बहसमा वैकल्पिक राजनीति - ३ ‘वैकल्पिक शक्ति’का विकल्पहरू




मनिकर कार्की निवर्तमान 
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधान जारी भएसँगै मुलुकको राजनीतिक गन्तव्य बदलिएको निष्कर्षसहित वैकल्पिक राजनीतिको आवश्यकता महसुस गर्दै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको नेतृत्वमा नयाँ शक्ति पार्टी स्थापना भएको हो । दशरथ रंगशालाबाट हजारौँ समर्थकले सामूहिक शपथ लिएर घोषणा भएको नयाँ शक्तिले स्थापनाको डेढ वर्ष बित्न नपाउँदै तीनवटा निर्वाचनको सामना गरेको छ ।
यसले बदलिएको राजनीतिक गन्तव्यको सुस्पष्ट व्याख्या गर्दै समृद्धिमुखी राजनीतिका लागि ‘५ स’ को राजनीतिक कार्यदिशा तय गरेको छ भने राजनीतिक स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय शासनसहितको सुशासन र सदाचारको पक्षमा वकालत गर्दै आएको छ ।
त्यस्तै, बिबिसीका पत्रकार रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीले राजनीतिमा नैतिकता र इमानदारीको खडेरी परेको भन्दै सदाचार, सुशासन र राजनीतिक इमानदारीलाई आफ्नो मुख्य लक्ष्य बनाएको छ । विवेकशील साझाले विचारलाई होइन विकासलाई जोड दिनुपर्छ भन्दै समृद्धिमुखी अभियानमा लाग्नुपर्ने आवश्यकतामाथि जोड दिँदै आएको छ । तर, यसपटकको निर्वाचनमा प्रतिस्पर्धीका रूपमा छुट्टाछुट्टै चुनावी मैदानमा उत्रिएका दुई वैकल्पिक पार्टीले आशातीत परिणाम ल्याउन भने सकेनन् ।
अबको वैकल्पिक रणनीति : 
गएको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा वैकल्पिक शक्तिका रूपमा नयाँ शक्ति र विवेकशील साझाले राष्ट्रिय पार्टी बन्ने घोषित लक्ष्य हासिल गर्न सकेनन् । नयाँ शक्ति पार्टीका संयोजक डा. भट्टराईले गोखा– २ बाट प्रतिनिधिसभाको निर्वाचन जिते भने रसुवा र गोर्खाबाटै दुईवटा प्रदेश सभामा नयाँ शक्तिले विजय हासिल ग¥यो । उता, विवेकशील साझाले प्रत्यक्षतर्फ कतै पनि विजय हासिल गर्न सकेन । तर, समानुपातिकतर्फ नयाँ शक्तिभन्दा विवेकशील साझाले झन्डै तीन गुणा बढी मत ल्यायो ।
अब यहीँनेर दुई वैकल्पिक पार्टीले अबको पाँचवर्षे राजनीतिक यात्रामा रणनीतिक योजना बनाउनुपर्ने आवश्यकता देखिएको छ । जन्मिँदै प्रतिस्पर्धीका रूपमा गतिविधि सञ्चालन गरिरहेका दुई वैकल्पिक पार्टीले नेपाली समाजको चुनावी मनोविज्ञानलाई बुझ्न सकेनन् वा चाहेनन् । एकातिर दुई ठूला कम्युनिस्ट पार्टीको चुनावी एकता र अर्कातिर ठूलो दल कांग्रेस अन्य केही पार्टीसँगको गठबन्धनसहित चुनावी प्रतिस्पर्धामा उत्रिएका दलसँग प्रतिस्पर्धा गर्न दुई वैकल्पिक पार्टीले कार्यगत एकतासमेत गर्न नसक्दा विकल्प निर्माणका लागि भन्दै पाएको मतको उपयोग हुन सकेन ।
