ट्रम्प विजयको तरंग : बिकेकै हो त चर्को राष्ट्रवादको नारा ?

मनिकर कार्की 'निवर्तमान'

अन्ततः लामो र कडा चुनावी प्रतिस्पर्धाबाट अमेरिकाको ४५ औं राष्ट्रपतिको रुपमा न्यू योर्कका अर्बपति व्यवसायी तथा प्रख्यात पूर्व टेलिभिजन प्रस्तोता डोनल्ड ट्रम्पले विजयी प्राप्त गरेका छन् । अमेरिका विश्वको महाशक्ति राष्ट्र भएका कारणले पनि अमेरिकी राष्ट्रपतीय निर्वाचनले विगत निकै लामो समयदेखि नै अन्तर्राष्ट्रिय तथा राष्ट्रिय सञ्चार माध्यमहरुले निरन्तर अपडेट गराएकै थिए । त्यसो त झण्डै एक वर्षसम्म चल्ने अमेरिकी चुनावी अभियान र टेलिभिजन बहसका कारण पनि त्यहाँको चुनावले विश्वव्यापी चर्चा पाउने गरेको छ । ट्रम्पले आफ्ना प्रतिद्वन्द्वी डेमोक्रेटिक पार्टीकी नेतृ तथा पूर्व विदेशमन्त्री हिलारी क्लिन्टनलाई पराजित गरेका हुन् । उनको विजयीसँगै अहिले विश्वव्यापी रुपमा यो चुनावी नतिजालाई अप्रत्यासित मानिएको छ ।


त्यसो त चुनावी अभियानका क्रममा रिपब्लिकन पार्टीबाट उम्मेदवार बनेका अर्बपति व्यापारी ट्रम्पको असंगत र आक्रोशपूर्ण भाषण अनि महिला तथा अल्पसंख्यकहरुप्रतिको उनको अरुचिपूर्ण अभिव्यक्ति किनकै आलोच्य बनेको थियो । उनको रुष्ट व्यवहार पार्टीपंक्ति बाहिर मात्र होइन उनकै पार्टीभित्र पनि आलोचनाको विषय बन्न पुग्दा उनका पार्टीका कतिपय सिनियर लिडरहरु उनको चुनावी अभियानमा सहभागि नभएका भन्ने पनि समाचारहरु आएका थिए । अनि चुनावी मतसर्वेक्षणहरुले पनि हिलारीकै ह्वाइट हाउस यात्राको अनुमान लगाएका थिए । त्यसैगरी अमिरिकाकै मूलधारका मिडियाहरुले पनि ट्रम्पप्रति भर परेका थिएनन् र उनलाई त्यतिधेरै स्थान दिइएको थिएन । एक हिसाबले भन्दा समग्रमा हिलारीलाई नै संभावित अमेरिकी राष्ट्रपति मानिएको थियो । फेरि अमेरिकाकै इतिहासमा प्रथम महिला राष्ट्रपतिको रुपमा पनि हिलारीको आगमनलाई आंकलन गरिएको थियो । तर, यी सबै अनुमान र विश्लेषणहरुलाई हावा खुवाउँदै ट्रम्पले ह्वाइटहाउसको यात्रा गरेका छन् ।

मनिकरण कार्की 'निवर्तमान'

