के लघुवित्तको मुनाफा मात्रै सफलताको आधार हो ?

तस्बिरः गुगल खोजी
लघुवित्तको अवस्था
खासगरी गाउँगाउँका गरिब तथा विपन्न परिवार जो आधुनिक बैङ्कका ग्राहक बन्न सकिरहेका हुँदैनन्, तिनीहरुलाई उनीहरुकै घरघरमा पुगी वित्तीय सेवा पुर्याउने संस्था नै लघुवित्त हो । ग्रामीण महिलाहरुलाई वित्तीय रुपले साक्षर बनाउने र आधुनिक बैङ्क वित्तीय संस्थाहरुबाट वित्तीय सेवा पुग्न नसकेको स्थानमा वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यले नेपाल राष्ट्र बैङ्कले लघुवित्त वित्तीय संस्था विस्तारको नीति लिएको हो । त्यसै नीति अनुसार पछिल्लो १० वर्षको अवधिमा लघुवित्त वित्तीय संस्थाहरुको सङ्ख्यात्मक वृद्धि निकै बढेर गएको छ । अति लघुवित्त वित्तीय संस्थाहरुको सङ्ख्यात्मक वृद्धिसँगै लघुवित्त क्षेत्र पनि चुनौतीपूर्ण बन्दै गएको छ । सन् ९० को दसकमा कृषि विकास बैङ्कबाट ससाना कृषकहरुलाई उन्नत बीउबिजन तथा कृषि औजारहरु खरिद तथा पशुपालनका लागि ससानो ऋण उपलब्ध गराई उनीहरुलाई व्यावसायिक बनाउने उद्देश्यले साना किसान विकास परियोजनाअन्तर्गत लघुवित्त कर्जाको सुरुवात भएको देखिन्छ । साना किसान विकास परियोजनाअन्तर्गत सुरु भएको लघुकर्जा अहिले ४१ वटा लघुवित्त वित्तीय संस्थाहरु तथा केही दर्जन सहकारी र गैरसरकारी संस्थाहरुमार्फत वितरण भइरहेको छ । अझै पनि लघुवित्त क्षेत्रमा २० अर्बको कोष अपुग रहेको अनौपचारिक तथ्याङ्कहरु बेलाबखतमा सार्वजनिक भइरहेका छन् । 


खासगरी गाउँघरका गरिब र विपन्न परिवारका मानिसहरुलाई बिनाधितो सामूहिक जमानीका आधारमा कर्जा प्रवाह गरी उनीहरुलाई आर्थिक रुपले सक्षम बनाउने उद्देश्य लघुवित्तको रहेको हुन्छ । तर अहिले सञ्चालनमा रहेका लघुवित्त वित्तीय संस्थाहरुले आफ्नो व्यवसायलाई गाउँकेन्द्रित बनाउने भन्दा पनि सहरउन्मुख ग्रामीण क्षेत्रमै केन्द्रित गरिरहेका छन् । अनि आर्थिक रुपले सबैजसो लघुवित्त वित्तीय संस्थाहरुले प्रशस्त मुनाफा आर्जन गरिरहेका पनि देखिन्छन् । सेयर बजारमा लघुवित्त कम्पनीको सेयरमा सबैको आकर्षण पनि बढेको देखिन्छ । सायद त्यही आकर्षणकै कारण पुँजी बजारमा लघुवित्त वित्तीय संस्थाहरुको सेयर बिक्री आवेदन खुल्ला हुँदा सयौं गुणा आवेदन पर्ने पनि गरेको छ । केही साता पहिले प्राथमिक पुँजी बजारमा दुई लघुवित्त कम्पनीहरुको सेयर सार्वजनिक निष्काशन हुँदा पनि तीन सय गुणाभन्दा बढी आवेदन परेको थियो । 

