‘वैकल्पिक राजनीति’को कार्यभार


मनिकर कार्की निवर्तमान
करिब पच्चीस सय वर्षअघि गौतमबुद्धले भनेका थिए – ‘दुःख छ । दुःखको कारण छ । दुःखको निवारण छ । ज्ञान, शील र समाधीको अष्टमार्गबाट दुःखको निराकरण गर्न सकिन्छ ।’ त्यहि बुद्धभूमिबाट नयाँ शक्ति पार्टीले संकल्प गरेको छ – ‘देशमा समस्या छ । समस्याको कारण छ । समस्याको निवारण छ । ‘५ स’ को मार्गबाट ‘समृद्ध नेपाल’ निर्माण गर्न सकिन्छ ।’ नयाँ शक्तिले गत फागुन दोस्रो साता लुम्बिनी बैठकबाट निकालेको निश्कर्ष र उद्घोष समृद्ध नेपाल निर्माणको सूत्र हो । त्यो सूत्र नयाँ शक्तिले अघि सारेको ५ स को सिद्धान्त हो ।

गौतम बुद्धले मानव जातिको हितका लागि र दुःख निराकरणका लागि जुन सूत्र प्रतिपादन गरेका थिए, त्यही बुद्धभूमिबाट नयाँ शक्तिले आजको बदलिँदो विश्वमा नयाँ वैकल्पिक राजनीतिको आवश्यकता र अपरिहार्यताको सन्देश दिएको छ । नयाँ शक्तिले यो देशको विकास, समृद्धि र प्रगतिको सूत्र प्रतिपादन गरेको छ । गएको फागुन दोस्रो साता सम्पन्न नयाँ शक्ति पार्टीको संघीय परिषद्को विस्तारित बैठकले प्रस्थान गरेको वैकल्पिक राजनीतिक यात्रालाई अघि बढाउने कडी स्वरुप अहिले नयाँ शक्तिले प्रादेशिक प्रशिक्षणात्मक कार्यक्रम सम्पन्न गरेको छ । यो आलेखमा अबको राजनीतिक गन्तव्य र त्यो गन्तव्यमा पुग्ने वैकल्पिक राजनीतिक कार्यदिशा र कार्यपद्धतिमा संक्षिप्त चर्चा गर्ने जमर्को गरिएको छ ।

अन्तरविरोधको पहिचान
राजनीतिको सुरुवात अन्तरविरोधबाटै हुन्छ । अन्तरविरोधको व्याख्या र हल गर्ने तरिका नै राजनीतिको मूल स्रोत हो । अनि राजनीति सामुहिक निर्णय प्रक्रिया र पद्धति हो, जसले राज्यको संरचना निर्माणसँगै शासन पद्धतिको अभ्यास गर्दछ । राजनीतिले विद्यमान सामाजको अर्थराजनीतिक अन्तरविरोधको पहिचान गरी त्यसको समुचित हल खोज्दछ । राजनीतिक पार्टीले आम नागरिकका दैनिकीलाई बदल्ने संकल्पका साथ काम गर्छन् र गर्नुपर्छ । राजनीतिले राज्यसँग भएका वा सिर्जित स्रोत साधन अनि अधिकारको प्रत्यायोजन गर्दै व्यक्ति, समाज र राष्ट्रलाई समृद्ध तुल्याउने लक्ष्य लिएको हुन्छ । अनि त्यही लक्ष्यलाई राजनीतिक पार्टीहरुले आफ्नो कार्यदिशा बनाएर अघि बढ्छन् । यसर्थ, सैद्धान्तिक रुपमा सबै राजनीतिक पार्टीहरुको उद्देश्य एउटै हुन्छ तर, तिनीहरुले अवलम्बन गर्ने कार्यशैली र तत्कालीन समाजको अन्तरविरोध पहिचान गर्ने विधि, प्रक्रिया र त्यसको हल गर्ने तरिका भने फरक हुन्छ ।

