लिवाङ एक्सप्रेस

मनिकर कार्की “निवर्तमान”

भर्खरै संचालनमा आएको एक लघुवित्त वित्तीय संस्थाको कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेसँगै कार्यव्यस्तता पनि निकै बढेर गएको छ । फेरि यो व्यवस्थापकीय काम भनेकै त्यस्तै हो, ठोस रुपमा गरेको काम पनि नदेखिने अनि फुर्सद पनि कहिल्यै नहुने । वित्तीय संस्थाको शाखा विस्तारको सिलसिलामा राप्ती अञ्चलका केही जिल्लाहरुको अध्ययन भ्रमण गर्ने निधो भएसँगै म र मेरा सहकर्मी मित्र रेशम न्यौपानेको मोटरसाइकल यात्रा सुरु भयो । यात्राको पहिलो गन्तब्य बन्यो रोल्पाको सदरमुकाम लिवाङ । तर, बुटवलबाट पश्चिम लाग्दा झण्डै अपरान्हको दुई बजिसकेको हुनाले गन्तब्य अलि टाढा भएको महशुस भएकै थियो । तथापि बुटवलबाट पारिलो घाममा यात्रा सुरु भयो । जसै पश्चिम लागियो कुनै नौलोपन महशुस भएन, आखिर सधैंजसो हिंडिरहेको बाटोको यात्रामा कुनै नयाँ अनुभूति हुने कुरा पनि त थिएन ।


भालुवाङ पुग्दासम्म खासै यात्राको रमाइलो अनुभूति भएकै थिएन । जब जब भालुवाङबाट उत्तर लागियो, बल्ल यात्रामा नवीनता थपिएझैं अनुभूति हुन थाल्यो । यस अघि पनि एकपटक यात्रा गरेको हुँदा भूगोलका हिसाबमा कुनै नौलो अनुभूति नभए पनि अघिल्लो पटकका दृष्यहरु मानसपटलको पर्दामा एकएक गरी छाउँदा मन अत्यन्तै प्रफुल्ल हुँदोरहेछ । अनि त विगतको यात्राको नोस्टाल्जिया अनि वर्तमानको यथार्थसँग साक्षात्कार हुँदै यात्रा निरन्तर जारी रह्यो । केहीबेर दाङ र प्यूठानको सिमानामा पर्ने बाङ्गेसाल गाविसको दर्भान बजारमा सुस्ताउने काम भयो । बजारको रुपमा विस्तार हुँदै गरेको दर्भानको वित्तीय र आर्थिक क्रियाकलापको बारेमा त्यहींका केही स्थानीय व्यवसायीसँग कुराकानी पनि भयो । हामीलाई ठाउँ देख्नु थियो अनि त्यहाँको बारेमा थोरबहुत जानकारी संकलन गर्नु थियो । हामी हाम्रो काम सकेर उकालो लाग्यौं । भालुवाङबाट राप्ती नदीको किनारैकिनार हुईंकिएका हामी अब भने बड्डाँडाको उकालो लाग्यौं ।
प्यूठानको बड्डाँडा भन्ने ठाउँमा पुग्दा साँझको सूर्यास्त हुनै लागेको थियो । बड्डाँडाबाटै डुब्न लागेको घामको लालीमा हेर्दै चिया पिउने सोच बनाएर हामी केहीबेर बजारमा रोकियौं ।
घुमाउरो नागबेली परेको सडक भइकन पनि सवारी आवागमन असाध्यै न्यून हुने भएकोले ड्राइभिङ सजिलो थियो । सालघारीको जंगल हुँदै अघि बढ्ने बाटो वरिपरी जंगलमा बाख्रा चराउने केटाकेटी देखि स्याउला र घाँसको भारीसँगै घर फर्किएका केटाकेटी तथा महिलाहरुको समूह पनि भेटिन्थ्यो । वसन्तको आगमनसँगै नाङ्गा बनेका सालका बोटहरुमा नयाँ पालुवा पलाउने क्रम सुरु हुन लागेको थियो, जसले जंगललाई पूर्णतया उजाड हुनबाट बचाएझैं लाग्थ्यो । यद्यपि पुराना पातका अवषेशहरु भने यत्रतत्र छरपस्ट थिए । प्यूठानको बड्डाँडा भन्ने ठाउँमा पुग्दा साँझको सूर्यास्त हुनै लागेको थियो । बड्डाँडाबाटै डुब्न लागेको घामको लालीमा हेर्दै चिया पिउने सोच बनाएर हामी केहीबेर बजारमा रोकियौं । तर, एक दुई पसलमा सोध्दा ‘दूध छैन’ भन्ने उत्तर आयो । बड्डाँडामा चिया पिउनको लागि दूध छैन भन्ने सुन्दा अघिल्लो पटक पनि त्यही ठाउँमा चियाको तलतल लागेर सोध्दा दूध नपाइने कुरा गरेकी थिइन, त्यहींकी एक आमैले । ती आमैले भनेकी थिइन् ‘आजकल गाउँमा भैंसी नै पाल्न छाडिसके के दूध पाउनु र?’ यसपटक पनि दूध छैन भन्दा त्यही पुरानो वाक्य पुनः एकपटक ताजा भएर आयो । तथापि अर्को एउटा पसलमा सोध्दा दूध हालेकै चिया पाइने थाहा पाइयो अनि त चियाको तलतल पनि मेटाइयो ।

