कार्यकर्ता बन्ने कि नागरिक ?

मनिकर कार्की निवर्तमान
‘हामी कसैका होइनौं, कोही हाम्रा होइनन् । हामी सत्य र न्यायका, सत्य र न्याय हाम्रो ।’ –रुपचन्द्र विष्ट
‘थाहा आन्दोलन’का प्रणेता रुपचन्द्र विष्टको यो भनाइले किनै महत्वपूर्ण अर्थ राखेको छ । मुलुकमा दोस्रो चरणको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै गर्दा आम नागरिकले खेल्नु पर्ने भूमिका र सचेतनाकै वरिपरी रहेर रुपचन्द्रको उक्तिलाई एकपटक नियाल्ने हो भने एउटा गम्भीर प्रश्न खडा हुन्छ, हामी आम जनता कुनै अमूक दलको कार्यकर्ता बन्ने कि एक सचेत नागरिक ? रुपचन्द्र विष्ट जो नेपालको प्रगतिशील राजनीतिक आन्दोलनका एकल अभियन्ता थिए, उनलाई अहिले कुनै अमूक पार्टीले अगुवाको दलील पेश गर्ला नै तर, उनले आफ्नो जीवन कालमा जे गरे, जे बोले र जसरी आफ्नो जीवन गुजारे, उनले जीवनभर कुनै पार्टीको वकालत गरेनन् । उनी कुनै अमूक पार्टीको नेता कहलिएनन् । उनी एक सक्रिय सामाजिक एवं राजनीतिक अभियन्ताको रुपमा चित्रित भए । हो, उनी एक सचेत नागरिक अभियन्ता थिए जसले आफ्नो जीवनकालमा ‘निष्पक्ष सक्रियता’को अभ्यास गरे ।


उनले गरेको त्यही अभ्यास नै यो समाजको लागि सबैभन्दा ठूलो उदाहरणीय काम हो । के हामी आम नागरिक रुपचन्द्रले जस्तै सत्य र न्यायको पक्षमा गरेको निष्पक्ष सक्रियतालाई लागू गर्न सक्छौं ? रुपचन्द्रले बोलेनन् मात्र, बोलेका कुरा व्यवहारमै गरेर देखाए । उनी कसैको पक्ष वा विपक्षमा लागेनन् । उनी पक्षमा लागे त केवल न्याय र सत्यको । उनी आम नागरिकको घरदैलोमा पुगेर ज्ञान र विवेकको बत्ती बाल्दै ‘अथाह’लाई ‘थाहा’ मा बदल्ने चेष्टा गर्दै हिंडे । उनले आफ्नो जीवन नै त्यसैमा व्यतीत गरे ।

अहिले हामी पनि निर्वाचनको सम्मुख छौं । पहिलो चरणको प्रतिनिधि तथा प्रदेशभा निर्वाचन सम्पन्न भइसकेको छ र हामी दोस्रो चरणको निर्वाचनको प्रतिक्षामा छौं । निर्वाचनको मिति नजिकिँदै गर्दा राजनीतिक दलहरुले चुनावी प्रचारलाई तीव्र बनाएका छन् । सबै दलहरु अहिले चुनावी अभियानमा व्यस्त छन् । ठूला दलले ठूलै तामझामका साथ चुनावी गतिविधि गरिरहेका छन् भने साना दलहरु पनि आआफ्नो क्षमता र योजना अनुसार चुनावी प्रचारमै व्यस्त छन् । सबैले आफ्ना कुरा बिकाउन खोजिरहेका हुन्छन् । अनि चुनावी प्रतिस्पर्धामा सबैले श्रेष्ठता हासिल गर्ने कोशिस जारी राखेका छन् । लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष भनेकै यहि हो । तर, चुनावी माहोल तात्दै गर्दा आम नागरिकले खुट्याउनुपर्ने तथ्य चाहिँ के हो भने यो चुनाव केवल आवधिक निर्वाचनको निरन्तरता होइन । यो देशको संरचनागत परिवर्तनपछि त्यो परिवर्तनलाई संस्थागत गर्ने कडी हो । यसर्थ, यसपालीको चुनावमा आम नागरिकले सचेतन ढंगबाट सक्रियता देखाउनु जरुरी हुन्छ ।

