झिल्टुङ साहित्य यात्रा

मनिकर कार्की निवर्तमान 

तिहारको मुखैमा नुवाकोट जाने अवसर मिल्यो । नुवाकोटको झिल्टुङ, दुई पिपलस्थित महाकवि देवकोटा साहित्य प्रतिष्ठानले लक्ष्मी प्रसाद देवकोटाको जन्मजयन्तीको अवसरमा साहित्यिक कार्यक्रमको आयोजना गरेको रहेछ । प्रत्येक वर्ष तिहारताक देवकोटाको जन्मजयन्तीको अवसरमा गरिने सो कार्यक्रममा राजधानीबाट राष्ट्रियस्तरका ख्यातीप्राप्त साहित्यकारहरुलाई अतिथीको रुपमा बोलाउने गरिएको रहेछ ।
अनि अतिथी व्यवस्थापनको चाँजोपाँजो मिलाउने काममा खट्ने मित्र चाहिं प्रतिष्ठानकै पदाधिकारी होचा कदका जोशिला मित्र ज्वालामुखी लामिछाने रहेछन् । उनीसँग झिल्टुङ, लामाचौरस्थित उनकै घरमा परिचयभ यो । यस वर्षभने निम्तालुको रुपमा साहित्यकार एवं समालोचक निनु चापागाईं, कवि स्नेह सायमी एवं अनिल शर्मा विरही, विश्लेषक युग पाठक, पत्रकार नरेश ज्ञवालीले सहभागिता जनाएका थिए । अनि कार्यक्रममा मित्र नरेश ज्ञवालीले यो पंक्तिकारलाई पनि लिएर गएका हुनाले पंक्तिकारको पनि सहभागिता रह्यो । गाउँमै बसरे साहित्य सिर्जना अनि इतिहासको अध्ययनमा अनवरत लागिरहेका मित्र ज्वालामुखीको निमन्त्रणामा काठमाण्डूबाट हाम्रो झिल्टुङ साहित्य यात्रा सुरु भएको थियो ।

हाम्रो उद्देश्य कार्यक्रममा सहभागिता जनाइसकेपछि त्यतैबाट केही दिन नुवाकोट र रसुवा भ्रमण गर्ने थियो । त्यसै योजना अनुरुप चारजनाको तिहारयात्राको पहिलो शृंखलास्वरुप झिल्टुङसम्मको मोटरसाइकल यात्रा भएको थियो । काठमाण्डूबाट झिल्टुङको लागि यात्रा सुरु गर्दा मध्यान्हको त्यस्तै साँढे दुई बजिसकेको थियो । दुईवटा मोटरसाइकलमा सवार थियौं युग पाठक, पाठक पुत्र इशान, मित्र नरेश ज्ञवाली र यो पंक्तिकार । कलंकी–थानकोट सडकखण्डको उबडखाबड सडकमा उड्ने धुलो छल्नैका लागि हामीले कलंकीबाट सिधै नागढुंगा पुग्ने भित्री बाटो प्रयोग गरेर हामी सिधै नागढुंगा पुग्यौं । जसै नागढुंगाबाट ओरालो लागियो अनुमान गरिए अनुसार सडकमा सवारीको चाप थिएन ।
गाउँमै बसरे साहित्य सिर्जना अनि इतिहासको अध्ययनमा अनवरत लागिरहेका मित्र ज्वालामुखीको निमन्त्रणामा काठमाण्डूबाट हाम्रो झिल्टुङ साहित्य यात्रा सुरु भएको थियो । 
शायद अपरान्हको समय भएकाले उपत्यका भित्रिने र बाहिरिने सवारी साधनहरुको समय नभइसकेकोले सडकमा सवारी चाप कम थियो । त्यसैले हाम्रो यात्रा सहजै गल्छी पुग्यो, गल्छीमा चियाको तलतल मेटाउने प्रयास स्वरुप एकाध ठाउँमा चिया सोधियो तर, चिया पिउन पाइएन । कतिपय ठाउँबाट ‘चिया होइन सिया मात्रै पाइन्छ’ भन्ने उत्तर पनि आयो । त्यसो त अहिले गाउँघरतिरका बजारउन्मुख स्थानहरुमा चिया चमेना होइन रक्सीमासुकै व्यापार बढी हुने रहेछ । कतिपय स्थानहरुमा चिया सोध्दा हाँस्ने गरेको समेत अनुभव छ । बजारले जे माग्छ, शायद उनीहरुले पनि त्यसैको व्यापार गर्दा हुन् ।
हामी गल्छीबाट पारि लाग्यौं र केही मिनेटमै नुवाकोटको कोल्पुटार पुग्यौं । त्रिसुलीको किनारमै रहेको कोल्पुटारको उकालो मोडमा रहेको एउटा चिया पसलमा चियाको तलतल मेटायौं र उकालो चढ्यौं ।

