बुटवल र लेखनयात्रा

अनुभूति 

मनिकर कार्की निवर्तमान


ठ्याक्कै १ वर्ष अघि मैले बुटवल आगमनको पहिलो एपिसोड सार्वजनिक गरेको थिएँ, जसमा यस दैनिकपत्र दैनिकको कार्यकारी भूमिका छाडेर नयाँ भूमिकामा प्रवेश गरेको सन्दर्भलाई उल्लेख गरिएको थियो । हो म वित्तीय क्षेत्रबाट लेखनमा आएको मान्छे थिएँ, दैनिकपत्रमा तीनवर्ष प्रत्यक्ष कार्यकारी भूमिकामा बसेर काम गरेपछि म पुनः वित्तीय क्षेत्रमा प्रवेश गर्देथिएँ । धेरै उत्साह थियो, धेरै जोश अनि जाँगर पनि । फेरि सबैभन्दा रमाइलो कुरा त आफैंले संस्था स्थापनाको लागि पहल गरेको हुनाले वित्तीय संस्थाको कार्यकारी भूमिकामा जानको लागि एउटा वातावरण पनि बनेकै थियो । धेरै सहयात्री साथीहरुको सुरुदेखिकै अपेक्षा पनि त्यही थियो । हो, म दैनिकपत्रको प्रमुख सञ्चालन अधिकृतको जिम्मेवारी छाडेर चौतारी लघुवित्त वित्तीय संस्थामा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्न पुगेँ ।
म रामेछापबाट काठमाण्डूहुँदै बुटवल झरेको एउटा केटो, जसले केवल ५ वर्ष वित्तीय संस्थामा काम गरेको अनुभवबाट आकांक्षी (महत्वकांक्षी ?) भएर वित्तीय संस्था खोल्ने कसरत गर्यो । 
त्यसो त चौतारी लघुवित्त वित्तीय संस्थालाई जन्माउनको लागि दैनिकपत्रले अफिसियल रुपमै सहयोग गरेको हो । मैले त्यहीं रहेर चौतारीका धेरै कामहरु गरेको हो । फेरि लघुवित्त मेरो एउटा सपना पनि थियो । त्यसअघि करिब तीन वर्ष बुटवलमै लघुवित्त खोल्नका लागि कसरत गरेको मान्छे पनि हो म । लघुवित्त खोल्नको लागि भन्दै ९० जनाको टिमले मलाई विश्वास गरेर निकै ठूलो गुन लगाएको थियो । म रामेछापबाट काठमाण्डूहुँदै बुटवल झरेको एउटा केटो, जसले केवल ५ वर्ष वित्तीय संस्थामा काम गरेको अनुभवबाट आकांक्षी (महत्वकांक्षी ?) भएर वित्तीय संस्था खोल्ने कसरत गर्यो । उमेरले भर्खरै गधापच्चिसी काटेको अनि हरेक क्षणमा अवसर अनि स्थायित्वको खोजी  गर्ने बेलामा वित्तीय संस्थाको जागिर छाडेर आफ्नै नेतृत्वमा लघुवित्त वित्तीय संस्था खोल्न गरेको कसरत शायद दुस्साहस थियो । हो, हामीले त्यही दुस्साहसपूर्ण कसरत गर्यौं र मैले आफ्नो युवावयको तीन वर्ष त्यसैको कसरतमा बिताइदिएँ ।

