एजेन्डाविनाको विद्यार्थी आन्दोलन

मनिकर कार्की ‘निवर्तमान’
-तस्बिर साभार ः रातोपाटी)
पटकपटक मिति तोकिँदै स्थगित हुँदै आएको नेपाली काङ्ग्रेस निकट विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी सङ्घको ११औं महाधिवेशन अहिले कामाडौंमा चलिरहेको छ । महाधिवेशनको तामझाम हेर्दा गत फागुनमा सम्पन्न माउ पार्टी नेपाली काङ्ग्रेसकै महाधिवेशनको झल्को दिएको छ । त्यसो त विद्यार्थी सङ्गठनको महाधिवेशनमा विद्यार्थी आन्दोलनका आगामी एजेन्डाहरुकै बारेमा बहस हुनुपर्ने हो । अर्थात्, अबको विद्यार्थी आन्दोलनको मुख्य एजेन्डा के हुनुपर्छ ? विद्यार्थीले कस्तो प्रकारको मुद्दालाई प्राथमिकतामा राख्नुपर्छ ? शैक्षिक क्षेत्रको सुधारका लागि विद्यार्थीहरुले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ? विद्यार्थी सङ्गठनले कसरी विद्यार्थीको हक हित र सुरक्षा गर्नसक्छन् ? मुलुकको शैक्षिक प्रणालीलाई व्यावहारिक र अध्यावधिक गर्न विद्यार्थी सङ्गठनको भूमिका के हुन्छ ?

यी र यस्तै विषय विद्यार्थी राजनीतिको केन्द्रीय मुद्दा बन्नुपर्नेमा नेविसङ्घको महाधिवेशनको उद्घाटनसत्रमा पार्टीका नेताहरुले लम्बेतान भाषणबाजी गरेको देखियो । केवल नेविसङ्घको विगतको इतिहासको विवेचना गर्नेबाहेक कुनै वक्ताले पनि विद्यार्थी आन्दोलनको अबको एजेन्डा र भविष्यको बारेमा बोलेको सुनिएन । बरु, प्रकारान्तरले विद्यार्थी सङ्गठनलाई पार्टीले आवश्यकता अनुसार दलगत हित र स्वार्थका लागि परिचालन गर्ने र गर्नुपर्ने कुरालाई नै दोहोर्याए र विद्यार्थी सङ्गठन दलीय आस्था अनुसार भइकन पनि काम कारबाही र योजना निर्माणमा तिनलाई स्वतन्त्र र स्वायत्त बनाउनुपर्छ भन्ने कुरामा कसैले ध्यान दिएनन् । बरु विद्यार्थी सङ्गठनको मञ्चलाई नेताहरुले आफ्नो असन्तुष्टि पोख्ने माध्यम बनाएको देखियो ।
अनि अर्को कुरा उद्घाटन सत्रदेखि नै विद्यार्थी आन्दोलनको अबको भविष्य र आगामी दिनहरुमा विद्यार्थी आन्दोलनले कस्तो कस्तो मुद्दाको उठान गर्नुपर्छ ? भन्ने विषयमा छलफल चल्नुभन्दा पनि सुरुदेखि नै प्रतिनिधि विवादमा फस्न पुगेको छ र आज महाधिवेशन सुरु भएको एक साता पुग्नै लाग्दासमेत बन्दसत्र सुरु हुन सकेको छैन । अनि महाधिवेशनको मुख्य उद्देश्य नेतृत्व चयनमै सीमित हुन पुगेको छ । महाधिवेशनबाट को व्यक्ति पदमा जाने भन्ने कुरालेनै प्राथमिकता पाएको छ र अहिले त्यसैमा लडाइँ चलिरहेको छ । त्यसो त माउ पार्टी नेपाली काङ्ग्रेसको महाधिवेशनमा पनि सैद्धान्तिक, वैचारिक बहसभन्दा नेतृत्व चयनको विषयले नै प्रधानता पाएको थियो । ठीक त्यसैगरी नेविसङ्घको महाधिवेशनमा पनि नेतृत्व चयनको विषय नै प्राथमिकतामा परेको छ । यसमा विद्यार्थी आन्दोलनको आगामी कार्यदिशाको बारेमा खासै बहस भएको सुनिएन ।