 कोल्पुटारबाट कच्ची सडकहुँदै हामी उकालो लाग्यौं । झण्डै आधा घन्टामा झिल्टङु पुग्दा सूर्यास्त हुँदै थियो । झिल्टुङबाट देखिने सूर्यास्तको शानदार दृष्यको दृष्यपानसँगै हामी गन्तब्यमा पुग्यौं । गन्तब्यमा हाम्रो स्वागतमा उत्रिए, उनै होचो कदका जोशिला मित्र ज्वालामुखी लामिछाने । काठमाण्डूबाट कार्यक्रमका अतिथीहरु हामीभन्दा अगाडि नै पुगिसकेका थिए, सबैसँग चिनापर्ची भयो र हामी धेरैबेरसम्म गफ्फियौं । बेलुका मित्र ज्वालामुखीकै आतिथ्यतामा खानपिन भयो र भूकम्प पीडित उनकै अस्थायी टहरोमा रात बितायौं । नुवाकोट पनि भूकम्पबाट निकै क्षति भएको जिल्ला हो, दुई पिपल गाविसमा मात्रै भूकम्पका कारण १४ जनाको ज्यान गएको र अधिकांश घरहरु बस्न लायक नहुने गरी भत्किएको रहेछ ।

भोलिपल्ट बिहानै दुईपिपलस्थित कमारुदेवी उच्च मा.वि.को प्रांगणमा कार्यक्रम सुरु भयो । कार्यक्रममा लक्ष्मीप्रसाद देवकोटाको सम्झना गरियो र विद्यालयका विद्यार्थीहरुले आआफ्ना रचना वाचन गरे । नवोदित स्रष्टाहरुको रचना सुन्दा साँच्चिकै झिल्टुंगमा साहित्यको बिउ रोपिएको आभास हुन्थ्यो । तर, सबै जसो रचनाहरुमा उही पुरानै विषयवस्तु प्रतिध्वनित हुन जाँदा अलिक खिन्नपन महशुस भयोे । उही सरकार, नेता, राजनीतिप्रतिको वितृष्णा । वीर बलभद्र, अमरसिंह, पृथ्वीनारायण, भीमसेन आदिको वीरताको प्रशंसा । भृकुटी, तारा, बुद्ध आदिको गौरवगाथा र हिमाल, पहाड, झरना आदिको वर्णन अनि माया प्रेमका उही पुरानै कुरा । हो, नयाँ पुस्ताले सिर्जना गरेको साहित्यको विषयवस्तुमा भने कुनै नौलोपन देखिएको थिएन ।

