बहसमा वैकल्पिक राजनीति - २ : विकल्पकाे आधारस्तम्भ


मनिकर कार्की निवर्तमान
भर्खरै सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा कम्तीमा राष्ट्रिय पार्टी बन्ने लक्ष्य लिएर चुनावी प्रतिस्पर्धामा उत्रिएका दुई वैकल्पिक शक्तिहरुले चुनावी लक्ष्य हासिल गर्न सकेनन् । तथापि चुनावी प्रतिस्पर्धामा दुई पार्टीको उपस्थिति र आम नागरिकले दुई वैकल्पिक शक्तिलाई दिएको मतलाई हेर्दा नेपालमा वैकल्पिक राजनीतिका लागि प्रशस्त संभावना रहेको आंकलन गर्न सकिन्छ ।

विकल्पको जन्म 
नयाँ संविधान जारी भएपछि मुलुकको राजनीतिक गन्तव्य बदलिएको र त्यो बदलिएको गन्तव्यमा पुग्नका लागि नयाँ तौरतरिका, शैली, संस्कार र विचारसहित वैकल्पिक राजनीति गर्न भन्दै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको नेतृत्वमा नयाँ शक्ति पार्टीको स्थापना भएको हो । नयाँ शक्तिले बदलिएको राजनीतिक गन्तव्यको सुस्पष्ट व्याख्या गर्दै समृद्धिमुखी राजनीतिका लागि ‘५ स’ को राजनीतिक कार्यदिशा तय गरेको छ भने राजनीतिक स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय शासनसहितको सुशासन र सदाचारको पक्षमा वकालत गर्दै आएको छ ।

त्यस्तै दोस्रो संविधानसभाको निर्वाचनताका जन्मिएको विवेकशील नेपाली दलले वैकल्पिक अभ्यासस्वरुप स्थापनाकाल यता आफूलाई सामाजिक एवं भ्रष्टाचारविरोधी गतिविधिहरुमा सक्रिय राखेको थियो । त्यसैबिच बीबीसीका पत्रकार रविन्द्र मिश्रले राजनीतिमा नैतिकता र इमान्दारिताको खडेरी परेको भन्दै विकल्प निर्माणकै लागि आफू राजनीतिमा लाग्ने उद्घोष गरी साझा पार्टीको स्थापना गरे । पहिलो चरणको स्थानीय तह निर्वाचनपछि साझा र विवेकशीलले पार्टी एकता गरे ।

भर्खरै सम्पन्न चुनावमा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले गोर्खा क्षेत्र नं. २ बाट प्रतिनिधिसभाका लागि निर्वाचन जिते भने रसुवा र गोर्खाबाटै दुई वटा प्रदेश सभामा नयाँ शक्तिले विजयी हासिल गर्यो । उता विवेकशील साझाले प्रत्यक्षतर्फ कतै पनि विजयी हासिल गर्न सकेन । तर, समानुपातिकतर्फ नयाँ शक्तिभन्दा विवेकशील साझाले झण्डै तीन गुणा बढी मत ल्यायो । चुनावी मतपरिणाम हेर्दा यदि वैकल्पिक धारका दुईवटै पार्टीहरु एक भएर चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन्थे भने प्रत्यक्षतर्फ केही सिट संख्यासहित राष्ट्रिय पार्टी हुनका लागि आवश्यक समानुपातिक मत आउनेरहेछ भन्ने देखियो ।

विकल्पको खोजी
यसपटक पुराना शक्तिहरुले नै चुनावी श्रेष्ठता हासिल गरेका छन् । चुनावी गठबन्धन बनाएर चुनावमा होमिएको नेकपा एमाले र नेकपा माकेको वाम गठबन्धनले उल्लेख्य बहुमत हासिल गरेको छ भने तीन ठूला दलमध्येको पुरानो पार्टी नेपाली कांग्रेसले आफ्नो मतको रक्ष ागर्न सफल भए पनि संसद्मा सिट संख्या भने घटेको छ । प्रत्यक्षतर्फको निर्वाचनमा वाम गठबन्धन नेपाली कांग्रेसका लागि भारी परेको देखियो । आखिर किन जनमतले पुरानै शक्तिहरुलाई अनुमोदन गर्यो त ? पक्कै पनि वाम गठबन्धनले जुन स्थिर सरकारलाई आफ्नो मुख्य चुनावी एजेण्डा बनायो, पार्टी एकतासहितको लक्ष्य लिएर बनेको दुई दलीय गठबन्धनले स्वभाविक रुपमा स्थिर सरकार दिनसक्नेछ भन्ने विश्वास पैदा गरायो । र, आम नागरिकले वाम गठबन्धनलाई मत दिए । तर, जसै चुनावी परिणाम सार्वजनिक भयो, बदलिएको राजनीतिक शक्ति सन्तुलनमा सत्ताका लागि दलहरु आआफ्नो तरिकाले राजनीतिक कसरत गरिरहेका छन् ।