मुनाफा आर्जन नै सफलता हो ? 
जसरी अहिले लघुवित्त वित्तीय संस्थाहरुले मुनाफा आर्जन गरिरहेका छन्, त्यही मुनाफालाई वित्तीय संस्थाको सफलताको आधार बनाइएको छ । तर यसरी आर्जन गर्ने मुनाफा मात्र वित्तीय संस्थाहरु अझ लघुवित्त कम्पनीहरुको सफलताको आधार पक्कै पनि होइन । किनकि सफलताको मापन तथ्याङ्कले मात्रै गर्दैन । ती वित्तीय संस्थाहरु लघुवित्तको मर्म र भावना अनुसार लक्षित वर्गमा पुग्न सकेका छन् कि छैनन् ? साँच्चिकै वित्तीय पहुँच नपुगेका कति जनसङ्ख्यालाई तिनीहरुले वित्तीय सेवा पुर्याए ? कति नयाँ ग्राहक लघुवित्त बजारमा थपिए ? अनि तिनको जीवनस्तरमा कस्तो गुणात्मक परिवर्तन आयो ? उनीहरुको घरपविारमा के कस्तो आर्थिक प्रभाव पर्यो ? अनि गाउँ समाजको आर्थिक उन्नतिमा कस्तो परिवर्तन आयो ? यी सबै आर्थिक, सामाजिक आधारहरु लघुवित्तको सफलताको आधार हो । 
त्यो कर्जा मूलतः उपभोग र व्यापारमै केन्द्रित छ । उनीहरुले उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह गरी आर्थिक सशक्तीकरण गर्न सकेका छैनन् । अहिलेसम्मको अभ्यास हेर्दा बजारउन्मुख क्षेत्रहरु नै लघुवित्तको मुख्य बजार बनेको छ र त्यस्तो क्षेत्रमा लगानीको पैसा सबैभन्दा बढी व्यापार र उपभोगमै खर्च भएको देखिन्छ । 
यसर्थ, कुनै अमूक लघुवित्तले कति कमायो भन्ने मात्रै त्यसको सफलताको आधार हुन सक्दैन । अलिकति गम्भीर भएर समीक्षा गर्ने हो भने लघुवित्त कम्पनीहरुले कमाउने मुनाफाले मात्रै उनीहरुको सफलता मापन गर्नु वस्तुसङ्गत हुँदैन । उनीहरुले पुर््याएको सेवाको दायरा पनि हेर्नु जरुरी हुन्छ । केही महिनाअघि काठमाडौंमा सम्पन्न भएको लघुवित्त सदस्य सम्मेलनमा पनि सहभागी सदस्यहरुले लघुवित्तहरुले आफूहरुलाई मनोवैज्ञानिक रुपले ‘ब्ल्याकमेलिङ’ गर्ने गरेको गुनासो गरेको सुनिएको थियो । अनि लघुवित्तले लिने चर्को ब्याजले गरिबहरुलाई थप शोषणमा पार्ने गरेको गुनासो पनि बेलाबखत सुन्नमा आएको छ । यसबाट पनि मुनाफा मात्रै लघुवित्तको सफलता होइन रहेछ भन्ने पुष्टि हुन्छ । लघुवित्तहरुको फोकस वित्तीय पहुँच विस्तारको जति नै हल्लाखल्ला गरे पनि विद्यमान लघुवित्त कम्पनीहरुले साँच्चिकै नयाँ सदस्यहरुलाई आफ्नो नेटवर्कमा समावेश गराउन सकेका छैनन् । उनीहरुले कुनै न कुनै रुपमा एकपटक सेवाको दायरामा आइसकेका समूह सदस्यलाई नै आफ्नो ग्राहक बनाइरहेका छन् । अनि उनीहरुले प्रवाह गर्ने कर्जा पनि अनुत्पादनक क्षेत्रमै बढी गएको देखिन्छ । त्यो कर्जा मूलतः उपभोग र व्यापारमै केन्द्रित छ । उनीहरुले उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह गरी आर्थिक सशक्तीकरण गर्न सकेका छैनन् । अहिलेसम्मको अभ्यास हेर्दा बजारउन्मुख क्षेत्रहरु नै लघुवित्तको मुख्य बजार बनेको छ र त्यस्तो क्षेत्रमा लगानीको पैसा सबैभन्दा बढी व्यापार र उपभोगमै खर्च भएको देखिन्छ । यसले तत्कालका लागि मुनाफा आर्जन गर्न सजिलो त हुन्छ तर दीर्घकालमा त्यो निकै ठूलो समस्या बनेर आउन सक्छ । त्यसकारण अब त्यसमा थोरै परिवर्तन हुनु आवश्यक छ र लघुवित्तहरुले साँच्चिकै नयाँ ठाउँमा गएर सम्भावनाको खोजीलाई नै फोकस गर्नु जरुरी छ । 

