ट्याङ्कर एक्सप्रेस

१८ घन्टे ट्याङ्कर यात्रा

अनुभूति
मनिकर कार्की निवर्तमान 
काठमाडौंको जाम छिचोल्दै काँडाघारीबाट कलंकीसम्म आइपुग्न दुई घन्टा लाग्यो । अनि अर्को दुई घन्टा कलंकीमा गाडी कुर्दाकुर्दै बित्यो । शायद स्कूल कलेजको हिउँदे विदा अनि लगातार परेको सरकारी विदाका कारण काठमाडौंको चिसो ठिही छल्न यत्रतत्र लाग्ने यात्रुहरुको भीडले होला सवारी साधनको अपर्याप्तता । त्यसो त आफ्ना पोका पन्तुरा बोकेर कलंकीमा गाडी कुरिरहेका जनसाधारणको भीड पनि मज्जैको थियो ।
त्यसैले हामीले सहज ढंगले सवारी पाउन सकेनौं । सामान्यतया मोटरसाइकलमै यात्रा गर्न रुचाउने यो पंक्तिकार मध्य पुससँगै बढ्दै गएको चिसोलाई मध्यनजर गर्दै सार्वजनिक साधनमा यात्रा गर्ने मनस्थितिमा पुगेको थियो । अनि पंक्तिकारलाई यात्रामा साथ दिंदै थिए मित्रद्वय कृष्ण देवकोटा र प्रितम गैरेले ।

काठमाडौंको सकसपूर्ण सडक पार गर्दै कलंकी पुगे पनि हामीले बुटवल जाने सवारी सहजै पाउन सकेनौं । अन्तिम अवस्थामा सडक छेउमा सिट्ठी फुकेर आवागमनको व्यवस्था मिलाइरहेका ट्राफिक प्रहरीको सहयोगमा इन्धन बोक्ने ट्यांकर रोकेर हामी त्यसैमा चढ्यौं । जसै ट्यांकर चालकले सवारीको गति बढाउँदै थिए, केही बेरमा फेरि घ्याच्चै रोकियो अनि सुरु भयो धुलाम्य जोल्ठिङ परेको सडकमा चाकाचुली खेल्दै घिस्रिने यात्रा । यो विरासत शैलीको कलंकी–नागढुंगा सडकको सकसपूर्ण यात्राले कहिले निकास पाउँछ त्यो त सम्बन्धित सडक बनाउने ठेकेदारले नै जाने । हामीले भने यसपटक पुनः त्यो जोल्ठिङमा सम्हालिँदै यात्रा गर्नुपर्ने थियो, गर्यौं । ट्यांकरले धुलाम्य सडकमा चाकाचुली खेल्दै नागढुंगाको नेटो काट्दा घामको किरण मुर्झाइसकेको थियो ।

यो सडक विस्तारको काम अझै पूरा हुन सकेको छैन । सडकमा उड्ने धुलो अनि सवारी जामका कारण महिनौंदेखि यो सडकखण्ड यात्राको सबैभन्दा कष्टकर भाग बन्न पुगेको छ, काठमाण्डू आउने र जानेहरुका लागि । तर, पनि हाम्रो काममा कुनै गति छैन । सबै निकायहरु मौन मात्र होइन तमासा हेरेर बसेका छन् । कुनै पनि परियोजनाहरु निर्धारित लागत अनि तोकिएको समयसीमाभित्र सम्पन्न हुने कुनै गुञ्जायस छैन । यसरी समय र लागतमा खुल्लमखुल्ला भ्रष्टाचार भइरहेको हुन्छ । तर, यसलाई सहजै मान्न थालिएको छ आजकल । यहाँनेर हाम्रो भनाइ र गराइमा निकै अन्तर छ । विकास चाहिन्छ, बाटोघाटो पुलपुलेसाहरु जरुरी छन् । अनि चिल्ला र फराकिला सडक हाम्रा सपना हुन् । तर, तिनलाई बनाउने र व्यवस्थित गर्ने सवालमा हामीले अझै एउटा दीगो धारणा बनाउन सकेका छैनौं ।

