बहसमा ‘प्रगतिशील समाजवाद’


मनिकर कार्की निवर्तमान
राजनीतिले समाजको अन्तरविरोध पहिचान गरी त्यसको हल गर्छ र व्यक्ति, समाज र राष्ट्रलाई समृद्ध तुल्याउने कसरत गर्छ । फरक कालखण्ड र परिवेशमा देखापर्ने फरक प्रवृत्तिका अर्थराजनीतिक अन्तरविरोध समाधान गर्दै बदलिएको राजनीतिक गन्तव्यलाई स्पष्ट दिशानिर्देश गरी देशलाई आर्थिक विकास र समृद्धितिर लैजानु अबको राजनीतिक कार्यभार हो । अहिलेको राजनीतिक अवस्था र शक्ति सन्तुलनको पछिल्लो परिणामले केही अन्यौलता सिर्जना गरेसँगै अब विद्यमान समाजको अन्तरविरोध पहिचान गरी त्यसको हल गर्न केही नयाँ दृष्टिकोणको आवश्यकता देखिएको छ ।
अहिले वैकल्पिक राजनीतिका लागि अग्रसर नयाँ शक्ति पार्टी त्यही अन्तरविरोधको पचिना र समाधानमा कसरतरत छ । नयाँ शक्तिले सुरु गरेको वैकल्पिक राजनीतिक धारको संरक्षण गर्दै ५ सले निदृष्ट गरेको लक्ष्य हासिल गर्नका लागि अब वैचारिक राजनीतिक स्पष्टताका साथ पार्टीको सांगठनिक स्वरुप र कार्ययोजनालाई पनि नवीन र वैकल्पिक बनाउनु जरुरी देखिन्छ ।

वैचारिक पक्ष
वैकल्पिक राजनीतिका लागि राजनीतिक विचार, सिद्धान्त, नीति कार्यक्रमहरु पनि वैकल्पिक हुन जरुरी हुन्छ । विकल्पको कुरा राजनीतिमा मात्र होइन विचार, दर्शन, समाज, अर्थतन्त्र, शिक्षा, संस्कृतिहुँदै साहित्यमा पनि आउँछ । यसर्थ, यी सबैको समष्टिगत स्वरुप नै वैकल्पिक राजनीति हो । हामीले प्रतिपादन गर्न खोजेको वैकल्पिक राजनीति कस्तो हो ? के यो पारम्परिक राजनीतिको समग्र विकल्प हो या राजनीति गर्ने वैकल्पिक तरिका ? यसमा पनि स्पष्टता हुनु जरुरी देखिन्छ । अनि अर्को कुरा विकल्पका लागि समाजको विद्यमान अर्थराजनीतिक प्रणाली र सामाजिक सांस्कृतिक सम्बन्धले असर गर्छ कि गर्दैन ? हाम्रा पारम्परिक सामाजिक एवं सांस्कृतिक सम्बन्धहरुलाई कसरी वैकल्पिक बनाउने ? व्यक्ति, परिवार र समाजको अन्तरसम्बन्ध अनि अन्तरनिर्भरताको पुर्नपरिभाषा के हो ? यसले विकल्प निर्माणमा असर गर्छ कि गर्दैन ? हाम्रो जीवन पद्धती अनि विकासको स्तरले विकल्पको खोजी गर्छ कि गर्दैन ? हो, वैकल्पिक राजनीतिमा यी प्रश्नहरुको पनि सुस्पष्ट उत्तर खोजिनुपर्छ । साथै आम नागरिकको दैनिकी र जीवनशैलीसँग जोडिएका सवालहरुलाई पनि ध्यान दिनैपर्छ । तब मात्र हामी विकल्प निर्माणमा अग्रसर हुन सक्छौं ।