ब्याजदर किन महँगो ? 
लघुवित्त वित्तीय संस्थाले आयोजना गरेको कुनै कार्यक्रममा गर्भनर डा. चिरञ्जीवी नेपालले प्रश्न गरेका थिए ‘गरिबका लागि खोलिएका लघुवित्त वित्तीय संस्थाहरुले ब्याजदर किन महँगो हुन्छ ?’ कतिपय आलोचकहरु लघुवित्त कम्पनीले ती गरिब तथा विपन्नहरुबाट ब्याज, सेवा शुल्क, हर्जना सबै जोड्दा ३० प्रतिशतसम्म ब्याज असुल गर्ने गरेको बताउँछन् । यसरी हेर्दा लघुवित्तहरुलाई ‘आधुनिक सामन्त’ पनि भन्ने गरेको सुनिन्छ । के साँच्चिकै लघुवित्तहरु आधुनिक समान्त नै हुन् त ? प्रश्न बडो गम्भीर छ । ब्याजदरको सवालमा लघुवित्तहरुको सञ्चालन खर्च बढी भएको हुनाले ब्याज महँगो हुने गरेको तर्क लघुवित्त कम्पनीहरुको छ । तर लघुवित्त कम्पनीका सञ्चालक तथा लगानीकर्ताहरुको लोभकै कारण लघुवित्तहरुले चर्को ब्याज लिने गरेका हुन् । किनकि उनीहरुलाई चाँडो नाफा आर्जन गर्नुछ । नत्र लघुवित्त भनेको विशुद्ध मुनाफा आर्जन गर्न मात्रै संस्थापित संस्थाहरु होइनन् । यी भनेका सामाजिक सेवा गर्ने उद्देश्यले स्थापित संस्था हुन् । 

यदि आफ्नो लगानीबाट अत्यधिक नाफा नै कमाउनु छ भने लघुवित्तमा होइन, व्यापारमा लगानी गर्नुपर्छ । व्यापार गरेर जति पनि मुनाफा आर्जन गर्न सकिन्छ । त्यसकारण लघुवित्तका सञ्चालक तथा लगानीकर्ताहरुलाई पनि यसको बारेमा राष्ट्र बैङ्कले साक्षरता अभियानै सञ्चालन गर्नुपर्ने म ठान्दछु । यद्यपि पछिल्लो समयमा राष्ट्र बैङ्कले लघुवित्त कम्पनीहरुको लागि पनि ब्याजदर अन्तर अर्थात् स्प्रेड दर तोक्ने नीति ल्याएको छ । यसले केही हदसम्म लघुवित्तहरुलाई एउटा ग्राह्य हुने ब्याजदरको दायरामा ल्याउने आशा गर्न सकिन्छ । तर लघुवित्तहरुले आफ्ना केही बचतका प्रकारमा अधिक ब्याजदर अफर गरेर स्प्रेडमा म्यानुपुलेट गर्ने सम्भावना पनि उत्तिकै छ । यसलाई कडाइका साथ नियमनकारी निकायले निगरानी गरेर तोकिएको स्प्रेड कायम गराउन सक्यो भने ब्याजदरमा देखिएको अराजकता केही हदसम्म कम हुने देखिन्छ । अनि लघुवित्त वित्तीय संस्थाहरुले पनि अब प्रतिस्पर्धी रुपले लागत घटाउँदै सर्वसुलभ लगानीका लागि विकल्पहरुको खोजी गर्नुपर्ने बेला आइसकेको छ । 

