प्रश्नहरुको माङ्गेना


मनिकर कार्की निवर्तमान
‘प्रश्नको अभाव भोकको अभाव जस्तै हो’ । लेखक एवं विश्लेषक युग पाठकको पछिल्लो पुस्तक माङ्गेना ः नेपाल मन्थन पुस्तकको सुरुवाती वाक्यांश हो यो । यही वाक्यांशले पुस्तकको सारतत्व खिच्ने काम गरेको छ । ‘प्रश्न’ हरेक नवीन आविश्कारको जननी हो । यो जीवन र जगतको रहस्य खोतल्ने एक मात्र हतियार प्रश्न हो । यदि कसैले प्रश्न गर्दैनथ्यो भने मानव जातिले यो ब्रम्हाण्डमा यस किसिमको कायाकल्प गर्ने थिएन । विश्व विख्यात ठूलाठूला वैज्ञानिक तथा दार्शनिकहरुले आफूमा प्रश्नको भोक जगाए र त्यो भोक मेटाउने उपक्रममा नै अनेकन यन्त्र, सिद्धान्त अनि दर्शनको विकास भयो । यसर्थ, यो आधुनिक ब्रम्हाण्डीय संरचनाको भौतिक निर्माणको पछाडि प्रश्नको भोक नै मुख्य देखिन्छ ।


तर, यसको ठीक विपरित सामान्यतयाः नेपाली समाजमा बर्जित जस्तै छ यो प्रश्न । अनि त प्रश्नको भोक पनि कमैमा देखिन्छ । तर, जसले त्यो भोक जगाएका छन्, निश्चय नै यो समाज र राष्ट्रलाई केही न केही योगदान दिएकै छन् । अहिले युवा विश्लेषक युगलाई त्यही प्रश्नको भोक जागेको छ, र नै उनी इतिहासको पुर्नलेखनतिर लागेका छन् । लेखिएका र लेखाइएका इतिहासप्रति प्रश्न गर्दै नलेखिएका इतिहासको विरुवा हुर्काउने अभियानमा देखिन्छन् उनी । शायद माङ्गेनालाई त्यही प्रयासको एउटा अंश मान्दा अन्थया पक्कै हुनेछैन ।
भूमिका र विनोदविक्रम केसीको सुरुवाती कविता गोल्ड मेडलसहित १४ वटा शीर्षकका विशेष अनुसन्धानात्मक आलेखहरुको संगालोको रुपमा युगले आफ्ना रचनाहरुको माङ्गेना गरेका छन् । भूमिका र पहिला तीन विशेष अनुसन्धानात्मक आलेखहरु नै पुस्तकका मुख्य विषयवस्तु हुन् भने त्यसपछिका अन्य लेखहरुले पहिले निर्माण गरेको विम्बलाई थप पुष्टि गर्ने काम गरेका छन् । नेपालमा पटकपटकको राजनीतिक आन्दोलनले जनताको दैनिकीमा परिवर्तन ल्याउन नसकेको र त्यो आन्दोलनको उपलब्धि पूर्णकालीन हुन नसकेकोतर्फ संकेत गर्दै लेखक पुस्तकको भूमिकामा राजनीतिक आन्दोलनले ल्याउने जर्बजस्त परिवर्तनलाई संस्थागत गर्न र त्यसलाई निरन्तर चुनौति पेश गर्ने बौद्धिक आन्दोलनको अभाव महशुस गर्न पुग्छन् ।

