बीपीको ‘वामपन्थी’ यात्रा


मनिकर कार्की निवर्तमान
वामपन्थी राजनीति अर्थात लेफ्ट विङ्ग पोलिटिक्स, अहिले नेपालको राजनीतिमा निकै चर्चित पदावली बनेको छ । खासगरी दुई कम्युनिष्ट पार्टीहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त चुनावी गठबन्धनलाई ‘वाम गठबन्धन’को रुपमा व्याख्या गरिएसँगै समाजमा वामपन्थी राजनीतिप्रति अलिक बढी नै चासो देखिन गएको छ । दुई कम्युनिष्ट पार्टीहरुले घोषित पार्टी एकताको लक्ष्यसहित गरेको चुनावी एकता कहिलेसम्म जारी रहन्छ ? त्यो त चुनावी परिणाम र त्यसपछिको शक्ति सन्तुलनको अवस्थाले नै निर्धारण गर्नेछ ।
यद्यपि दुई पार्टीले उम्मेदवार मनोनयन दर्ताका लागि भने सहमति गरेरै छाडे । यद्यपि चुनावी परिणाम र त्यसले दिने मतादेशका आधारमा नै वाम गठबन्धनको भविष्य निक्र्यौल हुनेछ । यसर्थ, अहिले नै यसको भविष्यको बारेमा बोल्नु शायद हतारो हुनेछ ।

यद्यपि यत्ति चाहिं पक्कै अनुमान गर्न सकिन्छ कि यो गठबन्धनको जुन घोषित लक्ष्य छ, त्यो भने चुनावी नतिजापश्चात् यथावत रहन्छ भन्नेमा प्रशस्त आशंका पैदा भइसकेको छ । दुई पार्टीका ठूला नेताहरु नै अनौपचारिक रुपमा अहिलेको एकता केवल चुनावी एकता नै हो भन्ने निश्कर्षमा पुगिसकेको देखिन्छ । फेरि नेपाली राजनीतिको पारम्परिक डाइनामिक्स नै यस्तै छ कि सत्ता र शक्तिका लागि जुनसुकै पार्टी जुनैपनि बेला यता र उता लाग्न सक्छ । यो दृष्टान्त खोज्न धेरै मथिंगल खियाउनु पर्दैन, गठबन्धनै सहयात्री दलको पछिल्लो एक वर्षको राजनीतिक यात्राले सबै कुरा छर्लंग पारेको छ ।

यो त भयो वाम गठबन्धनको वर्तमानको कुरा । दुई ठूला पार्टीले वाम गठबन्धन गरेर चुनावमा होमिएपछि आफूलाई एक्लो पारेको महशुस गरेर ठूलो पार्टी नेपाली कांग्रेसले ‘लोकतान्त्रिक गठबन्धन’ बनाउने कसरत गर्यो । केही मधेशवादी पार्टी र दक्षिणपन्थी (कन्जरभेटिभ) दलको सहायताले उसले लोकतान्त्रिक गठबन्धन बनाएर चुनावमा होमिएको छ । यद्यपि काँग्रेसको नेतृत्वसँग नयाँ शक्ति पार्टीले केही जिल्लाको चुनावी क्षेत्रमा चुनावी तालमेल पनि गर्यो । तर, कांग्रेस एमालेको जस्तो यो गठबन्धनले धेरै चर्चा र चासो बटुल्न सकेन । यद्यपि हामीले निर्माण गरेको ‘वापन्थी’ र ‘लोकतान्त्रिक’ गठबन्धनको भाष्य नै गलत देखिन्छ ।

किनकि यहाँ साम्यवादी लक्ष्य बोकेका कम्युनिष्ट भनिएका पार्टीहरुले प्रगतिशील वामपन्थी कार्यदिशा समेत अवलम्बन गर्न सकेका छैनन् भने समाजवादको लक्ष्य बोकेको नेपाली कांग्रेसले सामान्य लोकतान्त्रिक अभ्यास समेत गरेको देखिँदैन । उसले आफूलाई कतिपय अवस्थामा त चरम दक्षिणपन्थी कन्जरभेटिभ पार्टीसमेतलाई माथ खुवाउने गरी दक्षिणपन्थी राजनीति गरिरहेको प्रतीत हुन्छ । यस्तो अवस्थामा वामपन्थी कार्यदिशामा लोकतान्त्रिक संस्कार र लोकतान्त्रिक परिपाटीलाई जीवन्त राख्न वामपन्थी कार्यदिशाको जरुरत पर्दछ । यसरी हेर्दा पुराना पार्टीहरु न त वामपन्थी न त लोकतान्त्रिक नै हुन सकेका छन् । जहाँसम्म दुई कम्युनिष्ट पार्टीहरुले वामपन्थी एकताको कुरा गरेका छन्, खासमा उनीहरुले वामपन्थी कार्यदिशा अवलम्बन नै गर्न सकेका छैनन् ।