त्यही बस्दै गर्दा बाटोमा एउटा कुखुरालाई बसले किचिदियो, र कुखुरोको इहलिला समाप्त भयो । अनि केहीबेर गलफती चल्यो । कुखुरोको भाउ ह्वात्तै बढेर पन्ध्र सय भयो, अनि गाडीवाला र कुखुरोवालाबीच केहीबेर छलफल चल्यो । वरिपरी रमिता हेर्ने मानिस र केटाकेटीहरुको भीड लाग्यो । केहीबेरमा एक हजारमा कुरो मिल्यो अनि पैसो बुझेर कुखुरोवाला किचिएको कुखुरो बोकेर फिर्ता भए, गाडी आफ्नो बाटो हुईंकियो । खासमा नेपालको सडकको अवस्था जहाँ पनि यस्तै छ । त्यही सडकमा गाडी गुड्छन्, त्यहीं पैदलयात्री हिंड्छन् अनि त्यही सडकमा पशुपंक्षीहरु छाडिने हुँदा कयौं ठाउँमा ठूलाठूला दूर्घटनाहरु पनि भएका छन् । खासमा यसरी पशुपक्षीहरुलाई सडकमा छाडा छाड्न सख्त मनाही गर्नुपर्ने हो । तर, यो कसरी लागू गर्न सकिएला र खै ? यस्तै सोच्दै अगाडी बढ्दै गर्दा गाउँघरमा भैंसी पाल्न छाडेको अनि दूध नपाइने कुरा मनमा गम्भीर भएर बिझिरह्यो र मनमा केही कुरा खेलिनैरह्यो ।