नयाँ शक्ति पार्टीले स्थापनाकालदेखि अंलाग्दै आएको राजनीतिक दर्शन निरन्तर गतिशिलताको नियम हो । पूँजीवादी दर्शनले दुई विपरित प्रवर्गहरु एउटा नियमित गोलचक्करमा अर्थात् साइक्लिक अर्डरमा हुन्छ भन्ने मान्यता राख्छ भने पारम्परिक समाजवादी दर्शनले चाहिं दुई विपरित प्रवर्गहरुले एकले अर्कोलाई निषेध गरेर आफ्नो अस्तित्व खडा गर्ने व्याख्या गरेको हुन्छ । अब नयाँ शक्तिले विगतमा गरेको वैचारिक, दार्शनिक अनि राजनीतिक मार्गदर्शनलाई अझ बढी सुस्पष्ट ढंगले व्याख्या गर्नुपर्ने देखिएको छ । पूँजीवादी दर्शनले व्याख्या गरेजस्तो दुई विपरित प्रवर्गहरु साइक्लिक अर्डरमा स्थिर भएर बस्दैनन् । अर्थात् त्यो नियमित गोलचक्करमा होइन, समयको बहावसँगै ती प्रवर्गहरु गतिमा रहन्छन् र त्यो साइक्लिक अर्डरमा होइन किन्तु स्पाइरल अर्डरमा रहन्छ, अगाडि बढ्नको निमित्त । यसर्थ, यहाँनेर नयाँ शक्तिले आफ्नो दार्शनिक पक्षलाई स्पष्टसँसग उजागर गर्नुपर्छ । पूँजीवादी र साम्यवादी दुई ध्रुवीय विश्वमा नयाँ शक्ति समाजवादी तेस्रो धु्रव निर्माण गर्ने पक्षमा उभिनुपर्छ । हुन त साम्यवादी दर्शन मान्नेहरुले पनि समाजवादकै कुरा गर्छन् तर, तिनीहरुले केवल साधनको रुपमा यसको व्याख्या गरेका छन् । अब गैरकम्युनिष्टहरुले समाजवादी ध्रुवलाई नै सशक्त विकल्पको रुपमा अगाडि बढाउने घोषणा र हिम्मत गर्नैपर्छ ।

विकल्पले व्यक्ति, समाज र समग्र राष्ट्रको जीवनमै परिवर्तन खोज्छ । अहिलेको विद्यमान अवस्थामा परिवर्तन नै गतिको नियम हो । अनि प्रगतिशीलता नै परिवर्तनको मुख्य प्रक्रिया र गतिशिलताको अभ्यास पनि हो । समाजवाद पूँजीवादी आर्थिक प्रणाली अनि राजनीतिक सिद्धान्तको उत्कृष्ट विकल्प हो । यसर्थ, नयाँ शक्तिले अब ‘प्रगतिशील समाजवाद’ (प्रोगेसिभ सोसलिज्म) लाई आफ्नो मुख्य वैचारिक एवं मार्गदर्शक सिद्धान्तको रुपमा ग्रहण गर्नु उपयुक्त हुने देखिन्छ ।

राजनीतिक कार्यदिशा 
राजनीतिक पार्टी स्थापना गर्नुको मुख्य उद्देश्य विद्यमान समाजको अन्तरविरोध हल गर्दै नागरिकको हितमा काम गर्नु हो । अहिलेको हाम्रो समाजको अन्तरविरोध र त्यसलाई हल गर्ने तरिकालाई नयाँ शक्तिले ५ सको सिद्धान्तमा संक्षेपिकरण गरेको छ । यसर्थ, नयाँ शक्तिले लिएको ५ सको सिद्धान्त नै हामीले निर्धारण गरेको प्रगतिशील समाजवादमा पुग्ने आधार हो । ५ स मध्येको एउटा स (समुन्नत समाजवाद) नयाँ शक्तिको राजनीतिक ध्येय अर्थात् गन्तव्य हो । समुन्नत समाजवादको व्याख्यानको रुपमा मानिसको निजत्वसहितको सामुहिकता र सबै नागरिकको जीवनस्तरमा एउटा न्यूनतम् मापदण्डसहितको प्रगतिलाई अगाडि सारेको छ । किनकि समाजवादको पारम्परिक व्याख्यान केवल राष्ट्रिय आयको वितरणमै केन्द्रित देखिन्छ भने समुन्नत समाजवादको व्याख्यानले वितरणको साथसाथै उत्पादन र ढुकुटीको सुदृढिकरणलाई पनि सँगसँगै लिएर जान्छ ।

नयाँ शक्तिले लिएको समुन्नत समाजवादको लक्ष्य पूरा गर्ने माध्यम भनेको अर्को स अर्थात् ‘समतामूलक समृद्धि’ नै हो । हामी राजनीतिक रुपले अगाडि भयांै तर आर्थिक उत्पादनका हिसाबले निकै पछाडि छौं । पटकपटकको राजनीतिक संघर्षबाट अधिकार त पायौं तर, त्यसलाई नागरिकसमक्ष पुर्याउनको लागि हामीसँग वितरणको आधार भएन । अर्थात् उत्पादन भएन । हाम्रो अर्थतन्त्र यति पिछडिएको छ कि त्यसको विकास नगरेसम्म संविधानप्रदत्त राजनीतिक अधिकारहरुको उपयोग पनि हुन सक्दैन र तिनको संरक्षण पनि संभव छैन । त्यसकारण विद्यमान अन्तरविरोध हल गर्दै अबको परिवर्तित राजनीतिक गन्तव्यमा पुग्नको लागि समतामूलक समृद्धि हाम्रो मुख्य साधन हुनेछ र बनाउनुपर्छ ।

