इतिहासको फुलबुट्टे कथाले मात्रै देश बन्छ र महोदय ?

मनिकर कार्की ‘निवर्तमान’

लामो समयको अन्तरालमा लेखक–विश्लेषक नरेन्द्रजंग पिटरसँग फेसबुकमा कुरा हुँदै थियो । कुराकानी गर्दैगर्दा इतिहासको प्रसंगमा गएर टुंगियो । उनले सामान्यतया मान्छेले आफ्नो इतिहास भुल्ने गरेको तथ्यतर्फ संकेत गर्दै यसो भने, ‘कोही इतिहास समातेर वर्तमानमा सार्थक बन्न चाहन्छन्, कोही इतिहासबाट छुटकारा पाएर वर्तमान नै सर्वस्व हो भन्छन् ।’
शायद यो संसारका श्रृष्टिमध्ये मानव समुदाय मात्रै यस्तो प्राणी हो, जसले इतिहास, वर्तमान र भविष्य बुझ्दछ । शायद अरु प्राणीमा त्यो स्तरको चेतना हुँदैन, र नै उनीहरुलाई इतिहासको बोझ पनि छैन र भविष्यको चिन्ता पनि । तर, मानव समुदायमा इतिहासको गर्व, वर्तमानको संघर्ष र भविष्यको सुन्दर सपना छ । त्यही भएर मानव समुदायलाई संसारकै सबैभन्दा सुन्दर श्रृष्टि मानिन्छ ।

आज इतिहास, वर्तमान र भविष्यको सन्दर्भलाई नै जोड्ने यत्न गर्नेछु । त्यसो त रुसी लेखक म्याक्सिम गोर्कीले भनेका छन्, ‘इतिहासको बग्गी चढेर कहिल्यै पनि गन्तव्यमा पुग्न सकिँदैन ।’ अब प्रश्न उब्जिन्छ, इतिहास सबै कुरा हो वा इतिहास केही पनि होइन ? अनि वर्तमानमा इतिहासको काम छ कि छैन ? अनि भविष्यको निर्धारण इतिहासले गर्छ कि वर्तमानले ? मान्छेलाई इतिहासले सिकाउँछ कि मान्छेले आफै सिकेर इतिहास बनाउँछ ? निश्चित रुपमा इतिहास विगतको सत्य हो । अनि इतिहास खासमा आफू हिँडेको बाटो हो, जीवनको यात्रामा जुन बाटो फेरि हिँड्नु पर्दैन । किनकि जीवन अगाडि बढ्छ, पछाडि हुत्तिँदैन । अनि जीवनको मार्ग अगाडि नै हो पछाडि होइन । 
विभिन्न कालखण्डमा जन्मिएका राजनीतिक नेतृत्व, एजेण्डा अनि शक्ति अर्को कालखण्डमा पुग्दा तिनको सान्दर्भिकतामा केही कमी पक्कै आउँछ ।
यसो भन्दै गर्दा हिजो हिँडेको बाटो भत्काइहाल्नुपर्छ भन्ने किमार्थ होइन । बरु हिजो हिँडिसकेको बाटोबारे धेरै सोच्दा आगामी बाटो तय गर्ने समय गुज्रिन्छ भन्न खोजेको मात्र हो । विगतमा इतिहासकै बाटो भएर वर्तमानसम्मको यात्रा गरिएको हुन्छ । यस मानेमा इतिहास केही पनि होइन भन्न मिल्दैन । किनकि इतिहास वर्तमानको मार्गदर्शक हो । वर्तमानको शिलान्यास विगतको इतिहासबाटै भएको हुन्छ र हो । यसर्थ, सही इतिहासलाई अस्वीकार गर्नु वा तोडमरोड गर्नु कदापि उचित हुँदैन । तर नलेखिएको इतिहास पनि हुन्छ भन्ने कुरा चाहिँ महसुस हुनैपर्छ । हो, एकथरी मानिसहरु वर्तमानलाई नै सबैथोक हो भनेर इतिहास भुल्ने चेष्टा गर्दछन् । उनीहरुलाई इतिहाससँग कुनै लिनुदिनु छैन, केवल उनीहरु आफ्नो वर्तमान गुल्जार भएको हेर्न चाहन्छन्, बस् । तर, वर्तमानको सकस र गुल्जार पनि विगतको इतिहासबाट निसृत हुन्छ भन्ने कुरालाई कदापि बिर्सनु हुँदैन । यस मानेमा वर्तमानको रथ हाँक्न विगत इतिहासको ज्ञात हुनु जरुरी हुन्छ र विगतको जगमै वर्तमानको उपलब्धि हासिल गर्ने हो ।
इतिहासको कुरा गर्दैगर्दा फेरि अर्काथरी मानिस सधैं इतिहासकै गाथा गाउन व्यस्त छन् । उनीहरुलाई वर्तमानको सकस र भविष्यको चुनौतीसँग खासै लिनुदिनु छैन र कहीं पुग्नु पनि छैन । उनीहरु इतिहासका कथा हालेर आफूलाई अब्बल र फरक देखाउने चेष्टा गर्दछन् । तिनले खासमा इतिहासको व्यापारलाई नै सबैथोक ठान्छन् र निरन्तर त्यही विगतको कथा हालिरहन्छन् । के यसरी इतिहासको गाथाले मात्र जटिल वर्तमानको गाँठो फुक्न सक्छ ? अर्थात् इतिहासको सुन्दर र फुलबुट्टे व्याख्याले मात्र समुन्नत भविष्यको निर्माण हुनसक्छ ? अहँ, पटक्कै हुँदैन र सक्दैन पनि । सुन्दर भविष्य निर्माणका लागि वर्तमानमा सुन्दर परिकल्पना चाहिन्छ अनि त्यो परिकल्पनालाई साकार पार्न दृढ अठोट, इच्छाशक्ति र निरन्तरको लगाव चाहिन्छ । अनि चाहिन्छ, जटिल वर्तमानलाई छिचोल्न सक्ने ल्याकत र साहस । जुन अधिकांश मानिसमा भेटिंदैन र नै उनीहरु विगतको फुलबुट्टे कथामै रमाउँछन् । 

