‘ल्वाङ गाउँमा फूलै फुलेको’


मनिकर कार्की निवर्तमान
यता मध्य पुसको आगमनसँगै काठमाण्डूमा मौसमी तापक्रम घट्दै थियो भने उता सुन्दर नगरी पोखरा अंग्रेजी नयाँ वर्षको रौनकले न्यानो बन्दै थियो । नयाँ शक्ति पार्टीको केन्द्रीय समिति बैठकमा सहभागिता जनाउन हिंड्न लागेका हामी यसपटकको पोखरा भ्रमणलाई अलिक रमणीय बनाउने उद्देश्यसहित निर्धारित मिति भन्दा केही दिन अघि नै त्यसतर्फ लाग्यौं । अक्सर मोटरसाइकलमा यात्रा गर्न रुचाउने यो पंक्तिकारलाई यसपटकको यात्रामा साथ दिंदै थिए मित्र सुदर्शन खतिवडाले । काठमाण्डूमा घाम ढल्केसँगै सुरु हुने सिरेटो छिचोल्दै यात्रा थानकोटको नेटो काट्दा घडीको सुईले तीन बजाइसकेको थियो ।

थानकोटको नेटो काटेपछि यात्रामा तिनै दृष्यहरु पुर्नताजगी भए, जो दर्जनौंपटक देखिएका अनि भोगिएका छन् । अझै पनि पृथ्वी राजमार्गको अवस्थामा उल्लेख्य सुधार भएको छैन । कलंकी–नागढुंगा सडक विस्तारको काम अझै सम्पन्न भएको छैन । सडकमा उड्ने धुलो अनि सवारी जामका कारण महिनौंदेखि यो सडकखण्ड यात्राको सबैभन्दा कष्टकर भाग बन्न पुगेको छ, काठमाण्डू आउने र जानेहरुका लागि । तर, पनि हाम्रो काममा कुनै गति छैन । सबै निकायहरु मौन मात्र होइन तमासा हेरेर बसेका छन् । कुनै पनि परियोजनाहरु निर्धारित लागत अनि तोकिएको समयसीमाभित्र सम्पन्न हुने कुनै गुञ्जायस छैन । यसरी समय र लागतमा खुल्लमखुल्ला भ्रष्टाचार भइरहेको हुन्छ । तर, यसलाई सहजै मान्न थालिएको छ आजकल ।

पहिलो दिनको गन्तव्य बन्यो दमौलीबाट उत्तरपूर्व २२ किलोमिटरको यात्रा गरेर आउने कास्कीको रुपा गाउँपालिकाको सिद्ध गाउँ । मित्र सुदर्शनजीको ससुराली घरमा बिताइयो पहिलो रात । एक रातको बसाईमा सुदर्शनजीका ससुरा बा हिमालय पराजुलीसँग राजनीति, दर्शन, साहित्य अनि अर्थतन्त्रका विषयमा गम्भीर बहस भयो । गाउँमै बसेर सबै विषयमा गम्भीर चासो राख्ने क्रान्तिकारी हिमालय बासँग गज्जब बहस चल्यो । हामी विकल्प निर्माणमा हिंडेका अभियन्ता, बाचाहिं अझै एउटा क्रान्तिको आवश्यकता महशुस गर्दा रहेछन् । बहसको निश्कर्ष निस्कियो – ‘मौजुदा अवस्थाका पार्टी र राजनीतिक व्यवस्थाले देश बन्दैन, यो चाहिं बदल्नै पर्छ ।’

भोलिपल्टको सीधा गन्तव्य थियो पोखरा । अंग्रेजी सम्बत् २०१७ को अन्तिम दिनलाई विदाई गर्न पोखराको लेकसाइडमा सडक महोत्सव नै आयोजना गरिएको थियो । विभिन्न सांगितिक प्रस्तुतिसँगै सडकमै राखिएका विभिन्न खानाका परिकारले त्यस दिन पोखराको लेकसाइड धपक्कै बलेको देखिन्यो । हामी बेलुकी सडक उत्सव परख गर्न पोखरा पुग्यौं । हामीलाई साथ दिए, पत्रकार मित्र एवं प्रेस सोसाइटीका संयोजक रुद्र भट्टले । पुरानो वर्षलाई विदाई अनि नयाँ वर्षलाई स्वागत गर्न पोखरा त्यसरी जुरुक्कै उठेको मैले पहिलो पटक अनुभव गरेँ । शायद बढीभन्दा बढी विदेशी पर्यटकहरुको रोजाईको गन्तव्य भएरै पनि होला पोखरामा अंग्रेजी वर्षलाई भव्यताका साथ मनाईंदोरहेछ । हामी पनि त्यही उत्सवमा समाहित हुन पुग्यौं । पोखरामा नयाँ वर्षलाई स्वागत गर्न बुटवलबाट केही साथीहरु पनि आएका थिए, मैले ती साथीहरुलाई पनि साथ दिने अवसर पाएँ ।