त्यसो त यहाँका बौद्धिक वर्ग र अनुसन्धाताले समाजको अर्थराजनीतिक दृष्टिकोण निर्माणमा कुनै उल्लेख्य भूमिका निर्वाह गर्न सकेको देखिँदैन । अहिलेसम्मको नेपाली राजनीतिको मूलधारमा देखापरेका जतिपनि राजनीतिक एजेण्डाहरु छन् ती मूलतः राजनीतिक पार्टीहरुबाट नै निशृत छन् जबकी त्यस्ता एजेण्डाहरु बौद्धिक एवं अनसुन्धाताहरुले समाजको अर्थराजनीतिक विश्लेषण एवं अनुसन्धान गरी पेश गर्नुपर्ने थियो । तर, दुर्भाग्य भनौं या विढंपना नेपालको बौद्धिक वर्ग केवल राजनीतिक पार्टीले पेश गरेका धारणाहरुमाथि टिकाटिप्पणी पेश गर्नमै सीमित छ ।

यति मात्र होइन समाजमा जति पनि राजनीतिक उपलब्धि र परिवर्तनहरु भएका छन् तिनलाई जनताको घरदैलोसम्म पुर्याउने माध्यम के हो ? कसरी जनताले परिवर्तनको अनुभू ितगर्ने ? यस्ता प्रश्नमा पनि गम्भीर दृष्टिकोण पुर्याउनु जरुरी देखिन्छ । निसन्देहः जुनसुकै राजनीतिक बदलावको प्रत्यक्ष अनुभूति आम नागरिकको दैनिकीमा कस्तो परिवर्तन आयो ? उनीहरुको दैनिक जीवन व्यवहारमा कस्तो फेरबदल आयो ? अनि उनीहरुले आफूलाई कहाँनेर पहिलेभन्दा सशक्त ढंगले प्रस्तुत गर्न सके ? राजनीतिक परिवर्तनको मापन गर्ने आधार त्यही हो । र, यसका लागि एक निरन्तर र सशक्त रुपको नागरिककेन्द्रीत आर्थिक विकासमुखी क्रियाकलापहरुको बढोत्तरी अपरिहार्य रहन्छ । अर्थात्, आर्थिक विकास र समृद्धिमार्फत नै जनताले साँचो अर्थमा परिवर्तनको महशुस गर्ने हुन् ।

‘नेपाल एक नक्सा, एक अवधारणा’ शीर्षकको दोस्रो आलेख यो पुस्तककै महत्वपूर्ण खण्ड हो । आखिर हामीले पढ्दै र पढाइंदै आएको नेपाल के हो ? यो केवल एक नक्सा हो ? क्षेत्रफल हो ? वा यहाँका तमाम जनताको भूमि हो ? लेखकले नेपाल र नेपालीकरणको भाष्य कसरी निर्माण भयो भनेर तथ्यपूर्ण ढंगले विस्तृत विवेचना गरेका छन् । यहिँनेर उनले धेरैको दिमाग खराब गराइदिएका छन् । र, हामीलाई सानैदेखि जसरी पृथ्वीनारायण शाहलाई नेपालको एकीकरणकर्ताको रुपमा पढाइयो, चिनाइयो तथ्यपूर्ण ढंगले उनले पृथ्वीनारायणको राज्य जित्ने अभियानलाई गोर्खा साम्राज्यको विस्तारमा खुम्च्याइदिएका छन् ।

इतिहासकारहरुको हवाला दिंदै लेखक निश्कर्ष पेश गर्छन् –‘नेपालको एकीकरण गर्नका लागि त्यसअघि नै नेपाल एक विशाल देश हुनुपर्छ, त्यसपछि विभिन्न कारणले त्यो टुक्रिएको हुनुपर्छ ... तर, पुराना ग्रन्थमा नेपालको नाम उल्लेख हुने बाहेक आम जनताको मनोविज्ञानमा गढेर बसेको त्यस्तो विशाल नेपाल कतै भेटिंदैन । ... त्यसैले आज जसको मनमा एकीकरण एक सत्यको रुपमा बसेको छ, त्यो त फगत एक व्याख्या हो । शाहवंशको महानता स्थापित गर्ने एक राजनीतिक भाष्य हो ।’

