नयाँ शक्तिको मधेश यात्रा

मनिकर कार्की निवर्तमान

 दृष्य १ (लाहान) 
सप्तरीका क्रियाशील पत्रकार मित्रले तर्क गरे, ‘मधेश आन्दोलनको मानसिकतामा छ । उनीहरुको बुझाईमा संविधानमा आफ्ना अधिकार कटौती गरिएको भन्ने छ, हामी राज्यबाट विभेदमा र उत्पीडनमा परेका छौं भन्ने मनोविज्ञान स्थानीय तहसम्म बलियो गरी गडेको छ । यो मनोविज्ञानलाई नभत्काउँदासम्म मधेश शान्त हुँदैन ।’


दृष्य २ (महोत्तरी)
मधेशका एक राजनीतिककर्मीले विचार पोखे, ‘पूर्वपश्चिम (महेन्द्र) राजमार्गको निर्माण हुनुभन्दा धेरै अगाडि ट्रयाक खुलेको तराई मधेशको दक्षिणी सीमावर्ती क्षेत्रको हुलाकी सडकलाई बेलैमा स्तरोन्नति गरिएको हुन्थ्यो भने तराई मधेशका दक्षिणी सहरहरु अहिले देशकै आर्थिक केन्द्र बनिसक्थे । तर, महेन्द्रले मधेशलाई वेवास्ता गर्दै वनजंगल सखाप पार्न र नयाँ बस्ती बसाउन महेन्द्र राजमार्ग बनाए ।’

दृष्य ३ (कोहलपुर)
सफेद पोशाक अनि टाउकोमा टिमिक्क ढाकाटोपी लगाएका एक जना आर्य समुदायका व्यक्तिले यो पंक्तिकारको इन्द्रणी राष्ट्रवादको व्याख्या सुन्नेबित्तीकै अनायासै प्रश्न गरे – ‘तपाईं यो भन्नुस् कि हामी नेपाली हौं कि भारतीय ?’ उनी आक्रोशित हुँदैथिए, पंक्तिकारको जवाफ रह्यो –‘महोदय, तपाईं यो प्रश्नलाई कुनै पनि अर्थमा प्रश्न भन्न सकिंदैन, जसको उत्तर जरुरी छैन ।’

नयाँ शक्ति पार्टीले भर्खरै संचालन गरेको हिमाल, पहाड, तराई÷मधेश राष्ट्रिय अभियानको सन्दर्भमा मधेश यात्रा गर्दा देखेसुनेका केही प्रतिनिधि दृष्यहरु हुन् यी । त्यसो त केही समयअघि देशकै दोस्रो ठूलो दल नेकपा एमालेले चुनावकेन्द्रीत मेची महाकाली अभियान पनि संचालन गरेको थियो । जब एमालेको अभियान सप्तरीमा पुग्यो एकाएक परिस्थिति बदलिन गयो र प्रहरी दमनका कारण अनाहकमा ५ जना नागरिकको ज्यान गयो । परिणामतः एमालेले आयोजना गरेको अभियान मधेश विरोधी नश्लीय राष्ट्रवादको प्रतीक बन्न पुग्यो । अनि मधेशका गाउँगाउँमा ‘एमालेलाई प्रवेश निषेध’को बोर्ड टाँगियो । फेरि एमालेकै जिम्मेवार नेताहरुले अभियानका क्रममा जसरी भाषणवाजी गरे, उनीहरुले आफ्नो पार्टी बाहेक सबैलाई ‘गैरराष्ट्रवादी’ र ‘अनेपाली’ करार गर्न पुगे । झन् मधेशी समुदायका काला मान्छेहरुलाई त भारतीय नै ठाने ।