त्यसो त केटौले उमेरमै एउटा वित्तीय संस्थाको अधिकृतको जागिरे थिएँ, राम्रै थियो । गुजारा चलेकै थियो । तर, वित्तीय संस्थाको जागिरमै सीमित भएर बस्न हुँदैन भन्ने सोच पलायो । फेरि त्यो बेला मुलुकमा परिवर्तनको श्रृंखलाको सुरुवात भएको थियो, लाग्दथ्यो हामी युवाले केही न केही गर्नैपर्छ र छिट्टै नै मुलुकमा कायाकल्प हुनेछ । अनि केटौले उमेरको जोशिलो बुझाइ थियो, वित्तीय संस्थाको जागिरले आर्थिक सुनिश्चितता त गर्छ तर त्यसले समाजसँग प्रत्यक्ष अन्तरक्रिया गर्न सकिंदैन । समाज र मुलुक बुझ्न सकिँदैन । जब समाज बुझ्न सकिन्न हामीले गरेको कामको कुनै अर्थ रहँदैन । फेरि युवावयमै लेखनको भूत सवार भयो । अनि वित्तीय संस्थाको सीमित र परिभाषित दायराभित्र बसेर लेख्न पक्कै पनि सहज महशुस भएन । फेरि देशको भूगोल र समाजसँग प्रत्यक्ष संवाद गरेर लेख्नको लागि त्यो जागिरको चौघेरा साँघुरो हुने नै भयो । अनि वित्तीय संस्थाको सीमित दायराभित्र बसरे न त व्यक्तित्वको विकास हुनसक्छ न त लेखन कर्मलाई उदात्त बनाउन सकिन्छ भनेर पेशेवर भएर लेख्न अनि समाजमा विचरण गर्नकै लागि वित्तीय संस्था छाडेर बसेको थिएँ ।

त्यही खाली समयमा विभिन्न व्यक्तिहरुसँग विस्तार भएको सम्पर्क, विस्तारै मुलुकमा लघुवित्त वित्तीय संस्थाको पहुँच विस्तारको अभियान, जनस्तरमा पनि लघुवित्तप्रतिको बढ्दै गएको आकर्षण अनि आफैं केही गर्नुपर्छ भन्ने अमूर्त भावनात्मक संवेगले लघुवित्त खोल्ने निश्कर्षमा पुगिएको थियो । र, झोला बोकेर लघुवित्त खोल्ने अभियानमा लागियो । हाम्रो दूर्भाग्य भनौं या कमजोरी त्यो बेला वित्तीय प्रणालीमा आएको गडबढी कारण नियमनकारी निकायबाट इजाजतपत्र दिने क्रममा केही हतोत्साही गर्ने काम हुन गयो र हाम्रो लघुवित्त खोल्ने सपनामा अल्पविराम लाग्यो ।
हाम्रो दूर्भाग्य भनौं या कमजोरी त्यो बेला वित्तीय प्रणालीमा आएको गडबढी कारण नियमनकारी निकायबाट इजाजतपत्र दिने क्रममा केही हतोत्साही गर्ने काम हुन गयो र हाम्रो लघुवित्त खोल्ने सपनामा अल्पविराम लाग्यो । 
वित्तीय संस्थाको जागिर छाडेको यो अवधिमा एउटै सपना बनेको थियो, लघुवित्त खोल्ने । तर, त्यो सपनामा अल्पविराम लागेपछि अलिकति सेट ब्याक भइयो । अब फेरि केही वर्ष खर्च गर्नसक्ने अवस्था रहेन । जागिर छाडेसँगै आर्थिक उपार्जन ठप्प भएको थियो अनि भएको बचतले पनि धेरै वर्षहरु धकेल्न सक्ने परिस्थिति थिएन ।  अब विस्तारै आर्थिक दुर्दिन सुरु हुने संकेत प्रस्ट देखिन थालेपछि लघुवित्तको लेठोलाई पूर्णविराम लगाइदिएर आर्थिक सुनिश्चिताका लागि अध्यापन सुरु भयो । अध्यापनले जिविका धान्न सजिलो भयो र अन्य समय लेखनमै बित्यो । अनि यहि समयमा बुटवलमै एउटा नयाँ दैनिक अखबार सैनामैना दैनिक दर्ता गरी प्रकाशन सुरु गरियो । सुरुका केही महिना नयाँ जोशका साथ काम पनि गरियो । तर, त्यो जोश कायमै रहन सकेन । पत्रिका संचालनमा दीर्घकालीन सोच अनि त्यसै अनुसारका स्रोत साधनको पहिचान र व्यवस्थापन हुन नसक्दा त्यसैमा निरन्तर जोडिन सक्ने संभावना रहेन । अनि जिविकाकै सिलसिला जोड्दै सुरु भयो यसै दैनिकसँगको पूर्णकालीन आबद्धता । यसैको प्रकाशन संस्था बुटवल मिडिया प्रकाशन प्रा.लि.ले पत्रिकाको व्यवस्थापन हेर्ने जिम्मेवारी दियो ।