हामीले इतिहासमा कहिल्यै पनि यो देशको राष्ट्रियता कसरी निर्माण भयो ? हाम्रो राष्ट्रियता कस्तो हो ? साँचो हो कि झूठको पुलिन्दा हो ? अर्थात् कुनै व्यक्ति वा सत्ताको महिमा हो कि आम जनताको पहिचान ? कहिल्यै प्रश्न गरेनौं । ‘सयौं थुंगा फूलका हामी नेपाली’ भन्दै नतमस्तक बनिरह्यौं । तर, ‘सयौं थरी’ फूलको मालाले मात्र सबैको अस्तित्व स्वीकार गर्छ एकै थरीका ‘सयौं थुंगा’ले हैन भन्ने सामान्य चेतना पनि हामीमा देखिएन । अनि सत्ताले निर्माण गरिदिएको एकल राष्ट्रियताको हेजिमोनीलाई नै आफ्नो सांस्कृतिक विरासत मानेर सत्ताको वकालत गरिरह्यौं । लेखकले त्यही हेजिमोनीमाथि औंला ठड्याउंदै देशमा संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भइसकेको सन्दर्भमा पुरानो परिकल्पनाको नेपाल साँघुरो, एकांकी र एकपक्षीय भएको भन्दै नेपालको नयाँ पुनर्परिकल्पना गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

पुस्तकको अर्को महत्वपूर्ण आलेख हो, ‘विकास नसुल्झिएको पहेली’ । यो आलेखमार्फत लेखक नेपालमा प्रवेश गरेको अनि आम रुपमा प्रयोग भइरहेको विकासको अवधारणा नै आयातित भएको र यसको आयातमै खोट औंल्याउँछन् । उनी भन्छन् – ‘विकासको ललिपप यो देशमा बिक्छ, एउटा सपनाको रुपमा, पेशाको रुपमा र राजनीतिक स्वार्थ साधन गर्ने औजारको रुपमा ।’ निश्चित रुपमा अहिले विकास सबैको राजनीतिक नारा भएको छ, तर नेपालमा कस्तो विकास आवश्यक छ ? के विकासले मात्र पुग्छ ? अनि अहिलेसम्म विकास भएकै छैन त ? नेपालको सवालमा विकासको खास मोडेल के हो ? अथवा हाम्रो आवश्यकता र प्राथमिकताको विकास के हो ? यी र यस्ता प्रश्नहरुमा बहस नै भएको छैन । यहाँ केवल भएन मात्र भनिएको छ, तर किन भएन ? किन बनेन ? कस्तो बन्नुपर्ने हो ? यी सबै कुरा विकासकै पहेलीको रुपमा रहेका छन् ।

सत्य हो कि देश विकासको पथमा लम्किन सकेन भने त्यहाँ पक्कै पनि कारण हुन्छ । आखिर नेपालको अविकासको कारण के हो ? विकास भएन भन्दै गर्दा हामीले अविकासको कारण खोतल्न सक्नुपर्छ, त्यो सम्बोधन हुनुपर्छ । अनि हामीलाई कस्तो विकास र समृद्धि चाहिएको हो त्यसको अवधारणा सेट गर्नुपर्छ, प्राथमिकता निर्धारण गर्नुपर्छ तब न विकासले मूर्त रुप लिन्छ । २००७ सालबाट सुरु भएको आधुनिक नेपालको राजनीतिक परिदृष्यमा हरेक शासकले विकासलाई मूल नारा नै बनाए । तर, त्यो कस्तो विकास हो ? त्यसको फल कहाँ लाग्ने हो ? जनताको दैनिकीमा त्यो विकास कहाँनेर जोडिन्छ ? अनि जनताको अपनत्व कहाँनेर हुन्छ ? यी प्रश्नहरु अनुत्तरित नै रहे ।