दलहरुको निर्माण र विकासको ऐतिहासिक तथा वस्तुगत आवश्यकता र संकटको आकस्मिकतालाई हेरियो भने अब नेपालमा राजनीतिक मुद्दा सकिए भन्न सकिन्छ । यो विन्दुमा राजनीतिको परिभाषा र त्यसको ध्येय परिस्कृत हुनुपर्छ ।
नेपाली राजनीतिको विडम्बना भनौं वा नियति, इतिहासमा जसरी दलहरुको निर्माण भयो, त्यो राजनीतिक उद्देश्यका लागि नै थियो । कुनै पनि राजनीतिक एजेण्डा स्थापित गर्न दलहरुको निर्माण भएको छ । अझ साँच्चिकै भन्नुपर्दा राज्यसत्तासँगको संघर्षका दौरान दलहरुको निर्माण भएको पाइन्छ । १९९३ सालमा गठन भएको प्रजा परिषददेखिको इतिहासलाई केलाउँदा यहाँ दलहरुको निर्माण राजनीतिक संघर्षकै क्रममा भएका छन् । प्रजा परिषदले राणाशासनको अन्त्यलाई आफ्नो राजनीतिक उद्देश्य बनाएको थियो । राणाशासनको अन्त्यका लागि सशस्त्र संघर्षको आवश्यकता महसुस गरेरै जनमुक्ति सेनाको निर्माण भयो र नेपाली कांग्रेसको नेतृत्वमा सशस्त्र क्रान्ति पनि भयो । क्रान्तिको एउटै उद्देश्य १०४ वर्षीय जहानियाँ राणाशाहीको अन्त्य र प्रजातन्त्रको स्थापना थियो ।
नेपाली कांग्रेसको लगत्तै नेपाल कम्युनिस्ट पार्टीको स्थापना भयो, जुन अन्ततः विभिन्न पुच्छरधारी पार्टीहरुको क्रियाशील छन् । उनीहरुले २०४६ सालसम्म आइपुग्दा स्थानीय रुपमा सामाजिक, राजनीतिक र सांस्कृतिक जागरण पैदा गर्ने काम गरे । यी सबै राजनीतिक उद्देश्य नै थिए । २०५१ सालमा नेकपा माओवादी जन्मियो, जसले आमूल परिवर्तनको उद्घोष गर्यो । उसले राज्यसत्ताको परिवर्तनसँगै मुलुकको संरचनागत परिवर्तनको मागलाई घनीभूत बनायो र त्यसका लागि सशस्त्र जनयुद्धसम्म गर्यो । १० वर्षे जनयुद्धपछि शान्तिपूर्ण राजनीतिमा अवतरण भएसँगै २०७२ सालसम्म आइपुग्दा मुलुकमा नयाँ संविधान जारी भयो । यसैबीच २०६३ सालयता क्षेत्रीय मुद्दालाई उठाउँदै केही क्षेत्रीय दल पनि राजनीतिमा देखा परे र उनीहरुले हक, अधिकार र पहिचानको सवाललाई राष्ट्रिय मुद्दा बनाए । 
अबको लागि माओवादी दलहरुको सबैभन्दा ठूलो पुँजी भनेकै जनयुद्धमात्रै हो । तर, वर्तमानको जटिलता र भविष्यको समृद्धि त्यही इतिहासको पाठशालाबाट मात्रै पूरा हुनेवाला छैनन् ।