अब बाँकी रहेका तीन स को व्याख्यान समतामूलक समृद्धिको पूर्व शर्तको रुपमा गर्न सकिन्छ । जब समाज बहुवर्गीय र बहुध्रुवीय हुँदैछ भने त्यहाँ राजनीतिक हक, अधिकार र पहिचानका मुद्दाहरु मुखरित हुन्छन् । अनि हामीले व्यवहारतः हामीले औपचारिक वा कर्मकाण्डी खालको लोकतन्त्रमार्फत ती मुद्दाहरुलाई समाधान गर्ने चेष्टा गरिरहेका छौं । यसको हल भनेको संविधानले व्यवस्था गरे अनुसारको समावेशी र समानुपातिक लोकतन्त्रको अभ्यास नै हो । हामीले अहिलेसम्म औपचारिक लोकतन्त्रको व्याख्या गर्यौं तर, त्यो लोकतन्त्रलाई कसरी समावेशी बनाउने र कसरी सहभागितामूलक बनाउने अनि कसरी उन्नत बनाउने ? भनेर कहिल्यै बहस गरेका छैनौं । त्यसैले अब लोकतन्त्रकै समृद्धिकरणका लागि यो अन्तरविरोधको हल गर्दै विशिष्ट प्रकृतिको समानुपातिक, सहभागितामूलक अनि समावेशी लोकतन्त्रको अभ्यास गर्नुपर्छ ।

विकास र समृद्धिको अर्को पूर्वशर्त हो ‘स्वाधीनता÷सार्वभौमिकता’ । इतिहासदेखि नै हामी हिनाताभावयुक्त ‘दुई ढुंगाबिचको तरुल’ दृष्टिकोणमा बाँच्यौं । नेपाल यसैपनि दुई ठूला देश भारत र चीनबीचको भूराजनीतिक जटिलतामा छ । यसर्थ, हामीले आफ्नो राष्ट्रियता र स्वाधिनताको रक्षा गर्दै यी दुईवटै देशको आर्थिक विकासबाट लाभ लिनसक्नुपर्छ । यसरी छिमेकी मुलुकबाट लाभ लिनको लागि कुनै एक अमूक छिमेकीलाई नजिक र अर्कोलाई टाढा होइन, दुवैसँग रणनीतिक सन्तुलन मिलाएर समृद्धितर्फ अग्रसर हुनुपर्छ । यो अन्तरविरोधको समाधान दुई देशबीच गतिशील सम्बन्ध अनि हाम्रो स्वाधीनता र सार्वभौमसत्ताको सम्वद्र्धन र प्रवद्र्धन नै हो ।

समृद्धिको अर्को पूर्वशर्त हो ‘सुशासन÷सदाचार’ । सिद्धान्ततः हामी जहिल्यै सदाचार र सुशासनका कुरा गर्दछौं तर, व्यवहारतः हाम्रो आचरण भ्रष्ट भइदिन्छ । हामी सधैं एउटा आदर्श समाज र राज्यको कल्पना गर्न पुग्दछौं तर, आफैं ससानो अवसरमा लोभिन्छौं । आफू र आफ्नो घरपरिवार अनि आफ्नै वरिपरीका मान्छेहरुका आवश्यकताले घेरिन पुग्दछौं । परिणामतः हामी कुनै न कुनै भ्रष्टाचारजन्य गतिविधिमा फस्न पुग्दछौं । अहिलेसम्मको राजनीतिक अभ्यास हेर्दा हामीले नारामा भ्रष्टाचाररहित सुशासित अनि चरित्रवान् आदर्श राजनीति अनि व्यवहारमा प्रदूषित र स्खलित राजनीतिकै संरक्षण गर्ने दैध चरित्र प्रदर्शन गर्यौं । यसर्थ, यसको अन्त्य गरेर व्यवहारतः सुशासन र सदाचारयुक्त स्वच्छ र सफा राजनीति अवलम्बन गर्न जरुरी छ ।