अब चयन हुने नेविसङ्घको नयाँ नेतृत्वले विद्यार्थी आन्दोलनको आगामी दिशालाई कसरी परिभाषित गर्नेछ र उसले विद्यार्थी आन्दोलनलाई कसरी अघि बढाउनेछ, त्यो भने भोलिका दिनमै प्रस्ट हुनेछ । तर प्रारम्भिक सङ्केत हेर्दा नेविसङ्घको आगामी यात्रा पनि पुरानै ढर्रामा हुने निश्चित देखिन्छ । आजको यस आलेखमा भने नेविसङ्घकै महाधिवेशनको सन्दर्भमा त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गते गर्ने भनेको स्वतन्त्र विद्यार्थी युनियनको चुनावको सन्दर्भमा अबको विद्यार्थी आन्दोलनको गन्तव्य के हो र हुनुपर्छ भन्ने विषयमा चर्चा गर्ने जमर्को गरिएको छ ।
अब विद्यार्थी सङ्गठनहरुबीच भविष्यमा हुनसक्ने चुनावी हारजितको हिसाबकिताब नगरी घोषित स्ववियु चुनावलाई विद्यार्थी राजनीतिको शुद्धीकरण अभियानको रुपमा लिने हो भने २०६५ सालदेखि स्थगित हुँदै आएको स्ववियु चुनाव यस वर्ष हुने देखिन्छ । अनि स्ववियु चुनावको प्रसङ्ग चल्दै गर्दा अबको विद्यार्थी आन्दोलनको उद्देश्य र गन्तव्यको बारेमा व्यापक बहस हुनु जरुरी छ । अहिलेसम्म विद्यार्थी आन्दोलनको इतिहास हेर्दा यसले राजनीतिक उद्देश्य पूरा गर्नका लागि योगदान गरेको देखिन्छ । नेविसङ्घको महाधिवेशनको अवसरमा नेताहरुले शुभकामना दिने क्रममा पनि विद्यार्थी आन्दोलनको राजनीतिक इतिहासको बारेमा चर्चा गरेका थिए । हो, नेपालमा विद्यार्थी सङ्गठनहरुको निर्माण पनि राजनीतिक उद्देश्यले गरिएका हुन् र विद्यार्थी आन्दोलन राजनीतिक एजेन्डाबाट बाहिर गएको देखिँदैन । अनि निम्न माध्यमिक विद्यालयमा पढ्दादेखि नै विद्यार्थी सङ्गठनबाट राजनीतिक यात्रा सुरु गरेका धेरै नेताहरु अहिले राजनीतिक दलको केन्द्रीय तहमा पुगेका छन् । यसर्थ, विद्यार्थी सङ्गठन नेता उत्पादन गर्ने प्राथमिक विद्यालयहरु हुन् भन्दा अतिशयोक्ति हुनेछैन । यस मानेमा विद्यार्थी आन्दोलनले राजनीतिक अभीष्ट नै बोकेको देखिन्छ ।