संविधान जारी गर्दादेखि नै असन्तुष्ट रहेको तराई–मधेशमा त्यसयता झन् बढी असन्तुष्टि बढेको महशुस भएको छ । हिमालदेखि तराई मधेशसम्म फैलिएको देशको भौगोलिकदेखि जातीय, भाषीक र सांस्कृतिक विविधतालाई एउटै मालामा उनेर इन्द्रेणी राष्ट्रवादको माला बनाउनुपर्छ भन्दै नयाँ शक्तिका नेताहरुले अभियानका क्रममा भाषण गरे । उनीहरुले त्यही इन्द्रणी राष्ट्रियताले देशको आन्तरिक राष्ट्रियता मजबुद् बनाउने र त्यो नै मुलुकको समृद्धि र प्रगतिको आधार हुने बताउँदै गर्दा मधेशमा जनताको उपस्थिति उत्साहपूर्ण दखिन्थ्यो । नयाँ शक्तिले आयोजना गरेको आमसभाहरुको उपस्थिति हेर्दा महिला तथा अल्पसंख्यक समुदायहरुको उपस्थिति उल्लेखनीय देखिन्थ्यो । यसबाट कम्तीमा मानिसहरुमा आफ्ना हक, अधिकारका विषयमा एक खालको जागरण पैदा भएको निश्कर्ष निकाल्न सकिन्थ्यो ।
नयाँ शक्तिले आयोजना गरेको आमसभाहरुको उपस्थिति हेर्दा महिला तथा अल्पसंख्यक समुदायहरुको उपस्थिति उल्लेखनीय देखिन्थ्यो । यसबाट कम्तीमा मानिसहरुमा आफ्ना हक, अधिकारका विषयमा एक खालको जागरण पैदा भएको निश्कर्ष निकाल्न सकिन्थ्यो । 
अभियानकै क्रममा सिरहाको लाहानदेखि कैलालीको धनगढीसम्म पुग्दा अनुभव गरिएको कुरा के हो भने नयाँ शक्तिको कार्यक्रमलाई लक्षित गरेर जुलुस र आमसभामा सहभागिता जनाउन आउनेदेखि बाहेक दुई थरी मान्छेहरु भेटिए । जसमा एकथरी मान्छेहरुले असाध्यै राजनीतिक पूर्वाग्रह साँधेको देखियो । नयाँ शक्तिको कुनै हैसियत नै नदेख्ने अनि संयोजक डा. बाबुराम भट्टराईप्रति असाध्यै पूर्वाग्रही टिप्पणी गर्ने । यात्राकै दौरान यो पार्टीले कुनैपनि अवस्थामा गरिखाँदैन भनेर ठोकुवा गर्ने बिलकुल अराजनीतिक चरित्रका राजनीतिक प्राणीहरु पनि भेटिए उनीहरुको आसय पछिल्लो समयका राजनीतिक संघर्षहरु देशको लागि अहितकर छ, उनीहरु समाजको तल्लो तप्काले राज्यसँग अधिकार मागेको कुरालाई सामाजिक सद्भाव बिथोलिएको रुपमा व्याख्या गरिरहेका छन् ।

बाँकेको कोहलपुरमै एकजना भलाद्मी भन्दै थिए – ‘हिजो हामी मिलेर बसेका थियौं, तर, अहिले शंका छ ।’ ती आफ्नो कहानी सुनाउँदै भन्दैथिए –‘पर्वतबाट बाउबाजे चितवन बसाईं सरे, चितवनबाट बर्दिया र अहिले कोहलपुरमा बसेका छौं ।’ उनको बुझाईमा पछिल्लो समयमा तराई मधेशमा चलेको अधिकारको आन्दोलनका कारण मधेशमा पहाडी समुदायका मानिसहरुलाई बस्न गारो भएको छ । उनको अभिव्यक्तिप्रति पंक्तिकारको एउटै प्रश्न थियो – ‘तपाईंले कहिल्यै प्रश्न गर्नुभएको छ, हामी पहाडिया समुदायका मानिसहरु एकदुई पुस्तामै तीन चारपटक बसाईं सरेका छौं तर, ती साँच्चिकै मधेशमा बस्ने मधेशी थारुहरु कतिपटक बसाईं सरेका छन् ?’
उनीबाट कुनै उत्तर आउने संभावना नै थिएन । हो, अहिले जसरी तराई मधेशमा समस्या देखिंदै छ यसको मूल कारण हिजो त्यहाँ कोही बोल्दैनथिए, हिजो उत्पीडनसँगै अभिव्यक्ति पनि बञ्चीत थियो ।