त्यही फरकपनाले राजनीतिक पार्टीको अस्तित्व आम नागरिकसमक्ष स्थापित हुने हो । जब समाजमा विद्यमान अन्तरविरोधको पहिचान ठीक ढंगबाट हुन सक्दैन, निसन्देहः त्यसको समाधान सहि हुन सक्दैन । समयक्रमसँगै व्यक्ति, समाज र राष्ट्रको अवस्था र आवश्यकता बदलिन पुग्छ । यसरी बदलिएको परिस्थितिमा राजनीतिको गन्तव्य पनि बदलिन जान्छ । यसर्थ, फरक कालखण्ड र परिवेशमा देखापर्ने फरक प्रवृत्तिका अर्थराजनीतिक अन्तरविरोध समाधान गर्दै बदलिएको राजनीतिक गन्तव्यलाई स्पष्ट दिशानिर्देश गरी देशलाई आर्थिक विकास र समृद्धितिर लैजानु अबको राजनीतिक कार्यभार हो । अनि मूलधारका राजनीतिक पार्टीहरु तत्कालीन राजनीतिक कार्यभारमा भन्दा बढी पारम्परिक व्याख्यान अनि राजनीतिक शैली र संस्कारमा लिप्त भएको हुँदा बदलिएको राजनीतिक कार्यभार पूरा गर्न अब विकल्प खोज्नैपर्छ ।

वैकल्पिक राजनीति किन ?
केही शास्वत कुराबाहेक संसारमा हरेक कुराको विकल्प हुन्छ । जस्तो घाम, जून र समयजस्ता केही सारभूत कुराहरुको विकल्प नहोला । तर, देश, समाज, परिवार र व्यक्तिको जीवन व्यवहारमा आइपर्ने हरेक समस्या र समाधानका विकल्पकहरु प्रशस्त हुन्छन् । ती सबै विकल्पहरुमध्ये सबैभन्दा उत्तम विकल्प जसले तत्काल समस्या पनि समाधान होस् र भविष्यका लागि फाइदा पनि पुर्याओस् भन्ने हो । यसर्थ, विकल्पको खोजी मानवीय प्रकृति पनि हो – चाहे सचेतन खोजी होस् वा अवचेतन । तथापि सचेतन ढंगले विकल्पको खोजी गर्न केही त्याग र योगदान अपरिहार्य हुन जान्छ । किनकि कहिलेकाहिं विकल्प सबैलाई समान ढंगबाट दृष्टिगोचर नहुन पनि सक्छ । तथापि समाज र व्यक्तिको दैनिकी विकल्पबिहीन हुँदैन, हुनुहुँदैन ।

मूलतः सिद्धान्त र व्यवहारको कसीमा हेर्दा राजनीतिको मूलधारमा रहेका पार्टीहरु सत्ता र शासनमुखी हुन्छन् । उनीहरुको चरित्र समाजलाई शासन गर्ने र आफू शासक बन्ने हुन्छ । हामीले हाम्रै सन्दर्भमा हेर्दा २०६४ सालमा आम गरिखाने जनताको हितका लागि भन्दै सशस्त्र संघर्षमार्फत मूलधारको राजनीतिमा उदाएको नेकपा माओवादीको १० वर्षको राजनीतिक यात्राले उसलाई पनि पुरानै सत्ताधारी दलहरुको कित्तामा उभ्याइदियो । माओवादीले संघर्षकालीन समयमा उठाएका परिवर्तन र विकासका अग्रगामी एजेण्डाहरु विस्तारै विस्मृत हुँदै गए ।

त्यसैले विकल्पको खोजी समाजको आम चरित्र हो, जुन कुरा सामाजिक जीवन व्यवहारसँगै राजनीतिमा पनि लागू हुन्छ । यद्यपि कस्तो विकल्प भन्ने कुरा भने समाजको सापेक्षतामा निर्भर रहन्छ । हरेक देशको विकासको अवस्था र स्तर अनि त्यहाँको वस्तुगत आवश्यकताले विकल्पको परिभाषा निर्माण गर्दछ । एउटा समुन्नत समाज अनि विकसित मुलुकको विकल्पको खोजी र पिछडिएको अर्थराजनीतिक प्रणाली भएको अविकसित मुलुकले खोज्ने विकल्प फरक हुनसक्छ । त्यसर्थ, युरोप अमेरिका जस्ता सम्पन्न मुलुकहरुमा वैकल्पिक राजनीति भन्नाले जे बुझिन्छ, नेपालमा ठीक त्यस्तै हुनुपर्छ भन्ने हुँदैन ।