अहिले राजनीतिक रुपले मुलुकमा निकै परिवर्तन आइसकेको छ । पञ्चायतको समयमा जतिबेला राजनीतिक दलहरु प्रतिबन्धित थिए, दलहरुले जनतासमक्ष आफ्ना कुरा लैजानका लागि विद्यार्थी सङ्गठनको निर्माण गरी विद्यार्थी आन्दोलनको उभार सिर्जना गरे । अनि २०३६ सालको जनमत सङ्ग्रहको घोषणा विद्यार्थी आन्दोलनकै उपलब्धि थियो । २०३६ सालदेखियताको ३५ वर्षको अवधिमा मुलुकमा पटकपटक राजनीतिक परिवर्तनहरु भए । ती सबैजसो राजनीतिक सङ्घर्षमा युवा विद्यार्थीहरुको सक्रिय सहभागिता रह्यो । अझ एक हिसाबले भन्नुपर्दा ती बसैजसो आन्दोलनहरुमा युवा पुस्ताको सक्रिय सहभागिताले नै आन्दोलन सफल भएका पनि हुन् । त्यस हिसाबमा विद्यार्थी आन्दोलनको विगत जसरी परिभाषित छ, त्यसमा विद्यार्थी आन्दोलनले पूर्णाङ्क नै प्राप्त गरेको छ । तर अब राजनीतिक व्यवस्थामा आएको परिवर्तनसँगै विद्यार्थी आन्दोलनको एजेन्डामा पनि परिवर्तन आउनु जरुरी छ । तर यसमा विद्यार्थी नेताहरु उदासिन मात्र होइन किन्तु अनिच्छुक नै देखिएका छन् । अनि युवावस्था पार गरेका विद्यार्थी नेताहरुलाई प्रश्न गर्न मन लाग्छ, के अब पनि नेपालको विद्यार्थी आन्दोलनले त्यही विरासतलाई बोकेर हिँड्नुपर्छ ? वा यसले अब आफ्नो उद्देश्य र गन्तव्य परिवर्तन गर्नुपर्छ ?
सायद राजनीतिको यही संस्कारकै कारण अहिलेको नयाँ उदाउँदै गरेको युवा पुस्ता कुनै न कुनै रुपमा राजनीतिप्रति निरपेक्ष देखिने गरेको छ । अनि उनीहरुलाई राजनीतिको बारेमा सोधे एउटै रेडिमेड उत्तर आउँछ, ‘राजनीति फोहोरी खेल हो’ । जबकि किशोरावस्थाको अन्तिम प्रहर भनेको मुलुकको अर्थराजनीतिक व्यवस्था र अवस्थाप्रति चिन्ता र चासो अभिव्यक्त गर्ने बेला हो । तर यथार्थमा त्यसो हुन सकेको छैन । आखिर किन ? विद्यार्थीहरुमा किन राजनीतिक जागरण छैन ? कसरी उनीहरुमा गढिएको राजनीतिक वितृष्णा हटाउने ? कसरी युवा विद्यार्थीहरुलाई राजनीतिप्रति निरपेक्ष होइन सापेक्ष बनाउने ? यी र यस्ता सवालहरु विद्यार्थी आन्दोलनको केन्द्रीय एजेन्डा बन्नुपर्छ ।
यसका लागि सबैभन्दा पहिले राजनीतिलाई रचनात्मक बनाउन जरुरी छ । जसका लागि अब यसको परिभाषा नै फेर्नुपर्ने भएको छ । अहिलेसम्मको राजनीतिक संस्कार र कार्यशैली फेर्नुपर्ने बेला भएको छ । अहिलेसम्म राजनीतिक दलहरुले भएगरेका सबै क्रियाकलापहरुलाई वैकल्पिक रुपले परिभाषित गर्नुपर्ने बेला भएको छ । हो, जबसम्म मुलुकको राजनीतिले सही संस्कारको विकास गर्न सक्दैन, अहँ विद्यार्थी सङ्गठनहरुमा पनि शुद्धीकरण आउने सम्भावना रहन्न । किनकि राजनीतिक प्रणाली ठूलो युनिट हो भने विद्यार्थी आन्दोलन त्यही राजनीतिक प्रणालीको एउटा सहायक युनिट हो । यसर्थ, राजनीतिको वैकल्पिक परिभाषासँगै अब विद्यार्थी आन्दोलनको गन्तव्य र लक्ष्यको पनि वैकल्पिक परिभाषा निर्माण गर्नुपर्ने बेला भएको छ । यो किन पनि जरुरी छ भने अहिलेको र विद्यार्थी सङ्गठन निर्माण हुँदाको राजनीतिक वातावरण निकै फरक भएको छ ।