हो, आजकल हाम्रा गाउँघरहरु सुनसान बन्दैछन् । भएका र काम गर्न सक्ने हातहरु सहरबजार तथा विदेशी भूमिमा कमाइ गर्न गएका छन् अनि गाउँघरमा बुढाबुढी, केटाकेटी र महिलाहरु मात्र बाँकी छन् । यसले गाउँ र सहरको अर्थतन्त्रमा पनि निकै असन्तुलन पैदा भइरहेको छ । ती आमैले ‘गाउँमा भैंसी पाल्नै छाडे’ भनेर गुनासो गरेको कुरा यस मानेमा प्रतिकात्मक हो । किनकि युवापुस्ता अवसरको खोजीमा सहरबजारतिरै जान उत्सुक छन् अनि गाउँघर रित्तिंदै छन् । यदि गाउँमै उचित अवसर र गाउँमा उत्पादित सामानहरुको उचित बजार प्रवद्र्धन गर्न सक्ने हो भने यसरी गाउँ रित्तिने थिएन र त्यसले उत्पादन र आर्थिक समृद्धिका लागि समेत मार्ग प्रशस्त हुने थियो । आखिर त्यही जनशक्ति वैकल्पिक अर्थतन्त्र निर्माणको साधन बन्ने थियो । हामीले नेपाली अर्थतन्त्रको मेरुदण्ड कृषि भनिरहंदा गाउँघर कृषिबाट विमुख हुँदै गएको तथ्यले चिमोटिरह्यो । अनि यसलाई सहि ट्रयाकमा कसरी फर्काउन सकिएला भन्ने विषयले पनि एकपटक घोत्लिन बाध्य तुल्यायो । तथापि यसको चिन्ता गर्ने जिम्मा नीति निर्माणमा बसेकाहरुलाई नै छाडिदिउँ ।
यदि गाउँमै उचित अवसर र गाउँमा उत्पादित सामानहरुको उचित बजार प्रवद्र्धन गर्न सक्ने हो भने यसरी गाउँ रित्तिने थिएन र त्यसले उत्पादन र आर्थिक समृद्धिका लागि समेत मार्ग प्रशस्त हुने थियो ।
बड्डाँडाबाट ओरालो लाग्दा झमक्क साँझ परिसकेको थियो । २०÷३० डिग्रिको ओरालो बाटोमा पर्याप्त प्याराफिटहरु छैनन्, जसले गर्दा सवारी साधन ड्राइभ गर्न केही असजिलो महसुश हुन्छ नै । यद्यपि एकपटक यात्रा गरिसकेको बाटो भएको हुँदा त्यत्ति धेरै अफ्ठेरो महशुस भएन । अघिल्लो पटकको भन्दा यो पटक बाटो केही मर्मतसंभार भएझैं लाग्यो । किनकि अघिल्लो पटक यात्रा गर्दा पहाडमाथिबाट खस्ने गिटीजस्तो ससाना पहिरोले ठाउँठाउँमा बाटो बिग्रिएको थियो । चकचके पुग्दा घडीको सुईले साँढे सात बजायो । यसर्थ, रोल्पा लिवाङसम्मको हाम्रो गन्तब्य परिवर्तन भयो । अब साँझ परिसकेको हुँदा हामी प्यूठानको खलंगा गएर बास बस्ने निधो गर्दै माडीखोला तरेर खलंगातिर हुईंकियौं । अबको बाटो भने हामी दुवैजनाको लागि नयाँ थियो । साँझ छिप्पिँदै जाँदा वरिपरीको भूगोल पनि राम्रोसँग देखिएको थिएन, हाम्रो ध्यान फगत लमतन्न परेर सुतेको चीसो नागबेली सडक र दायाँबायाँ भएर हिंड्ने सवारीसाधनले फालेको उज्यालो प्रकाशमै केन्द्रीत थियो ।

साँढे आठ बजेतिर खलंगा पुगेर बास बसियो । बिहान सबेरै उठेर खलंगाबाट झिम्रुक खोलाको किनारमा रहेको बिजुवार बजारको मनोरम दृष्यको अवलोकन गर्दैगर्दा ती सुन फल्ने फाँट अब कतिदिन बाँकी रहलान् र भन्ने प्रश्नले मन घोचिरह्यो । किनकि अहिले तराई देखि पहाडसम्म तीव्र बसाईसराईका कारण खेतीयोग्य जमीनहरुको क्षयिकरण निकै बढेको छ । सुन फल्ने सुन्दर फाँटहरुमा ढुंगा र कंक्रिटका जंगल बनिरहेका छन् भने हामीले भूमिको उपयोगितासम्बन्धी नीति अवलम्बन गर्न नसक्दा खेतीयोग्य जमिनहरु नासिंदै गएका छन् । अबको दस वर्षमा पनि यही गति कायम रहने हो भने झण्डै २५ प्रतिशत भन्दा बढी खेतीयोग्य जमिन नास हुनेदेखिन्छ । प्यूठान खलंगाबाट ओरालो झर्दा बिहानको साँढे सात बजिसकेको थियो । हामी झिम्रुक खोलाको तीरैतिर तर खोलाको विपरित दिशातर्फको यात्रा गर्दै थियौं ।