अहिले काठमाडौंका सडककै कुरा गर्ने हो भने त्यहाँ प्रत्येक टोलका सडक विरुप भएर खनिएका छन् । कतिपय ठाउँमा खाल्टा पुर्ने काम भएको त छ तर, ती पूर्ववत् अवस्थामा निर्माण भएका छैनन् । काठमाडौंका सडकका खाल्टा मात्रै पुरे पनि अहिलेको अस्तव्यवस्तता आधा कम हुने विज्ञहरु बताइरहेका छन् । तर, अहँ सोचे अनुसार काम हुन सकेको छैन । हामीले विकासमा न त एउटा दीगो सोच नै निर्माण गर्न सक्यौं, न त निर्माणमा मापदण्ड अनि अनुशासन नै । यी सबैको मार हाम्रो दैनिक जीवनमा भोगिरहेका छौं ।

नागढुंगाको नेटो काटेपछि केही हदसम्म राजधानीको ह्याङ्ओभर विस्मृतिमा गयो र नयाँ ताजा अनुभव गर्न पाइयो । यसपटक भने नागढुंगा – नौबिसे सडक खण्डमा खासै सवारी जाम भएन र यात्रा सहजै ओरालो लाग्यो । ट्यांकरको यात्रा पक्कै पनि नौलो अनुभूति हुँदै थियो । हेटौंडा स्थायी घर भएका तामाङ थरका सवारी चालक दाजुले रमाइलोसँग यात्रा गराए । मनमा अनेकन तर्कना उत्पन्न हुने र बिलाउने क्रम चलिनैरह्यो उता नेपथ्यमा भने तिनै पुराना दृष्यहरु दोहोरिइरहेका थिए । निर्माणाधिन नारायणगढ–मुग्लिङ सडकखण्डमा रातिको समयमा सवारी आवागमन बन्द गरिने हुनाले हामी निर्धारित समय अगावै यो खण्ड प्रवेश गर्ने सुरमा थियौं । र, कावासोती पुगेर बास बस्ने हाम्रो योजना थियो । त्यही रफ्तारका साथ हामी हुईंकिइरहेका थियौं । शायद चालक पनि सहजै हेटौंडा पुगेर आराम गर्ने मनसुवामा थिए ।

तर, मुग्लिङ खण्डको सडक जामको अवस्था मनकामना केवलकारबाटै अनुभव गर्न पाइयो । साँझ ७ बजे नै केवलकार आइपुुगेको हाम्रो साधन लामो ट्राफिक जामको चपेटोमा पर्न गयो । एकाध घन्टा हुँदै घन्टौंसम्म हामी चिप्ले किराको गतिमा गुड्यौं । केही मिटर अगाडि बढ्ने अनि फेरि घिचिक्क रोक्किने क्रम चल्दै गयो । यसो गर्दागर्दै हामी निर्धारित समय अर्थात् १० बजे मुग्लिङको नेटो त काट्यौं तर, त्यस दक्षिणको यात्राको गति भने झनै धिमा हुन गयो । अब हाम्रो खानु पिउनुको टुंगो पनि भएन र हाम्रो लागि त्यही ट्यांकर सबैथोक हुन पुग्यो । धार्केका चियापान नै हाम्रो त्यसरातको खान्की हुन पुग्यो ।

अहिले यो खण्डको सडक विस्तारको काम भइरहेको छ, तर वर्षाैं बितिसक्दा पनि सडक विस्तारको काम सम्पन्न हुन सकेको छैन । अनि बिनाकारण यस सडकखण्डमा यात्रा गर्ने यात्रुहरुले सास्ती र हण्डर खेप्नुपरिरहेको छ, वर्षौंदेखि । यति मात्र होइन प्रत्येक वर्ष वर्षायाममा पहिरोका कारण हप्तौंसम्म सडक बन्द हुने र सयौंको ज्यान गइसकेको छ । अर्थात्, यो सडकका कारण त्रिशुली नदीले धेरैलाई निलिसकेको छ । तर, घटनामा समवेदना व्यक्त गर्नु बाहेक न्यूनिकरण अनि सडक सुरक्षाका लागि केही हुन सकेको छैन ।