हिजो शान्ति थियो किनकि तिनीहरुले कुनै प्रश्न गर्दैनथे । समाजका ठूला सामन्त र महन्तहरुले गरेको शोषण अनि राज्यको उत्पीडनलाई सहज रुपमा स्वीकार गर्दथे तर, आज तिनीहरु अधिकार माग्न थालेका छन् । आफूहरुलाई राज्यले गरेको व्यवहार बुझ्न थालेका छन् । यो देशको निर्माण र माटोको रक्षार्थ आफ्ना पितापुर्खाले बगाएको रगतपसिनाको मूल्य खोज्न थालेका छन् । शताब्दीऔंदेखि यो देशको रक्षार्थ तैनाथ भइरहँदा पनि अनागरिक भएको सम्झेर साँच्चिकै पूर्ण नागरिक हुन पाउँ भनेर विद्रोहको आवाज बोलिरहेका छन् । अनि अर्कोपक्ष त्यो विद्रोहको आवाजलाई सम्बोधन गर्नुको साटो प्रतिकारको मानसिकता बनाउँदैछ, त्यसैले समाज अशान्त झैं देखिएको हो ।

अर्कोतिर एकथरी मानिसहरु छन् जो अहिलेका समकालीन राजनीतिक दल र तिनका नेताहरुप्रति रत्तिभर विश्वास गर्न सक्दैनन् । उनीहरु समाजको रुपान्तरण हुनुपर्ने तर्क गर्दछन् । यो समाजमा व्याप्त सबै प्रकारका व्यभिचारहरुको अन्त्य भएर समाज सदाचार र सुशासनयुक्त होस् भन्ने चाहना पालेका छन् । सबैले आफ्नो गच्छे र हैसियत अनुसारको प्रतिभा प्रस्फुटन गर्न पाउन् र राज्यले सबैप्रति समान व्यहार गरोस् भन्ने चाहना राख्दछन् । तर, त्यसका लागि व्यक्ति, समाज, राजनीतिक दल र राज्यले के गर्नुपर्छ भनेर खुट्याउन सकिरहेका छैनन् । नयाँ शक्ति निर्माणको अभियानप्रति थोरै शंकामिश्रित विश्वास व्यक्त गर्दछन् । आखिर यो देशमा विकल्प त चाहिन्छ नै भन्नेमा विश्वास गर्दछन् तर, आफैं चाहिं त्यसरी विकल्प बनेर अघि बढ्ने साहस प्रदर्शन गर्न हिचकिचाइरहेका छन् ।