उनको विजयले अमेरिकी मुस्लिम समुदायमा एक प्रकारको अन्यौलता सिर्जना गरेको तर्क गर्दै प्रोफेसर खालिद ए वेडावन अलजजिलरा अनलाईनमा लेख्छन्- ‘डर र त्रासको वातावरण दृष्टिगोचर हुँदैन । युवाहरु कराइरहेका छन् र उनीहरु प्रार्थना गरिरहेका छन् । भोलिको अवस्था अन्यौलग्रस्त र धमिलो देखिन्छ । र, भोलिका दिनमा अमेरिकी र मुस्लिम समुदायलाई एकतामा बाँध्ने सुत्र त्यत्ति बलियो देखिएको छैन ।’ (अलजजिरा डट कम) कतिपय उग्र राष्ट्रवादीहरुको तर्क के पनि रहेको छ भने ट्रम्पको विजयको एकमात्र सुत्र आप्रवासन नीतिमा उनले अवलम्बन गर्न संकेत गरेको कडा कदम नै हो । अन्ततः त्यो कदमले अमेरिकी मूलका समुदायहरुको हित गर्नेछ र विशेषगरी मेक्सिकोसँगको सीमानामा पर्खाल लगाउने उनको भाषण पनि विजयको एउटा कारण मान्दछन् ।
खासगरी अल्पसंख्यक मुस्लिम समुदायप्रति उनी रुखो बन्ने आशंका गरिएको छ । उनको चुनावी अभियानमा पनि प्रतिष्ठित मुस्लिम समुदायका व्यक्तिहरु संलग्न नहुनु र उनले मुस्लिम समुदायका मानिसहरुलाई अमेरिका प्रवेशमै पनि अस्थायी प्रतिबन्ध लगाउनुपर्ने जस्ता विवादास्पद भाषणका कारण पनि उनी अल्पसंख्यक मुस्लिम र श्याम वर्णका मानिसहरुप्रति अनुदार देखिनसक्ने अनुमान गरिएको छ । अनि उनले आफ्नो प्रशासन पनि त्यही ढंगबाट सेट गर्ने र त्यसले उनको चुनावी नारालाई नै संस्थागत गर्ने संभावना बढी छ ।
अलजजिरा सम्बद्ध पत्रकार लोनी इशाबेल लेख्छन् –‘अब के हुन्छ ? हामीले ट्रम्पकै शब्द सापट लिनुपर्छ । अब उनी ल्याटिन अमेरिकीहरुलाई प्रवेश निषेध गर्नका लागि एउटा ठूलो पर्खाल लगाउनेछन् । अनि सबै मुस्लिमहरुलाई संभव नभए पनि मुस्लिम राष्ट्रहरुबाट कुनैपनि शरणार्थीलाई अमेरिका आउन प्रतिबन्ध लगाउनेछन् । उनी अब गोरा र अन्य समुदायबीचको फड्केलाई उतारिदिनेछन् । हो, उनी त्यही हुन् र त्यसै गर्नेछन् ।’ (अलजजिरा डट कम)