सबै रचना सुनिसकेपछि विश्लेषक युग पाठकले कटाक्षपूर्ण शैलीमा रचनाको विषवस्तुमा नयाँपनको खोजी गर्नुपर्ने आवश्यकतालाई औंल्याउँदै भनेका थिए, ‘आजको साहित्य सिर्जनामा पनि २०÷२५ वर्षपहिलेकै विषयवस्तु किन ?’ उनको प्रश्न छ –‘सबैको जन्मजयन्ती व्यक्ति जन्मिएको मितिमा मनाउने तर, देवकोटाको चाहिं किन तिथिमा ?’ जहाँसम्म देवकोटाको जन्मजयन्तीको कुरा छ, उनी तिहारको लक्ष्मीपूजाको दिन जन्मिएका हुनाले उनको जन्मजयन्ती तिथिमा मनाउन थालियो । तिथिमा मनाउँदा उनको जन्मदिन प्रत्येक वर्ष फरकफरक मितिमा पर्न गयो । अनि सबैको जन्मदिन मितिमा मनाउने तर, उनको मात्रै किन तिथिमा ? के उनी लक्ष्मीपूजाकै दिन जन्मेकोले महान् भएका हुन् ? व्यक्ति जन्मले नै ठूलो मान्छे हुने हो कि उसले गरेको कर्मले ? यदि कर्मले हो भने जन्मकै आधारमा कोही कसैलाई देवत्वकरण किन गर्ने ? लक्ष्मीपूजाकै दिन देवकोटाको जन्मजयन्ती मनाउँदै गर्दा यसतर्फ किन प्रश्न गरिँदैन ?
वीर बलभद्र, अमरसिंह, पृथ्वीनारायण, भीमसेन आदिको वीरताको प्रशंसा । भृकुटी, तारा, बुद्ध आदिको गौरवगाथा र हिमाल, पहाड, झरना आदिको वर्णन अनि माया प्रेमका उही पुरानै कुरा । हो, नयाँ पुस्ताले सिर्जना गरेको साहित्यको विषयवस्तुमा भने कुनै नौलोपन देखिएको थिएन । 
हामीले संस्कार र संस्कृतिको रुपमा अवलम्बन गर्दै आएका यस्ता धेरै पारम्परिक, सामाजिक तथा सांस्कृतिक मान्यताहरुप्रति प्रश्न गर्न सकिन्छ । तर, त्यसको उत्तर कोही कसैसँग छैन । हुँदाहुँदा अहिलेको नयाँ पुस्ताले समेत यसमा प्रश्न गर्दैन । आखिर किन प्रश्न गरिँदैन ? कक्षा कोठामा शिक्षकले देवकोटा लक्ष्मीपूजाको दिन जन्मेका हुन् भनेर पढाउँंदै गर्दा विद्यार्थीले प्रश्न गर्न सक्नुपर्छ, सबैको जन्मदिन गतेमा हुन्छ त उनको मात्र किन तिथिमा भनेर ? तर, यहाँ प्रश्न नै बन्देज छ । शिक्षकले आफैं पनि आलोचनात्मक दृष्टिले सोचेको छैन भने कसरी प्रश्न गर्ने संस्कार सिकाउन सक्छ ? त्यसो त हाम्रो समाजमा कम बोल्ने प्रश्न र प्रतिप्रश्न नगर्ने केटाकेटीलाई असल र राम्रो अनि ज्ञानी मानिन्छ । अनि सानैदेखि केटाकेटीहरुलाई ‘ज्ञानी’ बन्न सिकाइन्छ, जिज्ञासु होइन । प्रश्न गर्न कहिल्यै सिकाइन्न । परिणामतः हामीले सामाजिक, सांस्कृतिक अनि धार्मिक मान्यताहरुको निकै ठूलो प्रतिमान खडा गरेका हुन्छौं र सबै त्यही प्रतिमानको पूजा गर्न थाल्छौं । अनि प्रतिमानको पूजा नै अमूल्य संस्कृति बनिदिन्छ ।