दैनिकपत्रसँगको आवद्धताले एकातिर मिडिया व्यवस्थापनको विषयमा पनि प्रयोगात्मक ज्ञान हासिल भयो र अर्कातिर  स्वतन्त्र रुपमा लेखन कर्मलाई निर्वाध अघि बढाउने अवसर मिल्यो । खासमा दैनिकपत्रसँगको आवद्धता मेरो लागि मुलुकको अर्थराजनीति बुझ्ने एउटा अवसर पनि भयो । किनकि पत्रिकाको काम स्वभावैले वित्तीय क्षेत्रको भन्दा खुल्ला र लचक हुन्थ्यो । त्यसैले दैनिकपत्रसँगको प्रत्यक्ष आवद्धता मेरा लागि मुलुकको पत्रकारिता र मिडिया व्यवस्थापनका अन्तरवस्तुहरुको बारेमा राम्रोसँग अध्ययन गर्ने थलो पनि बन्न पुग्यो जहाँ मैले यी विषयहरुमा प्रयोगात्मक ज्ञान हासिल गर्न सफल भएँ । साथै यो अवधिमा मैले आफ्नो लेखनलाई पनि स्वतन्त्र र निर्भिक ढंगबाट अघि बढाउन सकें ।

यो दैनिकपत्रमै रहँदाको कुरा हो, एकदिन बुटवलकै युवा व्यवसायी जगत पोखरेलले लघुवित्त खोल्ने योजना सुनाए । त्यसबेला उनी तत्कालीन पश्चिमाञ्चल ग्रामीण विकास बैंकको अध्यक्ष थिए । म त्यस्तै संस्था खोल्नका लागि लामो समय कसरत गरेर पनि थाकेको व्यक्ति भएकोले मैले सुरुका दिनमा उनको कुराप्रति त्यतिधेरै खासै चासो देखाइँन । तर, हाम्रो पटकपटकको भेटमा एउटा नमूना लघुवित्त वित्तीय संस्था चलाउने कुरा चल्न थाल्यो र उनी एक्सन ओरिएन्टेड भएरै काम गर्नेछन् भन्ने सोचेर मैले लघुवित्त खोल्ने काममा साथ दिने निश्कर्षमा पुगेँ र फेरि सुरु भयो अवसान भएको सपनाको पुनरावृत्ति । अर्थात्, चौतारी लघुवित्त खोल्ने कसरत । चौतारीको दर्ता र संचालनको अवधिमा झण्डै दुई वर्ष समय खर्च भयो । यो अवधिमा मैले इमान्दारसाथ भन्नुपर्दा दैनिकपत्रले निकै गुन गरेको छ, किनकि त्यो जति पनि समय मैले प्रयोग गरेँ, दैनिकपत्रमै हुँदाको समय थियो ।