अन्तर्राष्टिय सञ्चार माध्यमहरुमा आएका जनआवाज हेर्दा र सुन्दा अमेरिकीहरु स्पष्ट रुपमा विभाजित भएझैं देखिन्छ । ट्रम्पका समर्थकहरु उनले अमेरिकालाई नयाँ उचाईमा लैजाने र उनले दिएको नारा जस्तो अमेरिकालाई पुनः एकपटक महान बनाउने कुरामा विश्वास गर्दछन् । उनीहरुलाई उनले आफ्नो चामत्कारिक योजना लागू गर्नेछन् र अमेरिकीहरुको बृहत्तर हितको लागि काम गर्नेछन् भन्ने कुरामा विश्वास गर्दछन् । अर्कोतिर विशेषगरी अफ्रिकन अमेरिकी समुदायका मानिसहरुमा भने उनले अल्पसंख्यकहरुको हक हित र संरक्षणको मुद्दालाई कसरी सम्बोधन गर्नेछन् र गोरा अमेरिकी र अन्य समुदायका मानिसहरुबिच सद्भाव र सौहार्दता स्थापित गर्नेछन् भन्ने कुरामा सशंकित देखिएका छन् । उनीहरुको विश्वास छ, सबै अमेरिकीहरुले जेजसरी पूर्ववतः रुपमा काम गरिरहेका थिए र छन् त्यसैलाई निरन्तरता दिन पाउनुपर्छ ।
यदि उनलाई लिंगीय रुपमा महिला भएकैले उनको उम्मेदवारीलाई उत्कृष्ट मान्ने हो भने एउटा कुरा हो नत्र भने हिलारी खासमा अमेरिकी संस्थापनकै पुरानो अनुहार हो । त्यो मानेमा त बरु ट्रम्प नै वैकल्पिक अनुहार हो भन्न सकिन्छ ।
ट्रम्पको विजयको केही कारणहरु मध्ये एउटा राष्ट्रवादको नारा पनि हो भन्ने तर्क गर्दै बाबुराम विश्वकर्मा ब्लग लेख्छन्, ‘उनले अमेरिकाको राष्ट्रिय स्वार्थ र हितमै आफ्नो चुनावी अभियान केन्द्रित गरे र अमेरिकी नागरिकलाई ढाडस दिए । ट्रम्पको सफलताको मुख्य कारण यही हो । हुन पनि हरेक देशले आफ्नो देशको हितलाई केन्द्रमा राख्ने हो । त्यसमा हिलारीभन्दा धेरै अघि छन् ट्रम्प । राष्ट्रवादको नारा संसारमै बिकाउ छ । नेपालमा केपी ओली, भारतमा नरेन्द्र मोदी अनि अमेरिकामा डोनल्ड ट्रम्प यी राष्ट्रवादकै उपज हुन् । अहिले भएको यही हो ।’ (ईकान्तिपुर डटकम) त्यसो त चुनावी अभियानका क्रममा ट्रम्पले चर्को अमेरिकी राष्ट्रवादका कुरा गरेका हुन् । त्यही चर्को राष्ट्रवादको नारा नै बिक्री भएको हो भने त्यसले अमेरिकी जनतालाई भोलिका दिनमा पछुतो लाग्न पनि सक्छ ।
जसरी चर्को राष्ट्रवादी बन्ने क्रममा युरोपियन युनियनबाट छुट्टिने निर्णय गरेका लाखौं बेलायती नागरिकहरुले पछि पछुतो मान्दै फेरि जनमत संग्रहको माग गरेका थिए । यदि भावावेशमा यो निर्णय गरिएको हो र अनुमान गरिए अनुसार ट्रम्पले आफ्नो प्रशासनमार्फत अल्पसंख्यक समुदायप्रति गर्ने उपेक्षापूर्ण व्यवहारले पक्कै पनि अमेरिकी जनतामा असन्तुष्टि जगाउनेछ र त्यसले फेरि एकखालको राजनीतिक बदलावको माग गर्नेछ । तालेबानले समेत आग्रहपूर्ण विज्ञप्ती जारी गर्दै अरु देशको स्वतन्त्रता हनन् हुने कुनै पनि गतिविधि नगर्न नवनिर्वाचित अमेरिकी राष्ट्रपति ट्रम्पलाई आग्रह गरेको छ ।
ट्रम्पको विजयीले खासमा विश्वव्यापी रुपमा सनसनी फैलिएको छ । किनकि धेरैले उनलाई ‘निर्दयी मूर्ख’ ठान्छन् भने कतिपयले चाहिं माथि नै भनिएजस्तो चरम् ‘राष्ट्रवादी’ पनि । जेहोस् एकपटक जनताले अभिमत दिइसकेपछि अब निसन्देह उनको कार्यकाल अघि बढ्नेछ र भोलिका दिनमा उनले कस्तो आन्तरिक नीति र बाह्य नीति अख्तियार गर्नेछन् ? त्यसैमा उनको राजनीतिक करिअर बन्ने वा भत्कने निर्णित हुनेछ । त्यसो त चुनावी पराजयलाई स्वीकार गरेर केही समय ट्रम्पको कार्यकाल शुरु हुन नपाउँदै अमेरिकामै उनको विरुद्ध राजनीतिक र्यालीहरु सुरु हुन थालेका छन् । र, त्यस्तो प्रदर्शन हिंसात्मक पनि बनेको छ । तथापि यसलाई पराजयको पीडाकै रुपमा व्याख्या गर्दा सहज हुनेछ । किनकि राष्ट्रपतिको हैसियतमा बसेर काम सुरु नगर्दैै अनुमानकै भरमा ट्रम्पलाई निषेध गर्न खोज्नु राजनीतिक संस्कार विपरित हुन जान्छ ।
