्द्रीय राजधानी काठमाण्डूमा गरेको महाधिवेशन केवल भोजनमा मात्र फरक देखियो । तर, नीति, दृष्टिकोण, कार्यक्रम र नेतृत्वमा भने उसले कुनै नयाँपन देखाउन सकेन । अनि त्यही पुरानै दोषी चस्माबाट मुलुक नियाल्ने प्रयत्न गरेको देखिन्छ । 

कांग्रेसले मार्गदर्शकको रुपमा अंगिकार गर्दै आएको लोकतन्त्र र समाजवादका नारा केवल ब्यानरमा लेखिने आकर्षक शोपिस मात्रै बन्ने खतरा आएको छ । किनकि सिंगो महाधिवेशन बैठकमा कांग्रेसको नीति र विचार भन्दा पनि व्यक्ति र नेताकेन्द्रीत बहस बढी भएको देखियो । यो महाधिवेशनले पक्कै पनि कांग्रेसको आन्तरिक पार्टी जीवनलाई केही गतिशील र क्रियाशील बनाइदिएको छ नै । तरपनि जसरी कांग्रेसलाई अब आर्थिक समृद्धि र प्रगतिको मार्गमा लाग्नको लागि दिशानिर्देश गर्नुपर्ने थियो, त्यस दिशामा भने नेपाली कांग्रेसका नाराहरु केवल कागजी घोडा नै साबित हुने स्पष्ट देखिएको छ । त्यसो त नेपाली कांग्रेस आफैंले परिवर्तनका मुद्दाहरुलाई अग्रसर भएर संस्थागत गर्न कहिल्यै लागेको छैन । यहाँसम्म जसरी कांग्रेसले यात्रा तय गरेको छ, त्यो एकहदसम्म भन्ने हो भने लतारिएरै आएको हो भन्दा अत्युक्ति नहोला । किनकि उसले आफ्नो वर्गीय रक्षाका लागि हिजो पनि अनेक प्रकारका बखेडा झिकेको हो र भोलिका दिनहरुमा पनि उसले अर्गेल्याईं नगर्ला भनेर विश्वास गर्ने आधार छैन । कम्तीमा परिवर्तनका पक्षमा रहेका कांग्रेसका युवा नेतृत्वले यसबारेमा गम्भीर हुने हो कि ?

No comments:

Post a Comment

‘वैकल्पिक राजनीति’को कार्यभार

मनिकर कार्की निवर्तमान करिब पच्चीस सय वर्षअघि गौतमबुद्धले भनेका थिए – ‘दुःख छ । दुःखको कारण छ । दुःखको निवारण छ । ज्ञान, शील र समाधीको ...