वामपन्थी राजनीति (लेफ्ट विङ्ग पोलिटिक्स) को शाब्दिक अर्थ हुन्छ, सामाजिक रुपले प्रचलित सोपानक्रम (सोसियल हाइरार्की) र सामाजिक असमानता (सोसियल इनइक्वालिटी) का विरुद्ध सामाजिक समानता (सोसियल इक्वालिटी) र समानतावादी सिद्धान्त (इक्वालिटेरियनिज्म) को पक्षपोषण गर्ने राजनीति नै वामपन्थी राजनीति हो । वामपन्थ शब्दको जन्म विश्व कम्युनिष्ट आन्दोलनबाट भएको होइन, यो शब्द फ्रान्सेली राज्यक्रान्तिको गर्भबाट पैदा भएको हो । यस मानेमा वामपन्थी शब्दसँग कम्युनिष्ट पार्टीको प्रत्यक्ष साइनो देखिँदैन ।

फ्रान्सको राज्य क्रान्ति (सन् १७८९–१७९९) ताका त्यहाँको व्यवस्थापिका एवं परामर्श सभा (स्टेट जेनेरल) का सदस्यहरुको बसाईको दिशालाई आधार मानेर राजनीतिमा ‘वाम’ र ‘दक्षिण’ अर्थात्, ‘लेफ्ट’ र ‘राइट’ शब्दको प्रादुर्भाव भएको देखिन्छ । यद्यपि त्यो सभासँग कुनै विशेष अधिकार भने थिएन र त्यसले केवल तत्कालीन फ्रान्सका राजालाई औपचारिक रुपले सल्लाह दिने काम मात्र गर्दथ्यो । त्यो बेला जो राजतन्त्रको विरोध गर्दथे र राज्यक्रान्तिलाई समर्थन गर्दथे, तिनीहरु देब्रेतिर अर्थात् ‘लेफ्ट रो’ मा बस्दथे भने पारम्परिक शासन व्यवस्था र पुरानो सत्तालाई समर्थन गर्नेहरु दक्षिण अर्थात् ‘राइटर रो’मा बस्दथे । त्यहीबाट लेफ्ट शब्द राजनीतिमा प्रवेश भएको हो । यसर्थ, लेफ्ट अर्थात् बामसँग कम्युनिष्ट शब्दको कुनै प्रत्यक्ष सम्बन्ध देखिँदैन ।

यसरी हेर्दा तत्कालीन शासन व्यवस्था अर्थात् विद्यमान ‘स्टाटस् क्यो’को विरुद्ध उभिनु नै वामपन्थी अर्थात् लेफ्ट हुनु हो । त्यसो हो भने नेपालमा जजसले विद्यमान सत्ताको विरुद्ध अर्थात् व्यवस्था फेर्ने आन्दोलनमा सरिक भए, ती सबै स्वतः वामपन्थी हुन् । वामपन्थी हुनु भनेको अग्रगामी हुनु हो । अग्रगमनका कुरा गर्नु हो, अगाडिको कुरा गर्नु हो । अनि प्रगतिशील सोचाई र चिन्तन राख्नु हो । समाजको तल्लो तहमा रहेका मानिसहरुको पक्षमा बोल्ने शक्ति नै वामपन्थी शक्ति हो । समाजमा भइरहेको विभेदको विरुद्ध बोल्नु र त्यसलाई बदल्ने प्रयत्न गर्नु नै वामपन्थी राजनीतिको कार्यदिशा हो । यसर्थ, वामपन्थलाई आमूल परिवर्तन र सुधारको पक्षमा उभिने एवं समाजवादको कुरा गर्ने शक्तिको रुपमा बुझिन्छ ।

वामपन्थी शब्दको यो परिभाषाभित्र हेर्दा बीपी कोइराला तत्कालीन समयका सबैभन्दा प्रखर वामपन्थी नेता थिए । उनले २००७ सालमै तत्कालीन राणाशाही विरुद्ध कठोर संघर्षमा भाग लिए । त्यो बेला राणाविरुद्ध सशस्त्र संघर्षको संखघोष गर्ने बीपीको राजनीतिक लाईन निःसन्देह वामपन्थी लाइन हो । फेरि वामपन्थी लाइन भनेको राजनीतिक कार्यदिशा हो, यो कुनै वाद या दर्शन होइन । जसले समाजमा प्रगतिशील विचार राख्छ र समाजलाई परिवर्तन गर्नुपर्ने आवश्यकताबोध गर्छ, त्यो राजनीतिक पार्टी स्वतः वामपन्थी हुन जान्छ । जहाँसम्म नेपाली कांग्रेसको कुरा छ, कांग्रेसले २००७ सालमा राणा शासनविरुद्धको राजनीतिक संघर्षको अगुवाई गर्यो, त्यसैले त्यो बेला कांग्रेस वामपन्थी पार्टी हो । त्यस्तै २०४६ सालमा पनि पञ्चायती व्यवस्था अर्थात् तत्कालीन राजनीतिक व्यवस्था फेर्ने आन्दोलनको अगुवाई गर्यो, फेरि पनि कांग्रेस वामपन्थी नै भयो ।