चुनावी परिणामकै चर्चा गर्दा एकातिर मूलधारका राजनीतिक पार्टीहरुले विकास, समृद्धि र राजनीतिक स्थायित्वलाई मुख्य मुद्दा बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिए भने समग्र राजनीतिक प्रणाली र अभ्यासकै विकल्पको रुपमा आफूलाई प्रस्तुत गर्दै सदाचार र सुशासनलाई आफ्नो राजनीतिक एजेण्डा बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका वैकल्पिक राजनीतिक पार्टीहरुले भने चुनावी विजयी हासिल गर्न सकेनन् । अहिलेको राजनीतिक मूलधारमा बाँकी रहेका मुद्दाहरु धेरै छन् । अझ स्पष्ट भन्नुपर्दा मूलधारको राजनीतिले गर्नुपर्ने विकास र समृद्धिको मुख्य काम बाँकी नै छ । त्यो काम पूरा गर्नका लागि राजनीतिक शक्ति र सत्ता जरुरी हुन्छ, अनि भर्खरै जन्मिएका वैकल्पिक पार्टीहरुले तत्कालै शक्ति र सत्ता हासिल गर्ने अवस्था पनि थिएन, छैन । त्यसैले अहिले मूलधारको राजनीतिले गर्न बाँकी रहेको काम पूरा गर्नका लागि नागरिकले ठूला दल, जसको बृहत जनाधार छ, उनीहरुलाई नै चुनेका छन् । तर, यसको मतलब यो होइन कि समाजमा वैकल्पिक राजनीतिको लागि कुनै स्पेश नै नहोस् ।

यहि निर्वाचनमा दुई वैकल्पिक राजनीतिक दलहरुले पाएको चुनावी मतलाई आधार मान्ने हो भने पनि मूलधारको पारम्परिक राजनीतिबाट दिक्क भएका नागरिकहरुले विकल्पको खोजी गरेका छन् भन्ने प्रस्ट हुन्छ । यद्यपि आम मतदातामा चाहिं एकपटक स्थिर सरकार बन्छ कि हेरौं नै भनेर पनि दुई पार्टीको संयुक्त गठबन्धनलाई विजयी बनाएको देखिन्छ । यति हुँदाहुँदै पनि वैकल्पिक शक्तिलाई नागरिकले जुन मत दिएका छन् त्यो सम्मानजनक नै छ । दुई वैकल्पिक शक्तिको मत जोड्दा तीन लाख बढी हुन जान्छ, यो मत विकल्प निर्माणको अभ्यास हो । तर, दुई वैकल्पिक पार्टीहरुले आआफ्नै इगो या अल्प राजनीतिक बुझाईका कारण चुनावी एकता वा तालमेल गर्न नसक्दा विकल्प निर्माणका लागि प्राप्त भएको जनमतको उपयोग हुन सकेन ।

वैकल्पिक राजनीति के हो ?
दुई पार्टीले यहाँनेर वैकल्पिक राजनीति गर्ने त भनेका छन् तर, त्यो वैकल्पिक राजनीतिको अन्तरवस्तुको बारेमा आम जनमानसलाई बुझाउन सकेको देखिँदैन । मुलुकमा नयाँ संविधान जारी भएसँगै अब राजनीतिक अधिकार प्राप्तिको चरण सकिएको हुँदा स्वभाविक रुपमा अबको राजनीतिक गन्तव्य बदलिन पुगेको साँचो हो । यसर्थ, अब आर्थिक विकास र समृद्धि नै राजनीतिको केन्द्रीय विषय बन्नुपर्छ । नयाँ शक्तिले त्यही उद्देश्यका लागि वैकल्पिक राजनीतिक शक्ति जरुरी रहेको भाष्य निर्माण गरेको हो । अनि नयाँ शक्तिले मुलुकको समृद्धि र विकासको मार्गचित्रलाई ५ स ले सैद्धान्तिकरण गरेको छ भने अविकासको मूल कारण राजनीतिक अस्थिरता भएकोले राजनीतिक स्थिरताको लागि विद्यमान शासकीय स्वरुपमा परिवर्तन गरी प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय शासन प्रणाली अवलम्बन गर्नुपर्नेमा जोड दिएको छ ।

अर्कोतिर साझा विवेकशीलले असल राजनीतिका लागि इमानदारिता, नैतिकता, सदाचार र सुशासनलाई मुख्य अवयवको रुपमा व्याख्या गर्दै भ्रष्टाचारको अन्त्यका लागि राजनीतिलाई कमाउने भाँडो होइन स्वयम् सेवा बनाउनुपर्छ भनेर सदाचार र सुशासनलाई नै राजनीतिक लाइन बनाएको देखिन्छ । यसरी हेर्दा मूलतः वैकल्पिक राजनीतिक पार्टीहरुले उठाएका आर्थिक विकास, समृद्धि, सदाचार र सुशासनका मुद्दाहरु पूरा गर्नका लागि राजनीतिक शक्ति जरुरी हुन्छ र पहिलो चुनावी प्रतिस्पर्धाबाट वैकल्पिक शक्तिहरुले त्यो जनमत आर्जन गर्न सकेनन् ।