हो, विद्यार्थी आन्दोलनले पनि अब आफ्ना एजेन्डा र प्राथमिकताहरुमा परिवर्तन गर्नु जरुरी देखिन्छ । हिजो विद्यालयतहबाटै सङ्गठन निर्माण गर्ने गरिन्थ्यो । तर अब त्यसरी विद्यालयतहमा सङ्गठन निर्माण गर्ने होइन । विद्यार्थी सङ्गठन विश्व विद्यालयतहमा मात्रै निर्माण गर्ने र विद्यार्थी सङ्गठनहरुले विशुद्ध शैक्षिक र प्राज्ञिक एजेन्डाहरुलाई उठान गर्नुपर्छ । त्यसो भयो भने दलीयकरणको मारमा परेको विद्यार्थी आन्दोलनको हैसियत पनि माथि उठ्नेछ ।
भर्खरै घोषणा भएको नयाँ शक्ति पार्टी निकट रहेको नयाँ शक्ति विद्यार्थी युनियनले विश्वविद्यालयतह (स्नातक) भन्दा तल सङ्गठन नगर्ने निर्णय गरेको छ । उसले अन्तर्राष्ट्रिय बालअधिकारलाई सम्मान गर्दै कलिला बालमस्तिष्कहरुलाई राजनीतिक अभीष्टले प्रेरित कुनै पनि गतिविधिमा संलग्न नगराउने रचनात्मक कुराको सुरुवात गरेको छ । ती उच्च माध्यमिक विद्यालयसम्मका विद्यार्थीहरुलाई खेलकुद, वादविवाद जस्ता रचनात्मक र सिर्जनशील काममा प्रयोग गर्ने र उनीहरुको वृत्तिविकासमा मद्दत पुग्ने काममा उत्प्रेरित गर्ने तर सङ्गठनभित्र समावेश नगर्ने उसको नीति देखिन्छ । यसले पक्कै पनि विद्यार्थी आन्दोलन र यसले लिने एजेन्डालाई पुनः परिभाषित गर्ने आवश्यकता औंल्याएको छ ।
विगतको समयमा विद्यार्थी सङ्गठनहरुलाई आफ्ना माउ पार्टीको ताकत देखाउने र उनीहरुलाई आफ्नो दलीय एजेन्डाका लागि सडकमा टायर बाल्न र ढुङ्गा हान्ने काममा मात्र अघि सारिँदा त्यत्रो गरिमामय इतिहास रचेको विद्यार्थी आन्दोलनले आफ्नो ओज र गरिमा गुमाउँदै गएको कुरा निर्विवाद छ । यसर्थ अब विद्यार्थी आन्दोलनले पनि रचनात्मक उद्देश्यहरु अँगाल्नुपर्ने आवश्यकता छ । विद्यार्थी सङ्गठनहरुलाई हाँकेरै माउ पार्टीको केन्द्रीय स्तरमा पुगेका विद्यार्थी नेताहरु पनि अहिले स्ववियुको संरचनागत परिवर्तन जरुरी भइसकेको तर्क गर्दछन् । उनीहरु समयसापेक्ष स्ववियुको उद्देश्य, संरचना र निर्वाचन विधिमा समयानुकूल परिवर्तन गर्नुपर्ने आवश्यकता औंल्याइरहेका छन् ।