अंग्रेजी नयाँ वर्षको पहिलो दिन बिहान पोख्रेली प्रियजनहरुसँगको चिया चर्चामै बित्यो । घमाइलो दिन ढल्दै गर्दा उत्तरी हिमालय पर्वतबाट बहने चिसो सिरेटो छिचोल्दै हाम्रो मोटरसाइकल यात्रा सुरु भयो, कास्कीको पर्यटकीय गाउँ ल्वाङ घलेलतर्फ । चलनचल्तीमा ल्वाङघलेल भनिए पनि यी दुई गाउँ वारि पारी रहेछन् । हामी चाहिं अन्नपूर्ण अनि माछापुच्छ्रे हिमालको ठ्याक्कै पारिपट्टी बसेको ल्वाङ गाउँ पुग्यौं, जहाँ नयाँ शक्तिको बैठक बस्दै थियो । ल्वाङसम्मको साथी थिए कार्यक्रम व्यवस्थापनका सक्रिय पोखराकै दुईजना मित्रहरु – विकल पौडेल र सुनिल पौडेल । पोखराको हेम्जाबाट उत्तरतिर मर्दी खोलाको किनारैकिनार हाम्रो यात्रा अघि बढ्यो । जति उत्तर लाग्यो, चिसोको मात्रा बढ्दै जान्थ्यो । यात्रामा अविश्मरणीय बन्यो मर्दी खोलाको असला माछाको तात्तातो झोल ।

खोराको मुख भन्ने ठाउँमा पुगेपछि ल्वाङ गाउँको लागि उकालो कच्ची सडक हुँदै हामी उकालो लाग्यौं । यहाँसम्म सहजै सवारी आवागमन हुने रहेछ, यसभन्दा माथि चाहिं सार्वजनिक सवारी साधनको रुपमा स्थानीय जिप मात्र चल्ने रहेछ । हामीलाई भने मोटरसाइकलले सजिलो भयो नत्र बैठकका सहभागी धेरै साथीहरुलाई हिंड्नु परेको थियो । त्यसो त यहाँबाट एकाध घन्टाको हाइकिङ पनि मज्जैको हुनेरहेछ ल्वाङसम्मको लागि । यद्यपि हामी मोटरसाइकलमा सवार यात्री थियौं, त्यसैले हाइकिंङमा रमाउने अवसर हामीलाई मिलेन ।

ल्वाङ पुग्दा साँझ झमक्कै परेको थियो । जानेबित्तिकै स्थानीय होमस्टेमा बस्ने बासको चाँजोपाँजो मिलाएर यसो बाहिर टहलिन निस्किइयो । जुनेली रात आकाश कञ्चन थियो । यसो उत्तरतिर नियालेको त नवदुलहीले जस्तो हिउँको पच्छ्यौरी ओढेर लजाइरहेको जस्तो देखिन अन्नपूर्णको दृष्य अलौकिक देखिइरहेको थियो । अब कतिबेला बिहान होला र सुनौलो हिमाल हेरांैला झैं भयो । पोखराबाट २२ किलोमिटरको दूरीमा रहेको माछापुच्छ्रे गाउँपालिकास्थित ल्वाङ गाउँ १४६० मिटरको मध्य उचाईमा रहेको एउटा पहाडी गाउँ हो । यहाँबाट देखिने सूर्योदयको दृष्य, ठ्याक्कै पारिपट्टी देखिने माछापुच्छ्रे हिमालको विशाल पर्खाल अनि अन्नपूर्णको लज्जावती रुप तथा हिमचुली चुचुरोको अलौकिक सुन्दरताले जोकोहीलाई आकर्षित गर्छ नै ।