त्यसो त हाम्रो राजनीतिले जनतालाई देशको सचेतन नागरिक बनाउने कहिल्यै चेष्टा गरेन । राजनीतिक पार्टीहरु र तिनका नेतृत्व केवल कार्यकर्ता र फलोअर बनाउने काममै केन्द्रित भएका छन् । फलोअरको भिड जम्मा गर्ने र आफू नेता हुने राजनीतिले राजनीतिक सुसंस्कार जन्मिन सकेन । आज पनि हामी सुन्छौं राजनीतिक दलले कुनै क्षेत्रलाई आफ्नो किल्ला ठान्दै आम नागरिकलाई भोट बैंकको रुपमा परिभाषित गरेको कुरा । अखबारमा भँगेरो टाउके अक्षरमा आउँछन् ‘फलानो ठाउँ फलानो पार्टीको किल्ला’ । के यो देशको भूगोल कुनै अमूक पार्टी र नेताको पुस्तैनी सम्पत्ति हो ? अनि त्यहाँका आम नागरिक कुनै अमूक दलको स्थायी दास हुन् ? जसलाई किल्ला अनि भोट बैंकको रुपमा परिभाषित गरिन्छ ।

बदलिएको समयसन्दर्भ अनुसार अब यो चेतना पनि बदल्नुपर्छ । अब हामीले यो देशमा कुनै अमूक दलका कार्यकर्ता होइन एक सचेत नागरिक बनाउने अभियानमा लाग्नैपर्छ । त्यसो त यहाँ नेता र जनता भन्ने शब्दमै विभेद छ । त्यसले, वैकल्पिक राजनीतिले नेता र जनता होइन राजनीतिक अभियन्ता र नागरिकको परिभाषा स्थापित गर्न खोजेको छ । हामी नेता होइनौं, केवल नागरिकको मुद्दा लिएर एउटा राजनीतिक अभियानमा हिंड्ने अभियन्ता हौं । ठीकै छ आम नागरिकले कुनै अमूक राजनीतिक पार्टीप्रति आस्था राख्नु सबैको स्वतन्त्रताको कुरा हो नै । तर, के हामी यो देशका स्वतन्त्र र निर्भिक नागरिक बन्न सक्दैनौं ? हामी सचेत र आलोचनात्मक चेत भएको नागरिक कहिले बन्ने ?

हामीलाई कुनै अमूक दलको नेताले सधैं कार्यकर्ता बनाइरहँदा हामीमा आलोचनात्मक चेत आउन सकेको छैन । एउटा कालखण्ड थियो, जुन बेला राजनीतिक व्यवस्था परिवर्तनको लागि संघर्ष गर्नुथियो, गरियो । त्यो बेला हामीले कसैलाई नेता स्थापित गर्यौं । अब त्यो व्यवस्थामा फेरबदल आइसकेको छ । राज्यको संरचनामा बदलाव आइसकेको छ । अब यो देशको विकास, समृद्धि र प्रगतिको लक्ष्य हासिल गर्नुछ । यसका लागि हामी आम नागरिक साँच्चिकै सचेत र प्रश्न गर्ने नागरिक बन्नु जरुरी छ, न कि कुनै अमूक दल र नेताको कार्यकर्ता अनि फलोअर ।

जबसम्म हामी कार्यकर्ता र फलोअरकै तहमा हुन्छौं, हामीमा आलोचनात्मक चेत आउँदैन र हामीले सहि र गलत छुट्याउन सक्दैनौं । अनि आफैंमा स्वःनिर्णय लिन सक्ने अवस्थामा हुँदैनौं । जुन समाजका नागरिकहरु आफैंमा सचेत र निर्णायक हुँदैनन् त्यो समाज प्रगतिको दिशातर्फ उन्मुख हुन सक्दैन । किनकि कार्यकर्ता र कसैको फलोअरकै हैसियतमा रमाउने हामीले सचेत प्रश्न गर्न सक्दैनौं । जब सचेत प्रश्न गरिँदैन समाज सहि दिशातर्फ अघि बढ्न सक्दैन । त्यसैले अब हामी कसैको कार्यकर्ता कम र एक सचेत नागरिक बढी हुनुपर्ने बेला आइसकेको छ ।