त्यहाँ जेजति विद्यार्थीहरुले रचना सुनाए, सबैको रचनामा उही पारम्परिक दृष्टिकोण र बिम्बहरुको प्रयोग भएको देखियो । ती सबै रचना सुन्दा लाग्यो हामीले कहिल्यै पनि आलोचनात्मक चेतको विकास गर्न सकेनौं । हामीले हाम्रा पाठशालाहरुमा किताब बढायौं अनि जेजसरी आफूले किताबी ज्ञान हासिल गरेका छौं, त्यसैगरी त्यही ज्ञान पढायौं । अहँ विद्यार्थीलाई कहिल्यै पनि तत्कालीन समाजको अन्तरविरोध अनि सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक अन्तरविरोधले निम्त्याएको परिणामको बारेमा सिकाएनौं । अनि पूर्ववतः हिमाल, पहाड, नदी, खोला झरनाको कविता लेख्न उत्प्रेरित मात्रै गर्यौं । बलभद्र, अमरसिंह, सीता, भृकुटी अनि पृथ्वीनारायणको गाथामै सीमित भयौं । हाम्रो मस्तिष्कले त्यो भन्दा बाहिर गएर प्रश्न गर्ने अनि आलोचनात्मक दृष्टिकोण पस्कनतिर कहिल्यै सोचेन । परिणामतः युग पाठकले भनेजस्तो हामी आज पनि त्यही तीन दसक पुराना विषयवस्तुमा साहित्य रचना गरिरहेका छौं । अनि हामीलाई आफ्नै अतीतको गाथा राम्रो लाग्छ, नकि भविष्यमुखी योजना ।

हामीले जसरी नयाँ पुस्तालाई शिक्षा दिएका छौं त्यो पुस्ताले पनि त्यसैगरी ज्ञान हासिल गर्ने हो । अहिलेसम्मको पुस्ताले आलोचनात्मक दृष्टिकोणको निर्माण गर्न सकेन । अनि हामीलाई पढाउने सिकाउने हाम्रा अग्रजहरुले जेजसरी पढाएका, सिकाएका छन् त्यसैलाई हामीले अनुशरण गरिरहेका छौं । हामीले आलोचनात्मक चेतका साथ हाम्रा मूल्य, मान्यता, रितिस्थिति र परिम्परामाथि कहिल्यै पनि प्रश्न गर्न सिकाएका छैनौं । अनि अघिल्लो पुस्ताले जेलाई राम्रो र सुन्दरताको मानक बनाएको छ, विद्यार्थीहरु पनि त्यसैलाई अकण्टक रुपमा अनुसरण गर्न बाध्य भएका छन् । अब कम्तीमा हामीले प्रश्न गर्न सक्नुपर्छ र नयाँ पुस्तालाई प्रश्न गर्न सिकाउनुपर्छ । तब वैकल्पिक संस्कार र संस्कृति निर्माणको प्रक्रिया सुरु हुनेछ ।
उता देवकोटाको जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रम भएको हुँदा कार्यक्रममा देवकोटाको कृतित्व र व्यक्तित्व माथि पनि केही प्रकाश पार्न र उनका नसुनिएका पाटोको बारेमा विश्लेषणात्मक अभिव्यक्ति दिंदै साहित्यकार निनु चापागाईंले मूलतः लक्ष्मीप्रसाद देवकोटा राजनीतिका कारण चर्चित भएको धारणा राखेका थिए । साथै उनको टिप्पणी थियो, देवकोटा अन्ततः सत्ताबाट प्राप्त हुने सबै प्रकारको अवसर प्रयोग गर्ने एकमात्रै साहित्य सर्जक हुन् यसर्थ उनको सिर्जनामा सत्ताकै संस्कृति प्रतिविम्बित हुनु अनौठो होइन । साथै त्यसबेला वनारसबाट प्रकाशित हुने युगवाणी पत्रिकाको सम्पादक पदले नै देवकोटालाई देवकोटा बनाएको उनको तर्क थियो ।
झिल्टुङको परिचय केवल देवकोटाले साहित्य सिर्जना गरेको स्थलको रुपमा मात्रै गर्ने होइन किन्तु त्यहाँको अन्य संभावनाहरुलाई पनि उजागर गर्दै नयाँ परिचयको खोजी गर्नु आवश्यक देखिन्छ । किनकि कसैसँग जोडिएर निर्माण हुने परिचयले केवल व्यक्तिको प्रतिमान खडा गर्ने संस्कृतिलाई मात्र मलजल गर्दछ ।
त्यसो त झिल्टुङमै बसेर देवकोटाले कुञ्जिनी खण्डकाव्यको रचना गरेका रहेछन् । त्यसैले नुवाकोटको झिल्टुङलाई चिनाउने स्थानीय युवाहरुको पहलस्वरुप प्रत्येक वर्ष देवकोटाको जन्मजयन्तीको अवसरमा त्यहाँ साहित्यिक कार्यक्रमको आयोजना गर्न लागिएको आयोजकले बताएका थिए । विगत ४÷५ वर्षदेखि काठमाण्डूबाट अतिथीहरु लगेर कार्यक्रम गरिंदै आएको रहेछ । आयोजक मित्र लामिछाने सुनाउँदै थिए– ‘झिल्टुङलाई कम्तीमा राष्ट्रियस्तरमा परिचित गराउने अभियानस्वरुप हामीले यस कार्यक्रमका थालनी गरेका हौं ।’ काठमाण्डूबाट त्यस्तै करिब ६० किलोमिटरको दूरीमा रहेको नुवाकोटको झिल्टुङलाई परिचित गराउने स्थानीय युवा साथीहरुको यो प्रयास निकै सराहनीय काम हो । तथापि जसरी त्यसलाई देवकोटाले साहित्य सिर्जना गरेको थलोकै रुपमा मात्रै परिचित गराउन खोज्ने हो भने त्यसले व्यक्तिको केवल देवत्वकरण मात्र गर्नेछ ।