पहाडी कच्ची सडक भैकन पनि मोटरसाइकल ड्राइभ गर्नका लागि बाटो अपेक्षाकृत सजिलै थियो र नै हामी पनि धुलो उडाउँदै हुईंकिदै थियौं । हाम्रो पहिलो गन्तब्य थियो ओखरकोट गाविसको मच्छी । मच्छी पुग्नैलाग्दा पत्रकार मित्र यानेन्द्र जीसीको गाउँ भएकोले उनीसँग सम्पर्क गर्न खोज्दा मोबाइलमा सम्पर्क हुन सकेन । तर, पछि मच्छी पुगेपछि उनी आफैंले सम्पर्क गरी मच्छीको बारेमा केही बताए । त्यसैगरी त्यहीं घर भएकी अर्की मित्र भाषा पोखरेलले पनि मच्छीको बारेमा थप जानकारी दिइन् । झिम्रुक खोलाकै किनारामा रहेको मच्छी फाँट खेतीका लागि पनि निकै उर्वर र रमणीय लाग्यो । मच्छीमा पनि बजारीकरणको प्रभाव रामै्र देखियो । गाउँको बस्ती भैकनपनि अग्लाअग्ला घरहरु बन्ने क्रम जारी रहेछ र स्थानीय रुपमा पनि केही होटलहरु खुल्दै गरेकोले बाग्दुलाबाट मच्छी जाने सडकको स्तरोन्नति हुनेबित्तीकै मच्छीको कायाकल्प हुने देखियो । तथापि ती सुन्दर फाँटमा लहलह भएर फल्ने धान, गहुँ, मकै पनि सँगसँगै मासिने हुन् कि भन्ने चिन्ता त्यत्तिकै थियो । किनकि खेतका गरागरामा ढुंगा, गिटी र बालुवा बिच्छ्याएर घडेरी बनाउने क्रम त्यहाँ पनि जारी थियो ।
तथापि ती सुन्दर फाँटमा लहलह भएर फल्ने धान, गहुँ, मकै पनि सँगसँगै मासिने हुन् कि भन्ने चिन्ता त्यत्तिकै थियो । किनकि खेतका गरागरामा ढुंगा, गिटी र बालुवा बिच्छ्याएर घडेरी बनाउने क्रम त्यहाँ पनि जारी थियो । 
मच्छीको सामान्य अवलोकन पश्चात् हामी बिजुवार हुँदै बरौंलातर्फ हुईंकियौं । चेरनेटाबाट झण्डै एक घण्टाको यात्रा पश्चात् हामी बरौंला पुग्यौं । बरौंला पनि झिम्रुक खोलाको तीरमा अवस्थित फाँट रहेछ । मच्छीदेखि बरौंलासम्म पुग्दा प्यूठानका सुन्दर फाँट र फाँटसँगै बसेको झुरुप्प बस्तीहरुले मन निकै आकर्षित गरिरह्यो । खासगरी प्यूठानलाई चिरेर बग्ने माडी र झिम्रुक खोलाले समग्र प्यूठानको आकर्षणमात्र थपेको छैन किन्तु त्यसले प्यूठानका अधिकांश फाँटलाई हराभरा बनाएको पनि रहेछ । माडी खोलाको तिरैतिर खु्रँग्रीदेखि चकचकेसम्म र झिम्रुक खोलाको तिरैतिर मच्छीदेखि बरौंलासम्मको यात्रामा तिनै रमणीय फाँट र आकर्षक देखिने बस्तीहरुले प्यूठानको बारेमा सोचिएको नक्सालाई नै बदलिदियो । प्यूठान जिल्लालाई जसरी एउटा विकट पहाडी जिल्लाको रुपमा सुनिएको थियो र त्यसै अनुसार धारणा बनाइएको थियो, त्यहाँका सुन्दर फाँट र लहलह धान र गहुँबाली हेर्दा प्यूठान आफैंमा निर्भर र समृद्ध जिल्ला रहेछ भन्ने तथ्य उद्गार भएझैं लाग्यो । त्यही कुरालाई मनमा खेलाउँदै हामी रोल्पातिर लाग्यौं ।