सबै पार्टीहरु अन्ततः दाताहरुले नै विकास दिन्छन् र अन्ततः सबै दाताहरुकै दैलोमा पुग्ने गरेको इतिहासतर्फ लक्षित गरेका छन् लेखकले । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले माओवादी पार्टी परित्याग गरी आर्थिक विकास र समृद्धिलाई मुख्य एजेण्डा बनाएर सुरु गरेको राजनीतिक यात्रालाई भने लेखक दाताहरुको प्रिय मन्त्रकै रुपमा अथ्र्याउँदै लेख्छन् –‘नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले त आर्थिक समृद्धिका लागि कुनै दर्शन (राजनीतिक) नचाहिने अनौठो दाबी गरिरहेका छन् जो विश्व बैंकका हाकिमहरुको सबैभन्दा प्रिय मन्त्र हो ।’ नयाँ शक्तिलाई नै लक्षित गर्दै लेखक अर्को ठाउँमा लेख्छन् – ‘नयाँ शक्तिलाई कुनै दार्शनिक लेबल (माक्र्सवाद वा अरु कुनै) नलागोस् भन्नेमा उनी (बाबुराम भट्टराई) सचेत छन् । त्यसैले उनको समृद्धिको भाष्यमा दुई अंकको आर्थिक वृद्धि पटकपटक आउँछ तर, त्यो वृद्धिले आधारभूत गरिब जनतालाई कसरी फाइदा पुग्छ भन्ने कुरा आउँदैन ।’

हो, यहाँनेर भने लेखकको निश्कर्ष सतही देखिन्छ । किनकि नयाँ शक्तिले राजनीतिक दर्शनबिना आर्थिक विकास र समृद्धि हुन्छ भनेको छैन । साथै राजनीतिलाई विकास र समृद्धिबाट टाढा राख्ने वा आइसोलेट गर्ने धारणा कहिल्यै पस्केको छैन । बरु, नयाँ शक्तिले समृद्धिको मार्ग हुँदै समुन्नत समाजवादमा पुग्ने लक्ष्य निर्धारण गरेको छ । अनि त्यसको पूर्व शर्तहरुको रुपमा स्वाधिनता, समावेशी, समानुपातिक लोकतन्त्र, सदाचार र सुशासनलाई अभिन्न अंगको रुपमा स्वीकार गरेको छ । आन्तरिक राष्ट्रियताको बलियो जगमा सबै उत्पीडित समुदायलाई राजनीतिक अधिकार प्रदान गर्दै अबको विकास र समृद्धिले समाजका सबैभन्दा तल्लो तहको हित गर्नुपर्ने कुरामा जोड दिएको छ । यसका लागि ५ सको कार्यदिशा अघि सारेको छ । तर, लेखकले नयाँ शक्तिले ५ सको रुपमा अघि सारेको समृद्धिको डक्ट्रिनलाई कि त वेवास्ता गरेका छन् कि त त्यसको विस्तृतिमा जाने फुर्सद वा इच्छा प्रकट गर्दैनन् । यद्यपि अब देशको समृद्धि र परिवर्तनको प्रतिफल जनताको घरदैलोसम्म पुर्याउनको लागि ‘जनतातिर फर्कने र जनताको भर पर्ने अर्गानिक विकासले मात्र नेपालको मौलिक विकासको दर्शन जन्माउन सक्छ’ भन्ने निश्कर्षसँग यो पंक्तिकार पनि सहमत छ ।

त्यस्तै ‘नेपाली बौद्धिकता ः एक ऐतिहासिक चर्चा ’ र ‘नेपाली मिडिया ः एक सामयिक दृष्टि’ शीर्षकका आलेखहरुमा उनी बुद्धिजीवी र आम प्रभावशाली मिडियाले पनि सत्ताले निर्माण गरेको सामाजिक एवं सांस्कृतिक भाष्यलाई नै कुनै न कुनै रुपमा वकालत गर्ने गरेको र उही वीर पुर्खाको बहादुर अनि पाखा पखेरा, हिमाल नदीको बखानमा आधारित साहित्यलाई नै प्रचारप्रसार गरेको तर्क प्रस्तुत गर्छन् । तर, त्यसभित्र जीवन खोज्ने, आम जनताको संस्कार र संस्कृतिलाई उजिल्याउने र स्थापित गर्ने प्रयास नगरेको तथ्य पेश गरेका छन् ।