नयाँ शक्तिले सुरुमा आफूलाई वैकल्पिक धारमा उभ्याएकाले वैकल्पिक राजनीतिको जननी नयाँ शक्ति नै हो । तर, नयाँ शक्तिले आफूलाई वैकल्पिक राजनीतिक शक्तिका रूपमा परिचित गराउँदै गर्दा वैकल्पिक राजनीतिका अन्तर्वस्तुबारे मसिनो गरी आमनागरिकलाई दीक्षित गर्न सकेको छैन ।
त्यही उद्देश्यसहित निर्मम ढंगले विगतका अभ्यासको समीक्षा गर्दै आगामी राजनीतिक कार्यदिशा तय गर्न नयाँ शक्तिले यही १८–२० पुसमा कास्कीमा केन्द्रीय कार्यकारी समितिको विस्तारित बैठक सम्पन्न गरेकाे छ । नयाँ शक्तिको बैठकले पार्टीलाई नयाँ जीवन दिएर विकल्प निर्माणको दिशामा अडिग भएर लाग्ने निर्णय गरेकाे छ । यद्यपि नयाँ शक्तिले अब अागामी फागुन दाेस्राे साता संघीय परिषद्काे विस्तारित बैठक बाेलाएकाे छ । अब त्यही बैठकले नयाँ शक्तिकाे राजनीतिक भविष्य निर्धारण गर्नेछ । अब नयाँ शक्तिसामु  यिनै दुई विकल्प बाँकी रहेका छन् ।
विकल्प १ : वैकल्पिक धारको संरक्षण : 
नयाँ शक्तिका लागि पहिलो विकल्प भनेको आफ्नो अर्गानिक विचारलाई जोगाइराख्ने हो । नयाँ शक्ति यो देशमा वैकल्पिक राजनीतिको आवश्यकता महसुस गरेर जन्मिएको पार्टी हो । मुलुकको राजनीतिक गन्तव्य बदलिएको छ, र त्यो बदलिएको गन्तव्यमा पुग्नका लागि राजनीति गर्ने तौरतरिका, शैली, संस्कार र नेतृत्व पनि बदलिनुपर्छ । अनि त्यहाँ पुग्नका लागि नयाँ दर्शन र विचारको आवश्यकता पर्छ भनेर नयाँ शक्ति जन्मिएको हो । त्यस हिसाबले नयाँ शक्ति जुन उद्देश्य पूरा गर्नका लागि जन्मिएको हो त्यसैमा लाग्नु नै यसका लागि पहिलो विकल्प हो । यद्यपि, वैकल्पिक राजनीतिका अभियन्ताले बुझ्नुपर्ने के हो भने यो लामो बाटो हो र भविष्यमुखी यात्रा हो । यसमा तत्काल शक्ति र सत्ता प्राप्त गर्ने कुनै आसक्ति रहनु हुँदैन । वैकल्पिक राजनीति असंगति र कुसंस्कारमा डुबेको राजनीतिलाई असल र संगतिपूर्ण बनाउने महान् अभियान पनि हो ।
यसका लागि विगतमा भएगरेका गल्ती तथा कमजोरी सच्याउँदै राजनीतिक विकल्पका लागि निर्माण भएका सबै वैकल्पिक शक्तिले एउटा केन्द्र निर्माण गरेर सहकार्य गर्नु अनिवार्य हुन्छ । किनकि, आफूलाई विकल्पको पनि विकल्पका रूपमा प्रस्तुत गर्दा शक्ति छरिने मात्र हुन्छ, र त्यसले आमनागरिकमा भरपर्दो राजनीतिक विकल्पको विश्वसनीयता कमाउन सक्दैन ।
विकल्प २ : मूलधारको राजनीति : 