लघुवित्तको उद्देश्य 
लघुवित्तको मुख्य उद्देश्य गाउँघरमा वित्तीय साक्षरता अभियान सञ्चालन गर्नु पनि हो । अनि ती ग्रामीण महिलाहरु जो चुलोचौकामै सीमित हुन्छन्, जसले आफ्ना पारिवारिक आवश्यकताहरु पूरा गर्नका लागि आफ्ना श्रीमान्कै भर पर्नुपर्ने अवस्थालाई अन्त्य गर्नै उनीहरुलाई सामाजिक र आर्थिक रुपले सशक्तीकरण गर्नु पनि हो । तर लघुवित्तहरुले त्यो उद्देश्य पूरा गरेका छैनन् । उनीहरु बजारउन्मुख सहरीक्षेत्रमै केन्द्रित भएर आफ्नो व्यवसाय सञ्चालन गरिरहेका छन् । अनि व्यवस्थापनलाई अधिक मुनाफा आर्जन गर्ने टार्गेट दिएर सञ्चालक तथा संस्थापकहरु बसेका हुन्छन् । त्यो लक्ष्य हासिल गर्नका लागि व्यवस्थापन जोखिमयुक्त क्षेत्रहरुमा कर्जा विस्तार गरिरहेको हुन्छ । उनीहरुले दोहोरो, तेहोरो कर्जा प्रवाह गरिरहेका हुन्छन् । जसले गर्दा एकातिर लघुवित्तहरुकै कर्जा जोखिममा परेको हुन्छ भने अर्कोतर्फ समूह सदस्यको पनि अधिक ऋणका कारण सामाजिक र पारिवारिक अवस्थामा समस्या आइरहेको हुन्छ । 

कतिपय अवस्था त यस्तो छ कि ऋण लिइसकेपछि उनीहरु दीर्घकालीन रुपमा वित्तीय स्रोतको लागि लघुवित्तहरुप्रति आश्रित हुन्छन् । यसर्थ, लघुवित्तले जसरी वित्तीय स्रोतको उपलब्धताको लागि काम गर्छ, त्यसैगरी स्थानीयस्तरमा स्वरोजगारका अवसरहरु देखाउने काम पनि गर्नुपर्छ । अझ साँच्चिकै भन्नुपर्दा अबको लघुवित्तलाई केवल वित्तीय स्रोत उपलब्ध गराउने संस्थाको रुपमा मात्र नभई यसबाट प्रवाह गरिने सेवालाई विविधीकरण गर्नु जरुरी हुन्छ । लघुवित्तको दीगो विकास र सम्बद्र्धनका लागि पनि वित्तीय सेवाको अलवा यसले स्वरोजगारको सवालमा सीप र दक्षता अभिवृद्धि गर्ने खालका अभिमुखीकरण कार्यक्रमहरुलाई पनि सँगसँगै लैजानुपर्ने आवश्यकता देखिन्छ । त्यसो हुन सक्यो भने सशक्तीकरण र आर्थिक आत्मनिर्भरताको विकास हुनेछ । 