अर्कोतिर जन्मिँदै प्रतिस्पर्धीको रुपमा देखा परेका दुई वैकल्पिक शक्तिहरुले चुनावी प्रतिस्पर्धामा उत्रिँदा अवलम्बन गर्नुपर्ने सामान्य चुनावी रणनीति पनि अख्तियार गर्न नसक्दा नागरिकले विकल्पका लागि दिएको मतको उपयोग हुन सकेन । त्यसो त विकल्पको पनि छुट्टै विकल्प भएर निस्किन खोज्दा ‘न हातमा न मुखमा’ जस्तो हुन गएको साँचो हो । अब यो भर्खरै विजारोपण भएको वैकल्पिक राजनीतिको बिउलाई उमारेर फसल भित्र्याउने हो भने राजनीतिक विकल्प निर्माणका लागि खडा भएका दुई वैकल्पिक शक्तिहरुले आफूलाई रिभ्यू गर्नैपर्छ र कुनै न कुनै रुपमा एकीकृत भएर अघि बढ्नुपर्छ ।

वैकल्पिक राजनीतिको आधार
अब नयाँ शक्तिले वैकल्पिक राजनीतिको लागि राजनीतिको परिभाषा बदलेर मात्र नहुने रहेछ, त्यसमा वैकल्पिक अनुहार पनि जरुरी हुने रहेछ भन्ने कुरा मनन् गर्दै दीगो र विश्वसनीय विकल्पको रुपमा आफूलाई उभ्याउन सक्नुपर्छ । अनि पार्टीको आन्तरिक जीवनमा पनि वैकल्पिक अभ्यास अवलम्बन गर्न जरुरी छ । शक्तिको केन्द्रीकरणले विकल्प निर्माण गर्न सक्दैन । विकल्प निर्माणका लागि शक्तिलाई सबै तहमा निक्षेपण गर्दै नयाँ पुस्तालाई नेतृत्वदायी भूमिकामा स्थान दिनुपर्छ ।

विकल्प निर्माणकै लागि अब साझा विवेकशीलले पनि यो बुझ्नुपर्छ कि केवल इमानदारिता र नैतिकताको स्कूलिङले मात्र राजनीतिको रथ हाँक्न सकिँदैन । वैकल्पिक राजनीतिक धार निर्माण गर्नका लागि समाज र सामाजिक अन्तरसम्बन्धहरुको विहंगम बुझाई जरुरी हुन्छ । यसर्थ वैकल्पिक दर्शन, विचार र स्पष्ट राजनीतिक कार्यदिशाले मात्र विकल्प निर्माणलाई सार्थक बनाउन सकिन्छ । केवल इमान्दारिता, नैतिकता अनि सदाचार र सुशासनको भाषणले मात्र वैकल्पिक राजनीतिको बजार विस्तार हुनेछैन । हो, यहाँनेर विवेकशील साझा पार्टीका अभियन्ताहरुले पुनःविचार गर्नैपर्छ कि समाज बदल्ने कुरा गर्दा समाजको वस्तुनिष्ठ व्याख्या जरुरी हुन्छ । अनि समाजको आर्थिक, सामाजिक, राजनीतिक सम्बन्ध र त्यसको जटिलता पर्गेल्न सक्नुपर्छ ।

समाजलाई विकल्प दिनको लागि सबैभन्दा पहिले समाज बुझ्नुपर्छ । समाजको अवस्था र सामाजिक सम्बन्धका जटिलताको कारण खोज्नुपर्छ । त्यो कारणभित्रका पारम्परिक सम्बन्धहरु पर्गेल्नुपर्छ । अनिमात्र समाजलाई बदल्ने योजना प्रेस्क्राइब गर्न सकिन्छ । त्यस्तै विकल्पका लागि राजनीतिमा पुस्तान्तरण जरुरी देखिन्छ । किनकि अबको वैकल्पिक राजनीतिका लागि मूलतः नयाँ युवापुस्ताको सक्रिय सहभागिता अपरिहार्य छ ।वैकल्पिक राजनीति भविष्यमुखी लामो यात्रा हो, त्यसैले यसका लागि धेरै मेहनत र धैर्यता चाहिन्छ, जुन स्वभावैले नयाँ पुस्तासँग हुन्छ । त्यसकारण नयाँ पुस्ताले नै वैकल्पिक राजनीतिलाई अघि बढाउन सक्छ । यसर्थ, पार्टी निर्माणका लागि पनि नयाँ पुस्तालाई नै कार्यकारी भूमिकामा अग्रसर गराउनुपर्छ ।  त्यसैले नयाँ पुस्तालाई नेतृत्व तहमा स्थान दिनैपर्छ, त्यो नै वैकल्पिक राजनीतिको भरपर्दो र विश्वासिलो आधारस्तम्भ हुनेछ ।
Published on sajhapost.com

No comments:

Post a Comment

‘वैकल्पिक राजनीति’को कार्यभार

मनिकर कार्की निवर्तमान करिब पच्चीस सय वर्षअघि गौतमबुद्धले भनेका थिए – ‘दुःख छ । दुःखको कारण छ । दुःखको निवारण छ । ज्ञान, शील र समाधीको ...