अब स्ववियुलाई विशुद्ध विद्यार्थीहरुको हक, हित र सुरक्षा तथा क्याम्पस तथा विश्वविद्यालयको भौतिक विकास र शिक्षाकेन्द्रित समस्याहरुको समाधान र नयाँ शिक्षा प्रणालीको संस्थागत विकासमा केन्द्रित गर्नुपर्ने देखिन्छ । किनभने ०३६ सालयता मुलुकको आर्थिक, सामाजिक, राजनीतिक एवं शैक्षिक वातावरणमा पनि धेरै ठूलो परिवर्तन आइसकेको छ । स्वभावैले वातावरणीय तत्वहरुमा आएको परिवर्तनसँग समायोजित हुँदै अघि बढ्न पनि पुरानो सोच, संस्कार र चिन्तनमा परिवर्तन ल्याउनु जरुरी हुन्छ । यसर्थ पुरानै पञ्चायती ढर्रामा स्ववियुको संरचना कायमै राख्दा त्यसको उपादेयता पनि कम हुँदै जानेछ । विद्यार्थीहरुलाई नयाँ संरचना र भूमिकामा परिवर्तन गर्न सकिएन भने आम रुपमा पनि विद्यार्थी आन्दोलनप्रति विश्वास रहँदैन र यो अक्षुण्ण शक्ति केवल हुलदङ्गा र भीडमै परिणत हुने खतरा रहन्छ ।
त्यसैगरी मुलुकको शिक्षा प्रणालीलाई युग सुहाउँदा व्यावहारिक बनाउन र विद्यार्थीहरुको अनावश्यक लोड घटाउने दिशामा गर्नुपर्ने कामहरु अनगिन्ती छन् तर त्यसतर्फ विद्यार्थी नेताहरुको ध्यान गएको देखिँदैन । फगत उनीहरु आफ्नो व्यक्तिगत पहिचान र व्यक्तित्व विकासका लागि राजनीति गरिरहेका छन्, जसले गर्दा समग्र विद्यार्थी आन्दोलन नै आलोचित बन्दै गएको छ । अब वास्तवमै विद्यार्थी सङ्गठनहरुले आफ्नो गुमाउँदै गएको शाख कायम राख्ने र नयाँ विद्यार्थी आन्दोलनको उभार सिर्जना गर्ने हो भने उनीहरु प्रशासनिक र आर्थिक कुराहरुमा केन्द्रित हुने होइन । उनीहरु वास्तवमै मुलुकको शैक्षिक रुपान्तरणका लागि नयाँ ढङ्गबाट शैक्षिक आन्दोलनको उभार सिजना गर्नेतिर लाग्नुपर्छ ।
त्यस्तै विद्यार्थी सङ्गठनहरुले पनि आन्दोलनमा एजेन्डाको गतिशीलता महशुस गरेर विद्यार्थी आन्दोलनको अबको डाइनामिक्सलाई परिवर्तन गर्नतिर लाग्नुपर्छ । अब पनि माउ पार्टीले बोकेको राजनीतिक अभीष्टका लागि सडकमा ढुङ्गामुढा गर्ने, टायर बाल्ने, सडक अवरोध गर्ने, चक्काजाम र बन्द हड्तालमा उत्रिने भन्दा पनि विद्यार्थी सङ्गठनहरुले विद्यार्थी र शैक्षिक प्रणाली केन्द्रित मुद्दाहरुलाई राजनीतिक गर्ने आधार बनाउनुपर्छ । यदि यसो हुन सक्यो भने आलोचित र दिशाविहीन बन्दै गएको विद्यार्थी आन्दोलनले मार्गदर्शन प्राप्त गर्नेछ । अनि एजेन्डाविहीन बन्दै गएको विद्यार्थी आन्दोलनले एजेन्डा पाउनेछ ।
Published on ratopati.com

No comments:

Post a Comment

‘वैकल्पिक राजनीति’को कार्यभार

मनिकर कार्की निवर्तमान करिब पच्चीस सय वर्षअघि गौतमबुद्धले भनेका थिए – ‘दुःख छ । दुःखको कारण छ । दुःखको निवारण छ । ज्ञान, शील र समाधीको ...