अनि कांग्रेसभित्रै जब हामी वीपीको कुरा गर्छाैं उनले एकाधसमय बाहेक आफ्नो सम्पूर्ण राजनीतिक जीवनमा तत्कालीन समाजको अग्रगामी चेतनालाई नै बोक्ने काम गरेका थिए । उनले जेजति विचारहरु व्यक्त गरे, त्यसमा समाजको तल्लो वर्गको हितको कुरा गरिएको छ, समाजमा चेतना बाँड्ने कुरा गरिएको छ, अनि समाज र सत्ता फेर्ने कुरा नै गरिएको छ, जुन स्वभाविक रुपमा वामपन्थी कार्यदिशा नै हो । यदि त्यसो हो भने बीपीलाई किन वामपन्थी नभन्ने ? यसर्थ, हामीले बुझ्दै आएको जस्तो वामपन्थी हुनु भनेको कम्युनिष्ट हुनु होइन । स्पष्ट रुपमा भन्नुपर्दा  बीपी वामपन्थी थिए, तर कम्युनिष्ट थिएनन् जुन कुरा उनी आफैंले समेत प्रष्ट पारेको विषय हो ।

तर, हामीले वामपन्थी शब्दलाई नै कम्युनिष्ट कित्तामा धकेलिदिएका छौं । त्यसैले यो अहिले कम्युनिष्ट प्राधिकारभित्रको जार्गन बन्न पुगेको छ । यद्यपि नेपालमा साँच्चिकै कम्युनिष्टहरु न इतिहासमा थिए, न त आज नै छन् । यहाँ केवल कम्युनिष्ट नाम गरेका पार्टीहरु छन् तर कम्युनिष्ट छैनन् भन्दा शायद फरक पर्नेछैन । यद्यपि कम्युनिष्ट एउटा निश्चित दर्शन हो, जुन दर्शनले कम्युनिष्ट समाजको निर्माण गर्ने लक्ष्य बोकेको हुन्छ, जसमा आर्थिक एवं समामाजिक उत्पादनका साधानहरुको सामुहिक स्वामित्व हुन्छ र त्यहाँ व्यक्ति वा निजत्वको कुनै भूमिका हुँदैन । अर्थात् त्यस्तो समाज जसमा समाजिक वर्ग, धन र राज्यको विलोपिकरणको कल्पना गरिएको हुन्छ, त्यो कम्युनिष्ट राज्य हो ।

तर, नेपालका पारम्परिक राजनीतिक दलहरुको यहि नै सबैभन्दा ठूलो असंगति हो । यहाँ जे होइन, त्यो भनिन्छ र जे हो त्यसलाई स्वीकार गरिँदैन । दर्शन जे जस्तो अंगाले पनि कार्यक्रमिक एवं कार्यदिशाको हिसाबमा यहाँ कम्युनिष्ट पार्टी नै छैन र आम नागरिक पनि कहिल्यै कम्युनिष्ट भएर बसेका छैनन् । अनि न त त्यसरी बस्ने अभ्यास नै गर्दछन्, न त त्यसरी हाम्रो समाज नै चल्न सक्छ । तर, यहाँ कम्युनिष्ट भनिन्छ र भनाइन्छ । यो नै अहिलेको सबैभन्दा टड्कारो रुपमा देखिएको असंगति हो ।

आजको सूचना प्रविधि अनि आधुनिक चेतनाको युगमा त्यस्तो प्रकारको कम्युनिष्ट राज्य जन्मिनै संभव छैन र जन्मिए पनि टिक्ने संभावना देखिँदैन । झन् नेपालको भूराजनीतिक अवस्था र यहाँको अर्थराजनीतिक चरित्रले त्यस्तो राज्यको अपेक्षा गर्नु केवल भ्रमपूर्ण सपना मात्र हो । बरु आधुनिक नेपाल निर्माणको झण्डै ७ दसकको राजनीतिक इतिहास र नेपाली समाजको परिवर्तनमुखी चरित्रलाई हेर्दा यो समाज नै वामपन्थी समाज हो भन्न सकिन्छ । यसर्थ, कम्युनिष्ट हुनु र वामपन्थी हुनु एउटै कुरा होइन । यहाँका कम्युनिष्ट पार्टीहरुले ल्याउने चुनावी मत समाजको वामपन्थी चरित्रको जनमत हो, त्यो कसैगरे पनि कम्युनिष्ट आदर्श र सिद्धान्तको जनमत होइन । के पुराना राजनीतिक दलहरुले यस्तो प्रकारको असंगतिपूर्ण व्यवहारको अन्त्य गर्न सक्छन् । यस मानेमा वैकल्पिक शक्तिको रुपमा उदाएको नयाँ शक्ति पार्टीले स्पष्ट रुपमा आफूलाई वामपन्थी शक्ति घोषणा गर्न सक्छ । अनि यो पनि निश्कर्ष निकाल्न सकिन्छ कि विपीको राजनीतिक लाइन वामपन्थी नै थियो ।

No comments:

Post a Comment

कस्तो विकास, कस्तो अर्थतन्त्र

मनिकर कार्की निवर्तमान सामान्य अर्थमा अपेक्षित दिशातर्फको परिवर्तन, उत्पादन र उपभोगको वृद्धि, भौतिक पूर्वाधारको निर्माण नै विकास हो।...