तत्कालीन कार्यभार
पुर्नगठनको संघारमा रहेको नयाँ शक्तिले विगत दुई वर्षे राजनीतिक यात्राबाट आर्जन गरेको अनुभवलाई अब जीवन व्यवहारमा लागू गर्नुपर्छ । राजनीतिक व्यवस्थामा आएको बदलावलाई आम नागरिकले प्रत्यक्ष अनुभूति गर्नका लागि उनीहरुको जीवनशैलीमा बदलाव आउनै पर्छ । उनीहरुको दैनिकी फेरिनै पर्छ । यसर्थ, नागरिकको अवस्था फेर्ने अभियानमा नयाँ शक्तिले गर्नुपर्ने तत्कालीन कार्यभार भनेको उनीहरुका दैनिकीसँग जोडिएका आर्थिक एवं सामाजिक विषयवस्तुहरुलाई तत्कालीन राजनीतिक मुद्दा बनाउनु नै हो । यो देश वर्षौंदेखि गरिबी, बेरोजगारी, भ्रष्टाचार अनि अनियमितताको चपेटोमा परेको छ । राजनीति गर्ने पुरानै तरिका, संस्कार र पात्रका कारण आम नागरिकमा आशाको सञ्चार हुन सकेको छैन । राजनीतिक बजारमा भरपर्दो विकल्प देखिएको छैन । व्यवस्थामा आएको परिवर्तनले केवल नेता र तिनका परिवारमा मात्र बहार आएको छ, आम नागरिकको दैनिकी अझ कष्टकर नै छ । यसर्थ गरिबी, बेरोजगारी, भ्रष्टाचार र कुशासनका विरुद्ध सामाजिक अभियान संचालन गर्नु अबको पहिलो कार्यभार हो ।

त्यसैगरी अहिलेको शासकीय स्वरुपले देशमा राजनीतिक स्थायित्व पनि नदिने र त्यसले राजनीतिलाई पारदर्शी एवं सुसंस्कारित बनाउन पनि नसक्ने हुँदा अब शासकीय स्वरुप फेर्ने विषयमा पनि अझ सशक्त अभियान संचालन गर्नुपर्ने देखिन्छ । चुनावताका खासगरी वाम गठबन्धनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको मुद्दालाई आफ्नो मुख्य चुनावी नारा बनाएको थियो । तर, चुनावपछि वाम गठबन्धन यो विषयमा मौन छ । उनीहरु अहिलेकै व्यवस्थाबाट स्थायी सरकार दिने घोषणा गरिरहेका छन्, तर नेपालको विगतको संसदीय अभ्यास हेर्दा एउटै दलले बहुमत ल्याउँदा पनि ५ वर्ष सरकार टिक्न सकेको छैन । यसर्थ, यो गठबन्धनले स्थायित्व ग्रहण गर्नेमा विश्वस्त हुने कुनै आधार छैन । त्यसकारण विगतमा जस्तै यो विषयलाई जोडतोडका साथ उठान गर्नुपर्ने आवश्यकता देखिएको छ ।

नयाँ शक्तिले अगाडि सारेका राजनीतिक कार्यदिशा लागू गर्न, नागरिक आवाजलाई मुखरित गर्ने सामाजिक अभियानहरु संचालन गर्ने र समृद्धिमुखी राजनीति गरी आम नागरिकको अवस्था फेर्ने नै यसको मुख्य राजनीतिक लाइन हो । अनि पार्टी अभियन्ताहरु आर्थिक, सामाजिक, सांस्कृतिक निजी र पारिवारिक जीवनमा पनि खुल्ला र पारदर्शी बनेर अघि बढ्ने नै यसको वैकल्पिक संस्कृति हो । अब नयाँ शक्तिले आफूलाई सशक्त वैकल्पिक राजनीतिक शक्तिको रुपमा स्थापित गर्न नयाँ पुस्तालाई कार्यकारी भूमिकामा अगाडि सार्नैपर्छ । यसका लागि हामीले विगतका गल्ती कमजोरीलाई गम्भीर रुपले समीक्षा गर्दै आफैंलाई रुपान्तरित गरेर राजनीतिलाई पुस्तान्तरण गर्ने हिम्मत गर्न सक्नुपर्छ ।

No comments:

Post a Comment

गुणस्तरीय शिक्षाका आधारहरु

मनिकर कार्की “निवर्तमान” विगतमा जस्तै यसवर्ष पनि माध्यामिक शिक्षा परीक्षाको परीक्षाफल प्रकाशित भएको छ । प्रवेशिकाबाट माध्यामिक शिक्षा परी...