खुंग्रीमा माडी पुल तरेपछि रोल्पाको सहिद स्मृति प्रवेशद्वारले हामीलाई स्वागत ग¥यो । अब हामी पछिल्लो नेपाली राजनीतिलाई नै सम्पूर्ण रुपले तरंगित पारिदिने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चर्चाको शिखरमा पुगेको अनि अहिलेको राजनीतिक रुपान्तरण र परिवर्तनको जग बन्न सफल तत्कालीन नेकपा माओवादीले संचालन गरेको दस वर्षे जनयुद्धको उद्गम भूमि रोल्पा टेक्दै थियौं । आधुनिक नेपालको इतिहासमा जसरी गोर्खाले निवाह गरेको भूमिकाको चर्चा हुने गरेको छ । अब गोर्खाले मात्र पुग्दैन त्यसमा रोल्पा पनि थपिनुपर्ने देखिन्छ । गोरखाका तत्कालीन राजा पृथ्वीनारायण शाहले तत्कालीन अवस्थामा ससानो रुपमा रहेका राज्यहरुलाई एकीकरण गरेर सिंगो नेपाल निर्माणको जग बसाए भन्ने गरिन्छ । यद्यपि मेरो जिकिर के हो भने उनको त्यो अभियान नेपालको एकीकरण नभई राज्यको विस्तार हो । भलै त्यो विस्तारवादी अभियानले आधुनिक नेपाल निर्माणको मार्ग प्रशस्त गरिदियो । साथै त्यही गोरखाको राज्यविस्तार अभियानले एक प्रकारको निरंकुशता र एकात्मक राज्यप्रणालीको स्थापना पनि गरिदियो ।

यसर्थ गोरखाले भौगोलिक रुपमा नेपाल निर्माण त गर्यो तर त्यसले नेपालभित्र रहेका विभिन्न जाति, जनजाति, भाषा, संस्कृति भएका जनतालाई एउटै मालामा उन्न सकेन । बरु पृथ्वीनारायण शाहको त्यो अभियानबाट नै युद्ध पराजित देशका जनताहरुलाई विभिन्न प्रकारका विभेद र उत्पीडन गर्ने श्रृंखला सुरु भयो । यस मानेमा आधुनिक नेपालको समतामूलक र समावेशी नेपाल निर्माण गर्नका लागि रोल्पाले निकै ठूलो योगदान दिएको प्रष्ट हुन्छ । रोल्पा टेक्दा रोल्पाले माओवादी जनयुद्धको क्रममा निभाएको भूमिका र यहाँका जाति, जनजातिले युद्धका क्रममा देखाएको अदम्य साहस र त्यागलाई पुनः एकपटक सलाम गर्न मन लाग्यो । तथापि पछिल्लो राजनीति जनमुखी बन्न नसकेकोमा रोल्पालीहरु दुःखी रहेको जानकारी पनि भयो ।
‘बाबु, रोल्पालीहरु पक्कै भेडा जस्ता छन्, जो सजिलै विश्वस्त हुन्छन् र विश्वास पनि गर्छन् । तर, रोल्पालीले मान्छे मार्दैन, बरु तपाईं रोल्पाको जुनसुकै गाउँमा जानुस्, तपाईं भोकले मर्नुपर्दैन । रोल्पालीहरुले रुखोसुखो खुवाएरै पठाउँछन् । रोल्पालीले कसैलाई भोकै मार्दैन’
अनि माओवादी इतरकाहरुले रोल्पालीलाई हेर्ने नजर र रोल्पालीप्रति बनेका नकारात्मक धारणाप्रति कटाक्ष गर्दै सुलीचौरका एक स्थानीय जित बहादुर विष्टले भने, ‘बाबु, रोल्पालीहरु पक्कै भेडा जस्ता छन्, जो सजिलै विश्वस्त हुन्छन् र विश्वास पनि गर्छन् । तर, रोल्पालीले मान्छे मार्दैन, बरु तपाईं रोल्पाको जुनसुकै गाउँमा जानुस्, तपाईं भोकले मर्नुपर्दैन । रोल्पालीहरुले रुखोसुखो खुवाएरै पठाउँछन् । रोल्पालीले कसैलाई भोकै मार्दैन’ । उनको यो भनाइले समग्र रोल्पालीहरु प्रति कस्तो प्रकारको धारणा बनाइएको रहेछ भन्ने कुराको संकेत मात्रै गरेन किन्तु यस्तो धारणा बनाउन कसले उत्प्रेरकको काम गर्यो ? आखिर किन यस्तो धारणा निर्माण गरियो ? किन केन्द्रबाट निकै टाढा रहेको यो विकट जिल्लाका मान्छेले त्यसो भने ? के यो सत्ताले निर्माण गरिदिएको धारणा त होइन ? त्यसपछिको यात्रामा यिनै प्रश्नहरु मस्तिष्कमा खेलिरहे ।