आज भन्दा ठीक एक वर्ष अघि पत्रिकाको १२ औं वर्ष प्रवेशको अवसरमा यसै दैनिकमा अनुभूतिजन्य सामग्री लेख्दा म यो अखबारको व्यवस्थापकीय कर्मबाट विदा भएर फेरि वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत भएर जाँदैथिएँ । आज ठीक एकवर्ष पछि फेरि १३ औं वर्ष प्रवेशको अवसरमा अर्को अनुभूति लेख्दै गर्दा पुनः लघुवित्त वित्तीय संस्थाको कार्यकारी जिम्मेवारीबाट मुक्त भएर एक स्वतन्त्र र उन्मुक्त पन्छी जसरी डुलिरहेको छ । यो अनुभूति लेखनको एक वर्षको अन्तराल मेरो लागि निकै उतारचढावयुक्त भयो । यही अवधिमा एउटा पुरानो सपनालाई ब्युँताएर वास्तविकतामा परिणत भयो, अनि यहि अवधिमा त्यो सपनाको साकार रुप छाडेर फेरि अदृष्य सपनाहरुको खोजीमा हिंडिरहेको छु । आज म आजाद पन्छीझैं डुलिरहँदा मसँग कुनै प्रकारको व्यवसायिक एवं पेशागत जिम्मेवारी छैन ।
 तर, दुःख छ हामीलाई किनकि हामीले त्यस्तो उन्मुक्त जिन्दगी सधैं जिउन सक्दैनौं । व्यक्तिगत, पारिवारिक, सामाजिक अनि राष्ट्रिय उत्पादनसम्बन्धको जटिलताले त्यसो गर्न दिंदैन हामीलाई । 
विदेशी विश्वविद्यालयका कोर्सहरु अध्यापन गराउने बुटवलकै एक कलेजका प्रिन्सिपल मेरा अत्यन्तै आत्मीय मित्र संजीव भण्डारीले एकदिन फेसबुकमा एउटा स्टाटस लेखेका थिए,  ‘जिम्मेवारी भन्ने चिज पनि गजब रहेछ, जिन्दगीमा केहीसँग नडराउनेलाई पनि डराउने बनाउँदो रहेछ ।’ अहिले उनकै त्यो अभिव्यक्तिसँग आफूलाई दाँजिरहेको छु, जब जिम्मेवारीबाट मुक्त भइन्छ साँच्चिकै जिन्दगी त्यसबेला जिईंदोरहेछ । तर, दुःख छ हामीलाई किनकि हामीले त्यस्तो उन्मुक्त जिन्दगी सधैं जिउन सक्दैनौं । व्यक्तिगत, पारिवारिक, सामाजिक अनि राष्ट्रिय उत्पादनसम्बन्धको जटिलताले त्यसो गर्न दिंदैन हामीलाई ।

तर पनि जीवनमा सकेको त्याग गर्दै आइयो । आज यो पंक्ति तयार गर्दैगर्दा यो अखबार १३ औं वर्ष प्रवेश गर्दै छ । यसको उमेरको आधाभन्दा बढी समयदेखि म पनि कुनै न कुनै रुपमा यो पत्रिकासँग जोडिएको छु र आज मेरो लेखनलाई यही अखबारले तिखार्ने काम गर्यो भन्दा निकै गर्व लागेको छ । वित्तीय संस्थाको जागिर छाडेर मिडियातिर लाग्ने थोरै व्यक्तिहरु मध्ये म पनि एक हुँ शायद । मलाई मिडियातिर आकर्षिक गरेको मेरो लेखनले नै हो । अनि लेखन पनि एउटा अविराम यात्रा हो । अहिले म त्यही यात्रामा छु भनौं । त्यसो त निरन्तरको खोजी नै जीवनको लक्ष्य हो र हुनुपर्छ । हो, म पनि शायद त्यही लक्ष्यको खोजीमा छु । मुलुकको आर्थिक विकास, प्रगति र समृद्धिको लक्ष्य । आशा गरौं त्यो लक्ष्य हाम्रो आफ्नै जीवनकालमा हासिल हुनेछ ।

Published on Dainikpatra Daily on 11.08.2073 

No comments:

Post a Comment

‘वैकल्पिक राजनीति’को कार्यभार

मनिकर कार्की निवर्तमान करिब पच्चीस सय वर्षअघि गौतमबुद्धले भनेका थिए – ‘दुःख छ । दुःखको कारण छ । दुःखको निवारण छ । ज्ञान, शील र समाधीको ...