अस्वस्थ प्रतिस्पर्धा 
बैङ्किङ बजारमा बढ्दै गएको प्रतिस्पर्धासँगै लघुवित्त बजारमा पनि प्रतिस्पर्धा बढ्दै गएको छ । यो प्रतिस्पर्धा पछिल्लो समयमा चुनौतीपूर्ण र अस्वस्थ्य बन्दै गएको अनुभूति गर्न सकिन्छ । लघुवित्तमा बिनाधितो कर्जा प्रवाह गरिने हुँदा एउटै व्यक्तिले धेरै लघुवित्तहरुबाट कर्जा लिने सम्भावना रहन्छ । जसलाई दोहोरोपना भनिन्छ । यो दोहोरोपनाको समस्या नै लघुवित्तको मुख्य समस्या हो । त्यसकारण यो समस्या हटाउनको लागि नयाँ नयाँ सम्भावनाका क्षेत्रहरुको पहिचान गर्दै लघुवित्त कम्पनीहरुले आफ्नो सेवामा नवीनता ल्याउनु जरुरी छ । तर लघुवित्तहरुले त्यसरी नयाँ सम्भावना पहिल्याउने भन्दा पनि भएकै बजारलाई थप अस्वस्थ बनाउने काम गरिरहेका छन् । अधिकांश लघुवित्त कम्पनीहरुको ग्राहक एउटै हुँदा कर्जाको दोहोरो र तेहोरोपना अर्थात् मल्टिपल फाइनान्सिङ पनि बढ्दै गएको छ । 
संस्थागत सुशासनको सन्दर्भमा लघुवित्त कम्पनीका सञ्चालकहरुको बुझाइ पनि गलत छ । उनीहरु वित्तीय संस्थाका सञ्चालकहरुले कार्यकारी व्यवस्थापनको नियमित निगरानीलाई नै संस्थागत सुशासन मान्ने गर्दछन् । 
अनि लघुवित्त कम्पनीहरुलाई पनि मुनाफा आर्जन गर्नका लागि जसरी पनि लगानी बढाउनैपर्ने अवस्थाका कारण लगानीमा अन्तरनिहित जोखिमको मूल्याङ्कन नै नगरी लगानी गरिरहेका छन् । जसले गर्दा लघुवित्त कम्पनीहरुबीच अस्वस्थ प्रतिस्पर्धा बढ्दै गएको छ । यो क्रम यही रुपमा चलिरहने हो भने भोलि कुनै दिन यी संस्थाहरु एकैपटक धाराशायी हुने अवस्था आउन सक्छ । 

कमजोर संस्थागत सुशासन
पछिल्लो समयमा बैङ्क तथा वित्तीय संस्थाहरुमा संस्थागत सुशासनको अवस्थाको सवाल बहसको विषय बन्ने गरेको छ । बैङ्क तथा वित्तीय संस्थाहरुको सञ्चालनमा सञ्चालक तथा संस्थापकहरुको असंलग्नता नै संस्थागत सुशासनको आधार हो । तर लघुवित्त कम्पनीहरुको अवस्था हेर्ने हो भने अधिकांश लघुवित्त वित्तीय संस्थाहरु संस्थागत सुशासनको मर्म अनुसार सञ्चालित हुन सकेका छैनन् । संस्थागत सुशासनको सन्दर्भमा लघुवित्त कम्पनीका सञ्चालकहरुको बुझाइ पनि गलत छ । उनीहरु वित्तीय संस्थाका सञ्चालकहरुले कार्यकारी व्यवस्थापनको नियमित निगरानीलाई नै संस्थागत सुशासन मान्ने गर्दछन् । 

तर त्यसले संस्थागत सुशासनको अवस्थालाई कमजोर बनाइरहेको हुन्छ । खासमा वित्तीय संस्था सञ्चालन गर्ने कार्यकारी प्रमुखसहितको व्यवस्थापन टिमले हो । अनि वित्तीय संस्थाको कार्यकारी प्रमुखको पद आफैंमा व्यक्ति होइन, त्यो संस्था हो । तर धेरैजसो लघुवित्त कम्पनीहरुमा वित्तीय संस्थाको दैनिक कार्यसम्पादनमा अध्यक्ष, सञ्चालक तथा प्रभावशाली संस्थापकहरुले प्रत्यक्ष रुपमै निर्देश गर्ने गरिरहेका छन् । यसले संस्थागत सुशासनको अवस्थालाई कमजोर बनाइरहेको छ । अहिले पनि कतिपय लघुवित्त कम्पनीहरु कार्यकारी प्रमुखविहीन छन् । यसरी लामो समयसम्म वित्तीय संस्था कार्यकारी प्रमुखविहीन हुनुले पनि ती संस्थाहरुको कमजोर व्यावसायिक क्षमता र संस्थागत सुशासनको सङ्केत गर्दछ । फेरि संस्थाको नियमित कार्यसम्पादन, सामान खरिद, कार्यालय निर्माण, कर्मचारी भर्ना, सरुवा, समूह निर्माण, शाखा सञ्चालन तथा अन्य नियमित कार्यसम्पादनमा पनि अध्यक्ष तथा सञ्चालकको अधिक चासो रहने गरेको छ । यस्तो अवाञ्छित चासोले लघुवित्तहरुलाई पूर्ण रुपले व्यावसायिक भएर सञ्चालन हुन समस्या पैदा गरेको छ । 