हो, यस्ता प्रकारका मानिसहरुले आफ्नै स्वविवेक प्रयोग गरेर कुनै धारणा बनाउन सकेका छैनन् । मूलतः ती मान्छेहरु समाजमा पूर्वाग्रही धारणा बोकेर एकल, पाखण्डपूर्ण, आडम्बरी र नक्कली राष्ट्रयताको ध्वाँस दिनेहरुको विचारबाट सशंकित देखिन्छन् । यो किन पनि स्वभाविक छ भने विकल्प निर्माणको प्रश्न अलिकति जटिल र श्रम खर्च गर्नुपर्ने कुरा हो । तर, त्यसको विरुद्ध विषवमनमा धेरै मेहनत गर्नुपर्दैन । जे सुनिँदै आएको छ अथवा सुनाइएको छ त्यसैका आधारमा धारणा बनाइदियो, बस् खत्तम । यसर्थ ती मानिसहरु प्रायोजित मानसिकता बोकेका मान्छेहरुको विचारबाट प्रभावित भइरहेका छन् ।
काठमाण्डू जहिल्यै मधेशलाई उपेक्षाको दृष्टिले हेरिरहेको छ, यता मधेशका जनतामा भने विस्तारै सत्ता र राज्यप्रति निरपेक्ष भावना पैदा भइरहेको देखिन्छ ।
मधेशका केही गाउँहरु डुल्दा थाहा लाग्ने अर्को तथ्य के हो भने मधेशका जनतामा एक खालको चेतना पैदा भएको छ, उनीहरु राज्यले अन्याय गरेकोमा एकमत छन् । तर, त्यो अन्याय कस्तो हो अनि कसरी न्याय मिल्छ ? त्यसमा भने सुस्पष्टता छैन । संघर्षको लागि मधेशी समुदाय सधैं तयार नै दखिन्छन् तर, पटकपटकको संघर्षबाट पनि उनीहरुले आफ्नो अधिकार संविधानमा सुनिश्चित गर्न नसक्दा मधेशको अन्यौलतामा कतै विखण्डनकारी सोंच हावी हुने त होइन भन्ने आशंका पनि बढ्दै गएको छ । काठमाण्डू जहिल्यै मधेशलाई उपेक्षाको दृष्टिले हेरिरहेको छ, यता मधेशका जनतामा भने विस्तारै सत्ता र राज्यप्रति निरपेक्ष भावना पैदा भइरहेको देखिन्छ ।

अझ गम्भीर कुरा त के छ भने मधेशमै त्यहींको वैधानिक राजनीतिक पार्टीले कुनै कार्यक्रम आयोजना गर्दा केही सयको संख्यामा मानिसहरुको उपस्थिति देखिन्छ भने खुल्ला रुपमा स्वतन्त्र मधेशको वकालत गर्ने सिके राउतले सभा गर्दा हजारौंको संख्यामा मानिसहरुको उपस्थिति हुन्छ, किन ? मधेशका जनतामा किन विखण्डनकारी शक्तिप्रतिको मोह बढ्दो छ ? किन उनीहरु त्यहींको वैधानिक राजनीतिक दलमा भन्दा विद्रोही शक्तिमा आकर्षण देखिरहेका छन् ? काठमाण्डूमा बसेर राष्ट्रियता संकटमा परेको कथा हाल्नेहरुले मधेशमा गएर मधेशी समुदायको मनोभावना किन बुझ्न सकेका छैनन् ? हो, मधेशको समस्या समाधान गर्ने हो भने सबैभन्दा पहिले यिनै प्रश्नहरुको हल खोज्नुपर्छ ।

जसले जे भने पनि अहिलेसम्म हामीले अवलम्बन र आत्मसात गरेको राष्ट्रियता एकल प्रकृतिकै हो । जसमा एउटा खास समुदायले अवलम्बन गर्ने भाषा, धर्म, भेषभुषा, संस्कार र संस्कृतिलाई नै राज्यको मान्यता दिइयो । तर, अब हामी समावेशी, समानुपातिक अनि सहभागितामूलक लोकतन्त्रको कुरा गरिरहेका छौं भने यो देशको जातीय, धार्मिक, भाषीक, सांस्कृतिक अनि भौगोलिक विविधतालाई आत्मसात गरेर सामेली प्रकारको इन्द्रेणी राष्ट्रवादको प्रवद्र्धन गर्नैपर्दछ । नयाँ शक्तिले अभियानका क्रममा जुन सन्देश दिन खोज्यो त्यो प्रवद्र्धित भएको महशुस भएको छ ।
published on onlinekhabar.com

No comments:

Post a Comment

कस्तो विकास, कस्तो अर्थतन्त्र

मनिकर कार्की निवर्तमान सामान्य अर्थमा अपेक्षित दिशातर्फको परिवर्तन, उत्पादन र उपभोगको वृद्धि, भौतिक पूर्वाधारको निर्माण नै विकास हो।...