निश्चित रुपमा चुनाव हो, चुनावमा सबैले आफू र आफ्नो दललाई जिताउनको लागि मत माग्ने नै भए । तर, हामीले एक सचेत नागरिक र मतदाताको हैसियतले यस्तो बेलामा कसैको बहकाउमा लागेर भन्दा पनि रुपचन्द्र विष्टले भनेझैं आफ्नो विवेकको प्रयोग गरेर सत्य र न्याय के हो त्यो छुट्टयाउनु पर्ने बेला भएको छ । पक्ष र विपक्षमा बा“डिएका नेता–कार्यकर्ताहरुले निश्चित रुपमा ‘निष्पक्ष सक्रियता’को अभ्यास गर्न सक्तैनन् । यद्यपि आम नागरिकले न्याय र सत्यको पक्षमा आफ्नो विवेक प्रयोग गर्ने बेला भएको छ ।
यो चुनाव अब देशलाई कस्तो बनाउने ? भन्ने सवालमा नीति निर्माण गर्ने तहको चुनाव हो ।  यसर्थ, हामीले अब कस्ता प्रतिनिधि चुन्ने ? यो सवालमा अलिकति इतिहासको पुनरावलोकन जरुरी हुन्छ । हामीले विगत लामो समय पुराना राजनीतिक पार्टीहरुको शासन हेर्यौं, ती मूलतः व्यक्ति र दल केन्द्रीत नै देखिए । आम जनताका आवश्यकताबाट निकै पर आफ्नै दलीय अनि गुटगत स्वार्थको राजनीतिले देशको ढुकुटीको ब्रम्हलुट भएको छ ।

अब राजनीतिक अवस्थामा आएको फेरबदललाई जनपक्षीय बनाउनु छ । यसका लागि आम नागरिकको अवस्थामा बदलाव ल्याउनुछ । देशमा नयाँ संविधान जारी भइसकेपछि एउटा राजनीतिक आन्दोलनको पटाक्षेप हुन पुगेको छ । अब त्यसले परिकल्पना गरेको समृद्धिलाई जनतासमक्ष डेलिभर गर्ने बेला आएको छ । यसर्थ, अबको राजनीतिक एजेण्डा विकास र समृद्धि हो । तर, त्यो एजेण्डालाई जनतासमक्ष डेलिभर गर्न पुराना संस्कार शैली र पारम्परिक एजेण्डा बोकेका राजनीतिक पार्टीका नेतृत्वबाट संभव छैन ।

अबको राजनीतिक एजेण्डामा एउटा युगान्तकारी फड्को अर्थात् प्याराडाइम सिफ्ट भएको छ । अबको राजनीतिक एजेण्डा आम नागरिकको प्रगति र देशको समृद्धिसँग जोडिएको छ । यसर्थ, त्यो एजेण्डामा कसले खरो उत्रिएर कार्यान्वयन गर्छ ? निश्चित रुपमा जसले त्यसको सृष्टि गरेको हो, अथवा जो ती एजेण्डाहरुको सुत्राधार हो उसैले त्यसको सक्रियतापूर्वक कार्यान्वयन गर्न सक्छ । हो, अहिले आम मतदाताले बुझ्नुपर्ने चुरो कुरो यहि हो । पुराना पार्टीहरुको हाउभाउ, चुनावी रणनीति, प्रचार अनि जसरी पनि जित्नुपर्ने मानसिकतामा निर्माण भएका दलीय गठबन्धनले उनीहरु सत्ता र शक्तिकै अभ्यासमा लालायित छन् भन्ने कुरा प्रष्ट्याउँछ ।
यसरी हेर्दा वैकल्पिक धारको नेतृत्व गर्दै समकालीन राजनीतिक मुद्दालाई विकास र समृद्धिको परिभाषासहित एउटा युगान्तकारी फड्को दिनसक्ने दूरगामी दृष्टिकोण भएको पार्टी भनेको नयाँ शक्ति नै हो । अनि परिवर्तन र समृद्धिका एजेण्डालाई दरोस“ग कार्यान्वयन गर्ने हैसियत पनि निर्माण गर्न सक्ने र त्यस अनुरुपको राष्ट्रिय अन्तर्राष्ट्रिय शक्ति सन्तुलनलाई ठीक आंकलन गरेर मुलुकको अग्रगामी रुपान्तरणका लागि नेतृत्व प्रदान गर्नसक्ने दल नयाँ शक्ति नै हो । यस मानेमा आम मतदाताले अब निष्पक्ष सक्रियता देखाउनुपर्छ । निर्वाचनमा परिर्वतनलाई संस्थागत गर्न सक्ने र आर्थिक विकास र समृद्धिको एजेण्डालाई जनहितमा कार्यान्वयन गर्नसक्ने शक्तिको पहिचान गरी त्यसलाई मत दिनुपर्छ, तबमात्र अहिले मूल धारमा रहेका विकास र समृद्धिका एजेण्डाहरुले सहि स्पेश पाउनेछन् र तिनको जनपक्षीय कार्यान्वयन संभव हुनेछ ।

No comments:

Post a Comment

कस्तो विकास, कस्तो अर्थतन्त्र

मनिकर कार्की निवर्तमान सामान्य अर्थमा अपेक्षित दिशातर्फको परिवर्तन, उत्पादन र उपभोगको वृद्धि, भौतिक पूर्वाधारको निर्माण नै विकास हो।...