भोलिपल्ट बिहान सवेरै हामी सूर्योदयको दृष्य हेर्न आधा घन्टाको उकालो चढेर ल्वाङको सिरानमा रहेको अन्नपूर्ण अर्गानिक चियाबगानमा पुग्यौं । लेकाली ढुंगा चिटिक्क मिलाएर बनाएको सिंढी चढ्दै हामी बिहान भुकभुकेमै उकालो लाग्यौं । तराईतिर बस्ने बानीले उकालो चढ्न गारो भएको महशुस भयो । जसै चिया बगानमा पुगियो घामको पहिलो किरणले एकैचोटी माछापुच्छ्रे अनि अन्नपूर्ण हिमालको टुप्पो चुम्यो । घामको पहिलो झुल्को पर्दा एकाएक चाँदीमा सुनारले सुनको लेपन गर्दा रंग परिवर्तन भएजस्तो सेता हिमाल पहेँलपुर हुन पुग्यो । 

हरियाली वन अनि वनको बीचको अर्गानिक चियाबारीको कम्पोजिसन ल्वाङ गाउँको शीरमा लागेको प्राकृतिक टोपी झैं देखिन्थ्यो । सूर्योदयपूर्वको भुकभुके उज्यालोको दृष्य हुँदै, घामको पहिलो किरण अनि चर्को घामको किरण हिमालमा पर्दा फेरिने रंगले अलौकिक आनन्द दियो । त्यस्तै चियाका मुनाहरुमा परेका शीतका थोपामा घामको किरण पर्दा देखिने चम्काइले सबैको आँखालाई रोमाञ्चकता थपिरहेको थियो । अनि दक्षिणतर्फ लमतन्न सुतिरहेको मर्दी खोलाको फाँट र त्यो फाँटको अन्त्यतिर निकै भुईंबाट उदाइरहेको रातो घामको दृष्यले जोकोहीलाई मोहित पार्छ नै । हामी पनि यहि दृष्यले मन्त्रमुग्ध भयौं । केहीबेर यहि दृष्यमा लुकामारी खेल्दै आआफ्ना मोबाइल अनि क्यामेरामा यिनै दृष्यहरु कैद गर्दै विस्तारै ओरालो झर्यौं ।

लेकाली ढुंगा छापिएका चिटिक्क परेका सिंढीयुक्त बाटो, ढुंगाले नै छाएका घर, ढुंगाकै पर्खाल अनि आँगन गुरुङ बस्तीको घर संस्कृति हो । बाटो अनि घरवरिपरी लहलह फुलेर भुईंतिर नुहेको लालुपाते फूलले पनि पाहुनालाई नै स्वागत गरिरहेझैं लाग्दथ्यो । अनि आफ्नै करेसाबारीमा फलेका सिजन अनुसारका तरकारीसँग साधारण गाउँले खाना यहाँको अर्को विशेषता हो । पर्खालमा बसेर ठ्याक्कै पारिपट्टी देखिने माछापुच्छ्रे अनि अन्नपूर्ण हिमाल हेर्दै खाना खानुको मज्जा पनि बेग्लै हुनेरहेछ । हामीले पनि तीन दिनसम्म यही मज्जा लियौं ।

अन्तिम रात हामीलाई गाउँलेहरुले सांस्कृतिक कार्यक्रम देखाए । साँझ ९ बजे सुरु भएको सांगितीक प्रस्तुति झण्डै २ घन्टा चल्यो । जुनेली रातमा जुनको प्रकाशले अन्नपूर्ण, हिमचुली अनि माछापुच्छ्रेको हिउँ टल्केको प्रस्ष्टै देखिन्थ्यो । हामी पाहुनाहरु अनि स्थानीय महिला गृहिणीहरु सबै कामधन्दा सकेर सामुदायिक भवनको खुल्ला आँगनमा बिच्छ्याइएको गुन्द्रीमा बस्यौं । साँझको सिरेटो बेस्सरी चलिरहेको छ, तै पनि गानाबजानाले वातावरणमा न्यानोपन थपिरहेको छ । आकाशमा जुनसँगै ताराहरु चम्किरहेका छन् । रात चिसो छ, तर पनि सबैको मुहारमा मुस्कान छ, मनोरञ्जनको भोक छ । सबैजना चिसो रातको निद्रालाई एकछिन थाँती राखेर सांगितिक कार्यक्रम हेर्न उत्सुक छौं ।