अहिले राजनीतिक रुपान्तरण र परिवर्तनका लागि भए गरेका सम्पूर्ण सशस्त्र वा निरस्त्र संघर्षको एकमुष्ठ उपलब्धिको रुपमा नयाँ संविधान देखा परेको छ । यद्यपि त्यो संविधानमा धेरै कुरा समेटिन बाँकी नै छ, तर पनि त्यो संविधानले अहिलेसम्मको राजनीतिक संघर्षलाई केही हदसम्म टुंगोमा पुर्‍याएको छ । दलहरुको निर्माण र विकासको ऐतिहासिक तथा वस्तुगत आवश्यकता र संकटको आकस्मिकतालाई हेरियो भने अब नेपालमा राजनीतिक मुद्दा सकिए भन्न सकिन्छ । अनि यो विन्दुमा राजनीतिको परिभाषा र त्यसको ध्येय परिस्कृत हुनुपर्छ । त्यसो गर्न सकिएन र फेरि पनि पुरानै शैलीमा राजनीतिक संघर्षका कार्यक्रम तय गर्दै गर्यौं भने हामी पक्कै पनि सन्दर्भहीन हुनसक्ने खतरा उत्पन्न हुनसक्छ ।
हो, इतिहासको समीक्षाले पनि प्रस्ट पारेको कुरा के हो भने विभिन्न कालखण्डमा जन्मिएका राजनीतिक नेतृत्व, एजेण्डा अनि शक्ति अर्को कालखण्डमा पुग्दा तिनको सान्दर्भिकतामा केही कमी पक्कै आउँछ । मात्रात्मक रुपमा धेरथोर हुने आफ्नो कुरा हो । जस्तो, जतिसुकै आधुनिकता र परिवर्तनको कुरा गर्ने किन नहोस्, नाति पुस्ताको आवश्यकता हजुरबा पुस्ताको मान्छेले पक्कै पनि पूरा गर्न सक्दैन । यो प्रामाणिक कुरा नै हो । यसै परिदृश्यमा अबको राजनीलिाई जोडेर हेर्दा अहिलेका सबैजसो दल परीक्षित (टेष्टेड) भइसकेका छन् । आफूलाई प्रजातन्त्रको मसिहा ठान्ने सबैभन्दा पुरानो दल नेपाली कांग्रेस अहिले ठूलो पार्टी बनेको छ । यो पार्टी २००७ सालको परिवर्तनपछि पञ्चायतकालको प्रत्यक्ष शासनबाहेकको समयमा कुनै न कुनै रुपमा सत्तासीनै भएर बसेको हो । यो अवधिमा कांग्रेसका सबैजसो शीर्ष नेतृत्वको शासनकाल जनताले भोगेका पनि छन् र भर्खरै सम्पन्न १३ औं महाधिवेशनबाट चुनिएको नेतृत्वबाट पनि केही नयाँको अपेक्षा गर्न सकिने अवस्था छैन । 
‘विगत तिमीसँग छैन, भविष्य तिम्रो नियन्त्रणबाहिर छ, अनि त तिमीसँग भएको वर्तमानलाई सुन्दर बनाउन किन नखोज्ने ?’
त्यसैगरी २०४६ सालको राजनीतिक परिवर्तनपछि सधैं सत्ताको नजिक रहेको नेकपा एमाले मूलतः कांग्रेसभन्दा कुनै पनि मानेमा फरक छैन । उसले केही पपुलिष्ट नारा लगाउने बाहेक नूतनको खोजी न त हिजो गरेको थियो, न भोलि नै गर्नेछ । उसको राजनीति केही सुधारसहित यथास्थितिलाई नै निरन्तरता दिने हो । मुलुकको अर्थराजनीतिको परिभाषाको डाइनामिक्स नै बदलिने गरी उसले कुनै कार्यक्रम ल्याउने छैन भन्ने कुरा घाम जत्तिकै छर्लंग छ । उता दुनियाँ फेर्न भन्दै सहर पसेको माओवादी पार्टी पनि सहरको रमझममा आफै नचिनिने गरी बदलिन पुगेको छ र यो अहिले सहरकै सौन्दर्यमा विलुप्त भएको छ । अनि ती पुराना संसदवादी दलभन्दा कुनै पनि मानेमा फरक हुन सकेको छैन । अबको लागि माओवादी दलहरुको सबैभन्दा ठूलो पुँजी भनेकै जनयुद्धमात्रै हो । तर, वर्तमानको जटिलता र भविष्यको समृद्धि त्यही इतिहासको पाठशालाबाट मात्रै पूरा हुनेवाला छैनन् । त्यसको लागि नयाँ मार्ग तय गर्नुपर्छ नै ।