अनि कार्यकारी प्रमुखको ध्यान स्वभावैले संस्थाको व्यवसाय अभिवृद्धि र व्यावसायिक हितमा भन्दा पनि सञ्चालक समितिका मान्छेहरुलाई रिझाउनमै केन्द्रित हुने गरेको छ । संस्थागत सुशासनको अवस्थाको प्रसङ्गमा लघुवित्तहरुलाई ऋण लगानी गर्ने एक जना बैङ्करको भनाइ यस्तो छ, ‘लघुवित्तमा लगानीको हिस्सा हेर्ने हो भने लघुवित्तको सेयर पुँजीभन्दा कैयौं गुणा बढी पैसा केवल संस्थाको नामकै आधारमा सापटीको रुपमा हामीले लगानी गरिरहेका छौं भने उनीहरुले कसरी लघुवित्तको सञ्चालनमा हस्तक्षेप गर्न मिल्छ ?’ उनी थप्छन्, ‘लगानीको सुरक्षाकै कुरा गर्ने हो भने पहिलो चासो हाम्रो हुन्छ, किनकि ठूलो पुँजी हामीले लगानी गरेका हुन्छौं’ । यसबाट के निष्कर्ष निकाल्न सकिन्छ भने लघुवित्तहरुको व्यावसायिक र सामाजिक हितका लागि सबैभन्दा पहिले त्यसका सञ्चालक तथा संस्थापकहरुलाई वित्तीय र संस्थागत सुशासनको बारेमा राम्रो जानकारी दिनु जरुरी देखिन्छ । लघुवित्तका कार्यकारी प्रमुखहरुले पनि संस्थापक, सञ्चालकहरुको अहस्तक्षेपकारी समन्वयात्मक भूमिका नै संस्थागत सुशासनको आधार हो भन्ने कुरा उनीहरुलाई बुझाउनु जरुरी छ । 
संस्थाको नियमित कार्यसम्पादन, सामान खरिद, कार्यालय निर्माण, कर्मचारी भर्ना, सरुवा, समूह निर्माण, शाखा सञ्चालन तथा अन्य नियमित कार्यसम्पादनमा पनि अध्यक्ष तथा सञ्चालकको अधिक चासो रहने गरेको छ । यस्तो अवाञ्छित चासोले लघुवित्तहरुलाई पूर्ण रुपले व्यावसायिक भएर सञ्चालन हुन समस्या पैदा गरेको छ । 
निष्कर्षमा यदि साँच्चिकै लघुवित्तलाई वित्तीय पहुँच विस्तारको भरपर्दो र दरिलो माध्यम मान्ने हो भने अब लघुवित्तलाई पनि विशिष्टिकरण गर्नु अति जरुरी छ । लघुवित्त नेपालका लागि एकदमै उपयोगी र आवश्यक वित्तीय संस्था हो । यसर्थ, लघुवित्तलाई आफैंमा प्रभावकारी र प्रतिस्पर्धी बनाउँदै यसको सेवालाई विशिष्टिकृत गर्नु अबको टड्कारो आवश्यकता हो । अनि लघुवित्त फरक खाले सेवामूलक वित्तीय सेवा भएको हुँदा यसका लगानीकर्ताहरुले पनि अधिक मुनाफाको अपेक्षा गर्ने होइन, किन्तु सेवाभावले लगानी गर्नुपर्छ । तब मात्र लघुवित्तलाई दिगो र सेवामूलक व्यवसायको रुपमा स्थापित गर्न सकिन्छ ।

published on ratopati.com

No comments:

Post a Comment

‘वैकल्पिक राजनीति’को कार्यभार

मनिकर कार्की निवर्तमान करिब पच्चीस सय वर्षअघि गौतमबुद्धले भनेका थिए – ‘दुःख छ । दुःखको कारण छ । दुःखको निवारण छ । ज्ञान, शील र समाधीको ...