उद्यपि यो सडक खण्डको सवालमा भने मेरो अलिक भिन्नै धारणा बन्न पुगेको छ । खासमा भौगोलिक रुपमै सडक विस्तारमा निकै कठिन देखिने यो खण्डको सडकलाई विस्तार गर्नुभन्दा पनि सहज हुने स्थानहरुमा छेउकुना र मोडहरु फराकिला बनाएर भौगोलिक संरचनालाई कुनै असर नपर्नेगरी सडकलाई दिगो बनाउने किसिमले मर्मत गरेको भए निर्माण कार्य चाँडो सम्पन्न हुन्थ्यो । र, यो सडकलाई परेको सवारी चाप नियन्त्रण गर्नका लागि विगत केही वर्षअघि देखि नै पूर्व जाने सवारीहरुलाई काठमाडौंबाटै कुनै वैकल्पिक सडकमार्फत डाइभर्ट गर्ने योजना ल्याइएको हुन्थ्यो भने यस्तो कष्टपूर्ण तरिकाले सडक विस्तार पनि गर्नुपर्ने थिएन र लाखौं यात्रीहरुले ज्यानलाई हत्केलामै राखेर जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्था आउने पनि थिएन ।

तर, पदीय जिम्मेवारीमा बसेका अदूरदर्शी नेतृत्वका कारण वर्षौंसम्म निर्माणको नाममा सडकलाई असुरक्षित बनाइरहने अनि निर्माणको समय र लागत थप गर्दै संस्थागत भ्रष्टाचार जारी राख्ने दुष्चक्रका कारण नागरिकले सास्ती बेहोर्नुपरेको छ । यो सडकको चपेटोमा नपर्ने शायदै कोही यात्रु होलान् । हो, यसपटक पनि सिंगो रात यहि सडक खण्डमा बित्यो । सवारी चालकले घ्यार्र गाडी स्टार्ट गरेर केही मिटर अगाडि लैजान्छन्, फेरि ठप्प हुन्छ । फेरि केही मिनेटमा घ्यार्र स्टार्ट अनि फेरि केही मिटरको चिप्लेकिरा गुडाईं अनि फेरि घ्याच्च । यो गुड्ने र रोकिने क्रम रातभर जारी नै रह्यो । अनि हाम्रो अर्ध निद्रा पनि त्यसैगरी चालू रह्यो रातभर । विद्यालय जीवनताका चर्चित कन्दरा अनि नेपथ्य ब्याण्डका पुराना लोकपप गीत संगीतको मजा लिँदै गफ्फिँदै यात्रा गर्दाको मज्जा शायद ट्यांकरकै कारण जुरेको थियो ।

यो सबैका बाबजुद् साँघुरो सीट भएको लोकल बस अनि बतासिँदै गुड्ने साना सवारीमा कोचाकोचको यात्राभन्दा ट्यांकरमा आरामसँग सुतेर साथीहरुसँग गफ्फिँदै गरिने यात्राका कारण ज्यानले भने केही राहत पायो । यसरी १८ घन्टे ट्यांकर यात्रा बिहान ९ बजे नारायणगढमा आएर समापन भयो । नारायणगढबाट बुटवल जाने लोकल बस चढेर बुटवल पुग्दा मध्यान्हको १ बजिसकेको थियो । यो यात्रासँगै सम्बन्धित सरोकारवालाई प्रश्न गर्न मन लाग्यो हामी आम नागरिकले यसैगरी सडकमा कति कहर सहनुपर्ने हो महोदय ?
(तस्बिर गुगल खाेजी )

No comments:

Post a Comment

‘वैकल्पिक राजनीति’को कार्यभार

मनिकर कार्की निवर्तमान करिब पच्चीस सय वर्षअघि गौतमबुद्धले भनेका थिए – ‘दुःख छ । दुःखको कारण छ । दुःखको निवारण छ । ज्ञान, शील र समाधीको ...