यसको अलवा आधा दर्जन बढी पूर्व प्रकाशित फुटकर लेखहरुलाई समावेश गरेका छन् । जसमा ‘नेपाली साहित्यका माङ्गेना’, ‘दलित दृष्टिमा पुनःनिर्माण’, ‘नेपाली राष्ट्रवाद ः प्वाँख कि पखेटा ?’, ‘के नेपाल ठूलो छ ?’, ‘कागले लगेको भाषाको कान’ इत्यादि । यद्यपि लेखकले पूर्ववतः उठान गरेका विषयहरुसँग मिल्दाजुल्दो ढंगले नै आलेखहरु समेटेका छन् । तर पनि यी कतिपय आलेखहरुमा विषयवस्तु दोहोरिएको हुँदा यी आलेखको छनौटमा लेखक अलिक अल्छि प्रतीत हुन्छन् अनि कता कता पुस्तकको आयतन अनि मोटाइ बढाउनकै लागि यी कतिपय लेखहरु समावेश गरिएको त होइन भन्ने लाग्छ । किनकि कतिपय यी फुटकर लेखहरु पुस्तकको मूलः मर्मसँग अमिल्दा र असान्दर्भिक पनि लाग्छन् ।

हुन त एकथरी बुद्धिजीवीहरुले पुस्तकको आवरणमा नेपालको झण्डा च्यातिएको तस्बिर राखेको भनेर निकै रोइलो पनि गरेको सुनियो । जेहोस् जसले पुस्तकको कभरको आलोचनामा आफ्ना शब्दहरु खर्च गरे तिनले पुस्तकमा उठाइएका अहिलेसम्मको ऐतिहासिक ठानिएको भाष्यलाई नै हल्लाइदिने प्रश्नहरुको सामना गर्न सकेनन् भन्ने नै लाग्छ । नत्र पूरै पुस्तक पढेर सक्दा पनि बजारमा हल्लागुल्ला गरे अनुसार झण्डा च्यात्ने वा जलाउने वा विरुप पार्ने त्यस्तो कुनै विचार चिन्तन पुस्तकमा भेटिंदैन ।

बरु अहिलेको नेपालको झण्डाको प्रयोग र व्याख्या कुनै एउटा जाति र समुदाय विशेषको शासकको महिमा गाउनको लागि प्रयोग भयो । तर, अब देशमा संघीय लोकतान्त्रिक गणतन्त्र अनुसारको नयाँ संविधानले  सबै जाति, भाषा, धर्म, संस्कृति र विशिष्ट आर्थिक उत्पादन सम्बन्ध भएका समुदायहरुलाई नागरिकको हैसियतमा स्थापित गर्ने र सबैले आफ्नो देशको झण्डालाई छातिमा टाँस्न सक्ने समायानुकूल व्याख्या झण्डमा आवश्यक रहेको तथ्यलाई भने संकेत गरेको महशुस हुन्छ । वीर पुर्खाका काल्पनिक गाथा अनि पाखापखेरो, हिमाल, चराचुरुंगी, पशुपन्छीका सुन्दरताका साहित्य रचनामै समय खर्चिइरहेका श्रष्टाहरुले आम जनताको जीवन लेख्ने र त्यसै अनुसारका प्रतीक र प्रतिमानहरु निर्माण गर्ने बहस चलाउन सक्छन् ? हो, यसले मात्र सबैको माङ्गेना हुनेछ ।

No comments:

Post a Comment

‘वैकल्पिक राजनीति’को कार्यभार

मनिकर कार्की निवर्तमान करिब पच्चीस सय वर्षअघि गौतमबुद्धले भनेका थिए – ‘दुःख छ । दुःखको कारण छ । दुःखको निवारण छ । ज्ञान, शील र समाधीको ...