त्यसैगरी माओवादीको शान्तिपूर्ण राजनीतिक रुपान्तरणसँगै उदाएका मधेसवादी क्षेत्रीय शक्तिहरुले पनि राष्ट्रिय आकार ग्रहण गर्न नसक्दा उनीहरु पनि मूलतः सत्ताकै वरिपरि रहेर राजनीति चलाउने ध्याउन्नमै छन् । तथापि उनीहरुले बेलामौकामा उत्पीडित समुदायका हक, अधिकार र पहिचानको कुरालाई आफ्नो राजनीति गर्ने आधार मान्न भने छाडेका छैनन् ।
अहिलेका दलहरुको रवैया र उनीहरुको कार्यशैली हेर्दा लाग्छ, अब उनीहरुले त्यही आफ्नो विगतको फ्ल्यासब्याकमै आफ्नो राजनीति धान्ने चेष्टा गर्नेछन् । उनीहरुले आफ्ना ‘गौरवमय’ भनी परिभाषित गरिएका विगतकै चर्चा गर्नेछन् र ऐनमौकामा त्यही विगतको व्यापार गरेरै आफ्नो राजनीति चलाउनेछन् । देशकै पुरानो पार्टीले आफ्नो महाधिवेशनमा बीपी कोइरालाको इतिहासलाई पुनः एकपटक स्मरण गर्दै समाजवादको कुरा गरेको थियो । त्यस्तै बेलामौकामा एमालेले पनि मदन भण्डारीको जबजको इतिहासलाई पर्दामा उतार्ने गर्छ । अनि कान्छो माओवादीले कहिले रोचक त कहिले आक्रामक शैलीमा जनयुद्धका कथालाई सुन्दर ढंगले प्रस्तुत गर्ने नै छ ।
निष्कर्षमा भन्दा, ती सबैले आफ्ना विगतको व्याख्यालाई नै राजनीति गर्ने आधार बनाउने छन् । हो, यहीँनेर एउटा हिन्दी सिनेमाको संवाद याद आउँछ, ‘विगत तिमीसँग छैन, भविष्य तिम्रो नियन्त्रणबाहिर छ, अनि त तिमीसँग भएको वर्तमानलाई सुन्दर बनाउन किन नखोज्ने ?’ हो, खासमा हामीले आफ्नो विगतलाई सन्दर्भकै रुपमा लिएर वर्तमानको आवश्यकतालाई ठीक ढंगले ग्रहण गर्दै भविष्यको योजना बनायौं भने मात्रै सही गन्तव्यमा पुग्न सक्छौं । नत्र, विगतको विरासतले मात्रै भोलि चल्ने छैन । अब पनि इतिहासकै व्यापार गरेर राजनीति धानिने छैन भन्ने कुरा बुझ्ने के फेरि अर्को कुनै दुर्घटना नै पर्खनु पर्ने हो र ?

No comments:

Post a Comment

गुणस्तरीय शिक्षाका आधारहरु

मनिकर कार्की “निवर्तमान” विगतमा जस्तै यसवर्ष पनि माध्यामिक शिक्षा परीक्षाको परीक्षाफल प्रकाशित भएको छ । प्रवेशिकाबाट माध्यामिक शिक्षा परी...