यद्यपि, नेपालको आर्थिक तथा सामाजिक विकासअनुसार वैकल्पिक राजनीतिको परिभाषा पूर्ण रूपले हुन सकेको छैन । हामी अझै पनि राजनीतिक स्थायित्व र राजनीतिक उपलब्धिका लागि संघर्षरत छौँ । बल्ल देशमा नयाँ संविधान बनेको छ । विकास र समृद्धिका मुद्दा राजनीतिका मुख्य एजेन्डा बन्न पुगेका छन् । त्यसैले सामान्य स्तरको विकास र समृद्धि हासिल नहुँदासम्म हामीले भन्ने वैकल्पिक राजनीतिमा पनि तिनै मूलधारका विकास र समृद्धिका मुद्दा नै प्रमुखतासाथ देखा पर्नेछन् । अनि वैकल्पिक राजनीतिले पनि त्यही आर्थिक विकास र समृद्धिलाई मुख्य विषय बनाइरहँदा मेनस्ट्रिम र वैकल्पिकबीच के भिन्नता रह्यो भन्ने प्रश्न पनि जन्मिएको छ । वास्तवमा यी मुद्दा पारम्परिक राजनीतिकै विषय हुन् । हाम्रोमा पारम्परिक राजनीतिले त्यो पूरा गर्न सकेन भनेरै त्यसलाई वैकल्पिक राजनीतिको अन्तर्वस्तुका रूपमा ग्रहण गरिएको हो । तर, यसपालिको चुनावी नतिजा र अन्य दलको चुनावी एजेन्डा हेर्दा अब मूलधारका पार्टीले पनि विकास र समृद्धिको मुद्दालाई मुख्य नबनाईकन राजनीति चल्नेवाला छैन । त्यसैले अहिले विकास र समृद्धिको एजेन्डा अब सबैको साझा एजेन्डा बनेको छ ।
वैकल्पिक कि मेनस्ट्रिम ? 
यसपालिको निर्वाचनमा एकातिर मूलधारका राजनीतिक पार्टीले विकास, समृद्धि र राजनीतिक स्थायित्वलाई मुख्य मुद्दा बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिए र तिनले विजय हासिल गरे । तर, समग्र राजनीतिक प्रणाली र अभ्यासकै विकल्पका रूपमा आफूलाई प्रस्तुत गर्दै सदाचार र सुशासनलाई आफ्नो राजनीतिक एजेन्डा बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका वैकल्पिक राजनीतिक पार्टीहरूले भने विजय हासिल गर्न सकेनन् । वैकल्पिक राजनीतिक पार्टीहरू भरपर्दो राजनीतिक विकल्पका रूपमा प्रस्तुत हुन सकेनन् र आमनागरिकले यसपटक मूलधारलाई नै रोजे । यसका पछाडि अहिलेको राजनीतिमा मेनस्ट्रिमका मुद्दा बाँकी नै रहनु हो । 
अब वैकल्पिक राजनीतिक शक्तिले पनि कि त आफूलाई एकीकृत रूपले सशक्त विकल्पका रूपमा उभ्याउन सक्नुपर्छ नत्र मूलधारको राजनीतिमै आफ्ना एजेन्डालाई घुसाउने उद्देश्य राखेर विकास र समृद्धिमा सहकार्य गर्दै अघि बढ्नुपर्छ । यदि अहिलेदेखि नै विकल्प निर्माणलाई जोड दिने हो भने वैकल्पिक राजनीतिका लागि राजनीतिको परिभाषा बदलेर मात्र नहुने रहेछ, त्यसमा वैकल्पिक अनुहार पनि जरुरी हुने रहेछ भन्ने कुरा मनन गर्दै आफूलाई दिगो र विश्वसनीय विकल्पका रूपमा उभ्याउन सक्नुपर्छ ।
नयाँ पत्रिकामा प्रकाशित

No comments:

Post a Comment

कस्तो विकास, कस्तो अर्थतन्त्र

मनिकर कार्की निवर्तमान सामान्य अर्थमा अपेक्षित दिशातर्फको परिवर्तन, उत्पादन र उपभोगको वृद्धि, भौतिक पूर्वाधारको निर्माण नै विकास हो।...