लुङ्री खोलाको किनारमा रहेको मिझिङ गाविसमा पर्ने सुलिचौर बजार रोल्पाका झण्डै एक दर्जन गाउँहरुको लागि व्यापारिक केन्द्र नै रहेछ । एक दर्जनबढी गाविसका मानिसहरु किनमेलका लागि सुलिचौर आउने गर्दा रहेछन् । अनि आधुनिकतासँग मितेरी गाँस्दै गरेको सुलिचौरमा पनि ठूलाठूला घरहरु बन्नेक्रम तीव्र रहेछ । पहरा फोरेर जग खार्दै ठड्याइएका घर अनि साँघुरो लाग्ने बाटो नै सुलिचौरको विशेषता झैं लाग्यो । खोलाको तिरमा पहरा फोरेर बनेको बस्ती विस्तारको संभावना निकै कम रहेछ । झण्डै एक घण्टाको सुलिचौरको अवलोकन भ्रमणपश्चात् हामी डाँडातिर डुब्न लागेको घामलाई पच्छ्याउँदै मिझिङ को उकालो चढ्यौं । उकालो बाटोमा फाट्टफुट्ट केही घर र ससाना बस्तीको बीचबाट लमतन्न सुतेको कालो सडक एउटा ठूलो अजिंगरझैं प्रतित हुन्थ्यो । मिझिङ, चोरपानीहुँदै चकचके–लिवाङ रोडको सबैभन्दा अग्लो २०३२ मिटर उचाईमा रहेको सातदोबाटोमा आइपुग्दा घाम डुबेर अँध्यारो फैलिंन सुरु भइसकेको थियो । यो डाँडाबाट रोल्पाका धेरै पहाडहरु देखिन्छन्, जसमध्ये उत्तरतिरको ठूलो पहाड जलजला रहेछ ।