यसर्थ, झिल्टुङको परिचय केवल देवकोटाले साहित्य सिर्जना गरेको स्थलको रुपमा मात्रै गर्ने होइन किन्तु त्यहाँको अन्य संभावनाहरुलाई पनि उजागर गर्दै नयाँ परिचयको खोजी गर्नु आवश्यक देखिन्छ । किनकि कसैसँग जोडिएर निर्माण हुने परिचयले केवल व्यक्तिको प्रतिमान खडा गर्ने संस्कृतिलाई मात्र मलजल गर्दछ । जहाँसम्म झिल्टुङको संभावनाको कुरा छ, त्यो स्थानलाई छोटो पैदलमार्गको रुपमा प्रयोग गर्न सकिन्छ, जुन डाँडाबाट उत्तरका हिमालय र त्रिसुली फाँटको मनोरम दृष्यहरु हेर्न सकिन्छ । अनि व्यवसायिक रुपमा ऊखु खेती गरी स्थानीय उत्पादनलाई बढाउन सकिन्छ । व्यवसायिक कुखुरा तथा बाख्रा पालनको लागि पनि यो स्थान उपयुक्त देखिन्छ । अनि त्रिसुली वरिपरीको रातमाटे फाँटमा तरकारी खेतीको संभावना पनि निकै देखिन्छ । यसर्थ झिल्टुङले केवल देवकोटाको नाम जोडेर परिचय स्थापित गर्न खोज्नुभन्दा आफ्नै बलबुतामा आफ्नै नयाँ परिचय निर्माण गर्नु उचित हुनेछ ।

Published in ratopati.com

No comments:

Post a Comment

कस्तो विकास, कस्तो अर्थतन्त्र

मनिकर कार्की निवर्तमान सामान्य अर्थमा अपेक्षित दिशातर्फको परिवर्तन, उत्पादन र उपभोगको वृद्धि, भौतिक पूर्वाधारको निर्माण नै विकास हो।...