जहाँसम्म हिलारीको पराजयको प्रश्न छ, खासमा हिलारी क्लिन्टन कुनै नयाँ अनुहार पनि होइन । यदि उनलाई लिंगीय रुपमा महिला भएकैले उनको उम्मेदवारीलाई उत्कृष्ट मान्ने हो भने एउटा कुरा हो नत्र भने हिलारी खासमा अमेरिकी संस्थापनकै पुरानो अनुहार हो । त्यो मानेमा त बरु ट्रम्प नै वैकल्पिक अनुहार हो भन्न सकिन्छ । हिलारीको पार्टीका निवर्तमान राष्ट्रपति बाराक ओबामा प्रशासनले दुई कार्यकाल अर्थात् ८ वर्ष अमेरिका र प्रकारान्तरले विश्वकै नेतृत्व गरेकै हो । तर, उनकै कार्यकालमा इराकयुद्धको जटिलता बढेर गयो अनि त्यही अवधिमा अनावश्यक रुपमा मध्येएशिया र उत्तरी अफ्रिकामा युद्धहरु चर्किए । अमेरिकी प्रत्यक्ष हस्तक्षप बढ्दै गयो ।
उनले राजनीतिमा सफलता हासिल गर्न नसक्नुका दृष्टान्तहरु यिनै हुन् । अनि त्यसमाथि लामो समयदेखि कुनै न कुनै रुपमा सत्ताको वरिपरी नै रहेकी हिलारीसँग केही पपुलिष्ट कार्यक्रम र महिला अधिकारका सवालमा केही कुरा गर्ने बाहेक खासमा उनीसँग नयाँ भिजन नभएकै हो । शायद त्यसैले उनलाई अमेरिकीहरुले मन पराएनन् । सारमा भन्नुपर्दा हिलारीको उम्मेदवारीमा नयाँपन भन्दा पनि पुरानै संस्थापन र सत्ताको निरन्तरता बढी थियो । शायद हरेह ८/१० वर्षमा परिवर्तन चाहने अमेरिकीहरुले ट्रम्पमा त्यो संभाव्यता देखे ।
यदि दूर्भाग्यपूर्ण तरिकाले अमेरिकी प्रशासनले आप्रवासीहरुलाई फर्काउने नीति नै लिएछ भने पनि हामीले आफ्नै मुलुकमा योगदान दिनुपर्ने रहेछ भन्ने कुराको कम्तीमा आभास हुनेछ ।
जहाँसम्म नेपालको प्रसंग छ, मेरो अभिमत के हो भने अमेरिकामा को निर्वाचित हुन्छ, त्यसले प्रत्यक्ष रुपमा नेपाललाई फरक पार्नेछैन । हो, उनले लिने आप्रवासन सम्बन्धी नीतिका कारण भने त्यहाँ रहेका गैरआवासीय नेपालीहरुलाई केही असर पर्न सक्छ । अनि हामीलाई दिने प्रत्यक्ष दान दातव्यमा केही असर पर्ला । तर, यी सबै कुरा उनले कस्तो नीति अख्तियार गर्नेछन् त्यसैमा निर्भर रहन्छ । यसर्थ, अहिले नै हामी अनावश्यक रुपमा आत्तिने र सशंकित हुन जरुरी छैन । फेरि कुनै पनि मुलुक आन्तरिक श्रमशक्तिको प्रयोग नगरीकन समृद्ध बन्न सक्दैन । अमेरिका पनि त्यसै अमेरिका बनेको त पक्कै पनि होइन । अनि प्रवासी नेपालीहरुले पनि त आफ्नो मुलुकको विकास र समृद्धिका लागि मुलुकमै बसेर योगदान गर्नुपर्दैन ? यदि दूर्भाग्यपूर्ण तरिकाले अमेरिकी प्रशासनले आप्रवासीहरुलाई फर्काउने नीति नै लिएछ भने पनि हामीले आफ्नै मुलुकमा योगदान दिनुपर्ने रहेछ भन्ने कुराको कम्तीमा आभास हुनेछ ।
यदि ट्रम्पको यो विजयीको तरंगलाई सकारात्मक रुपमा लिने हो भने उनले चुनावी भाषणमा भनेजस्तो उनको ‘आफ्नै अमेरिकालाई महान् बनाउने’ संकेतले कम्तीमा विश्वव्यापी रुपमा अमेरिकाले गरिरहेको अन्तरदेशीय हस्तक्षेप कम गर्ने संकेत पनि हुनसक्छ । अब ‘विश्वको छाडौं अमेरिकाकै चिन्ता गरौं’ भन्ने उनको आग्रहभित्र अमेरिकाको विदेशी नीतिमा खुकुलोपन आउने र त्यसले आफ्नै मुलुकको समृद्धि र परिवर्तनमा केन्द्रीत हुनुपर्छ भन्ने आशयको अभिव्यक्ति पो हो कि ? अब कस्तो अमेरिका बनाउने भन्ने निर्णय गर्ने अधिकार त अमेरिकीहरुलाई नै छ नि ।
Published on http://www.sajhapost.com

No comments:

Post a Comment

‘वैकल्पिक राजनीति’को कार्यभार

मनिकर कार्की निवर्तमान करिब पच्चीस सय वर्षअघि गौतमबुद्धले भनेका थिए – ‘दुःख छ । दुःखको कारण छ । दुःखको निवारण छ । ज्ञान, शील र समाधीको ...