त्यहाँबाट लिवाङ पुग्दा त्यस्तै आठ बजिसकेको थियो । लिवाङ हिजोका दिनमा जसरी राज्यबाट उपेक्षित थियो, अहिले त्यसरी उपेक्षित त छैन तर पनि त्यहाँको मुख्य समस्याको रुपमा उचित शिक्षा र विकासका पूर्वाधारहरुको दिगो विकास नै हो । तराई र राजधानीलाई जोड्ने एउटैमात्र सडक पनि वर्षात्को समयमा बिग्रिने अवस्था कतिपय ठाउँहरुमा विद्यमान हुँदा रोल्पालीहरु चिन्तित देखिन्थे । स्थानीय सडकहरु पनि वर्षायाममा नाममात्रैका हुने र हिंउदको केही समय मात्र चल्ने हुँदा त्यहाँका खोलानालाहरुमा निर्माणाधीन पुल तथा नालाहरु समयमै निर्माण हुन नसक्दा उनीहरुलाई निकै समस्या भएको रहेछ । त्यसैगरी लिवाङकै कुरा गर्दा पनि लिवाङ आफैंमा सुन्दर र संभावनायुक्त बजार भएपनि आधुनिक किसिमले व्यवस्थित बन्न सकेको देखिएन । माओवादीले संचालन गरेको सशस्त्र जनयुद्धको खानीबाट कृष्ण बहादुर महरा, वर्षमान पुन, नेत्र विक्रम चन्द, नन्द किशोर पुन, जयपुरी घर्ती, ओनसरी घर्ती, झक्कु सुवेदीलगायतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चर्चित नेतृत्व जन्माउन सफल रोल्पा भने पछिल्लो समयमा संभावनाहरुको उचित उपयोग र व्यवस्थापनको पर्खाइमा बसेको भान भयो ।

अहिलेकै सन्दर्भलाई हेर्दा पनि उपराष्ट्रपति तथा सभामुख जस्तो राज्यको उच्च ओहदामा रोल्पालीहरु पुग्नुले यहाँका मानिसहरुले वर्गकै अनुभूति गरेका छन् । तर, उनीहरुको एउटै गुनासो रोल्पाले नेता जन्मायो तर, उनीहरुले रोल्पालाई बिर्से भन्ने नै रहेको पाइयो । अनि जनयुद्धकालमा बाँडेका सपनाहरुको फेहरिस्त सम्झँदा एकथरी जान्नेबुझ्नेहरु राजनीति र नेतालाई गाली गरिरहेका देखिए भने गाउँका सोझासाझा जनता भने अझै पनि त्यस्तै अर्को सपनाको खेतीतिरै आकर्षित भएको सुनियो । आखिर अभाव र पीडाले जन्माउने त विद्रोह नै हो । अनि राज्यविरुद्धको विद्रोहमा अभाव र पीडानै सबैभन्दा ठूलो हतियार हो । खै रोल्पाली नेतृत्वले यो कुरा बुझ्न सक्छ ? गाउँको विकासका लागि गाउँ नै तात्नुपर्छ । रोल्पाको विकासका लागि रोल्पाली नेतृत्व नै अघि सर्नुपर्छ । तर, रोल्पा आफैंमा संभावनायुक्त रहँदारहँदै र पछिल्लो समयमा धेरै नेतृत्वहरु जन्माउन सफल भए पनि आफैं नेतृत्वबिहीन झैं देखियो ।
आखिर अभाव र पीडाले जन्माउने त विद्रोह नै हो । अनि राज्यविरुद्धको विद्रोहमा अभाव र पीडानै सबैभन्दा ठूलो हतियार हो । खै रोल्पाली नेतृत्वले यो कुरा बुझ्न सक्छ ? गाउँको विकासका लागि गाउँ नै तात्नुपर्छ । रोल्पाको विकासका लागि रोल्पाली नेतृत्व नै अघि सर्नुपर्छ ।
लिवाङलाई बाईबाई गरी कपुरकोटतिर हुईंकिँदा मध्यान्हको १२ बजेको थियो । यसपटक पनि रोल्पा र खासगरी लिवाङको बारेमा जानकारी दिनुहुने पत्रकार मित्रहरु दयाराम डाँगी र नविन लोचन मगरलाई साधुवाद !

No comments:

Post a Comment

गुणस्तरीय शिक्षाका आधारहरु

मनिकर कार्की “निवर्तमान” विगतमा जस्तै यसवर्ष पनि माध्यामिक शिक्षा परीक्षाको परीक्षाफल प्रकाशित भएको छ । प्रवेशिकाबाट माध्यामिक शिक्षा परी...