केही स्थानीय युवाहरुले मेलोडियस शैलीमा ‘रमाइलो यो ठाउँमा, स्वागतम् ल्वाङ गाउँमा’ भन्दै स्वागत गीत गाए । त्यसपछि लाउडस्पिकरमा गीत घन्किन्छ, ‘ल्वाङ गाउँमा फूलै फुलेको’ । गीतको लयमा ताल मिलाउँदै एक युवती पारम्परिक पोशाकमा आकर्षक नृत्य गर्छिन् । हो, यहाँका स्थानीयहरुले होमस्टेमार्फत स्वआर्जनको बाटो अवलम्बन गरेका छन् । गाउँको विकास र गाउँलेहरुको आय आर्जनका लागि होम स्टेको अवधारणा ल्याउने स्थानीय अगुवा राजेन्द्र तमु भन्छन् – ‘गाउँको प्राकृतिक सुन्दरता अनि गुरुङ जातिको कला र संस्कृति प्रवद्र्धन गर्दै पाहुनाहरुलाई खुसी पार्नु हाम्रो कर्तव्य हो ।’

प्राकृतिक सुन्दरताले भरिपूर्ण ल्वाङ गाउँमा जान केही घन्टा हाइकिङ नै उपयुक्त हो तर पनि स्तरीय सडकले गाउँमा आउने पर्यटकहरुको संख्या बढ्ने र त्यसले गाउँलेहरुको आयस्तर पनि बढ्न जाने हुँदा गाउँमा पुग्न एकमात्र कच्ची सडकको स्तरोन्नति चाहेका छन् यहाँका बासिन्दाले । पर्यटकीय क्षेत्रको रुपमा परिचित ल्वाङको अर्को समस्या ढेडु बाँदर रहेछ । बाँदरले बालीनाली सखाप पार्ने हुँदा बाँदर नियन्त्रणमा उचित पहल गर्न सके गाउँलेहरु निकै खुसी हुनेथिए । सबैको चाहना थियो, ‘प्रकृतिले ल्वाङलाई सबै कुरा दिएको छ, अब यसलाई व्यवस्थित बनाउँदै आकर्षक पर्यटकीय गन्तव्य बनाउनुपर्छ ।’  झरनाको पानीसँगै डोरीको सहायताले तल झर्ने खेल क्यानोनिङ संचालन गरिरहेका स्थानीय युवा सम्राट गुरुङ भन्छन् – ‘आधुनिक विकाससँगै यहाँको कला संस्कृति र प्राकृतिक सुन्दरताको संरक्षण गर्दै ल्वाङलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने लक्ष्य रहेको छ ।’

तीन दिनको ल्वाङ बसाईबाट जुन अनुभव हासिल गरियो र जसरी यहाँका स्थानीय दिदी बहिनी अनि आमा बुवाहरुसँग घुलिमल भइयो, त्यसले मस्तिष्कलाई त रिफे्रस बनायो नै मनलाई पनि मोहनी लगाएको छ । ल्वाङ बसाईको क्रममा गुरुङ समुदायको सद्भावपूर्ण न्यानो स्वागत अनि उनीहरुको आत्मीय व्यवहारले जोकोहीलाई पुनः फर्किन मन लाग्छ । लाग्दथ्यो, हामी त्यो गाउँमा वर्षौंदेखि परिचित छौं । हामी पाहुना पटक्कै होइनौं । हामी पनि यहिँका एक सदस्य हौं । अनि ल्वाङ छाड्दै गर्दा कता कता परिवारबाटै छाढिएजस्तो अनुभूति भइरहेको थियो । विदाइका लागि हल्लिरहेका हातहरुतिर फर्किंदै हामी भन्दै थियौं, ‘फेरि भेटौंला है ।’
नयाँपत्रिका दैनिकमा प्रकाशित 

No comments:

Post a Comment

गुणस्तरीय शिक्षाका आधारहरु

मनिकर कार्की “निवर्तमान” विगतमा जस्तै यसवर्ष पनि माध्यामिक शिक्षा परीक्षाको परीक्षाफल प्रकाशित भएको छ । प्रवेशिकाबाट माध्यामिक शिक्षा परी...