हाम्रो सन्दर्भ, अवस्था र आवश्यकता अनुसार नै वैकल्पिक राजनीतिको परिभाषा निर्माण हुने हो । यद्यपि मूलधारको राजनीतिले जुन किसिमको विचार, शैली, संस्कार र प्रस्तुति दिइरहेको हुन्छ, त्यसले विद्यमान समाजको अन्तरविरोध हल गर्न सक्दैन भनेरै विकल्पको खोजी हुने भएकोले वैकल्पिक राजनीतिको विचार, सिद्धान्त, कार्यशैली, संस्कार र प्रस्तुतिभने मूलधारभन्दा भिन्न हुनुपर्दछ । मूलधारको भन्दा उन्नत सोच, विचार, सिद्धान्त र समस्या समाधानका उपाय लिएर अघि बढ्ने धार नै वैकल्पिक राजनीतिक धार हो । मूलधारले गर्न नसकेको काम पूरा गर्नकै लागि फरक विचार र शैलीसँगै वैकल्पिक राजनीतिको जन्म भएको हो ।

वैकल्पिक राजनीतिक कार्यदिशा 
अहिलेको हाम्रो समाजको मुख्य अन्तरविरोध र त्यसलाई हल गर्ने तरिकालाई नयाँ शक्तिले ‘५ स’को सिद्धान्तमा संक्षेपिकरण गरेको छ । नयाँ शक्तिले अवलम्बन गर्दै आएको ‘५ स’ मध्येको एउटा स (समुन्नत समाजवाद) हो । नयाँ शक्तिले यसलाई राजनीतिक ध्येय अर्थात् गन्तव्यको रुपमा परिभाषित गरेको छ । अहिलेसम्म स्थापित दुई विचार (पूँजीवादी र साम्यवादी)ले एक अर्कालाई निषेध गर्छन् । यी दुई धाराको आफ्नै कमीकमजोरी र एकांकी बुझाईका कारण अहिले दुवैथरि विचार संकटग्रस्त अवस्थामा छन् । ज्ञान र विज्ञानको क्षेत्रमा भएको पछिल्लो विकासलाई आत्मसात गर्दै व्यक्तिको आत्मीक सन्तुष्टि र खुसीलाई पनि दर्शनशास्त्रको अवयवको रुपमा समावेश गर्नुपर्नेमा यी दुई विचारले त्यसलाई समावेश गरेका छैनन् । मूलतः दुईले निषेधात्मक विकल्प नै प्रस्तुत गर्छन्, जुन जीवनव्यवहारमा असंभव रहेछ ।

पूँजीवादी विचारले अहिले विश्व हाँकिरहेको छ भने साम्यवादी विचार अब केवल कागजी ज्ञान र साहित्य सिर्जनामा नै सीमित हुने देखिएको छ । त्यसैले अब तेस्रो विकल्पको रुपमा ‘समुन्नत समाजवाद’ नै अबको परिवर्तित राजनीतिक गन्तव्य हो । अनि त्यहि गन्तव्य हासिल गर्नु वैकल्पिक राजनीतिको लक्ष्य हो । समाजवाद एउटा यस्तो आर्थिक एवं राजनीतिक प्रणाली हो जसले उत्पादनका साधनहरुको सामुहिक स्वामित्व र लोकतान्त्रिक नियन्त्रणको पक्ष पोषण गरेको हुन्छ । यसो भन्दा राज्यको नियन्त्रण बढी हुन्छ कि भन्ने जिज्ञासा आउन सक्छ । तर, समुन्नत समाजवादको व्याख्यानले राज्य र व्यक्ति अनि व्यक्ति र समाजबिचको सम्बन्धलाई अझ बलियो गरी स्थापित गरिदिन्छ । यसले मानिसको निजत्वसहितको सामुहिकतालाई प्रवद्र्धन गर्दछ । राज्यको सीमाभित्र बस्ने हरेक नागरिकको जीवनस्तरमा एउटा न्यूनतम् मापदण्डसहितको प्रगतिलाई यसले मुख्य ध्येय बनाएको हुन्छ ।

समुन्नत समाजवादमा प्रत्येक व्यक्तिले आफ्नो सिर्जनशील क्षमताको उपयोग गरी आफूलाई स्तरोन्नति गरेको हुन्छ । यदि कोही कमजोर छ भने उसलाई राज्यले जीवनयापनको न्यूनतम् आधार प्राप्त गर्न सहयोग गर्नेछ र हरेक व्यक्ति खुसी हुनेछन् । अब यो समुन्नत समाजवादको लक्ष्य पूरा गर्ने माध्यम भनेको अर्को स अर्थात् ‘समतामूलक समृद्धि’ हो । हामी राजनीतिक रुपले अगाडि भयांै तर आर्थिक उत्पादनका हिसाबले निकै पछाडि छौं । हाम्रो अर्थतन्त्र यति पिछडिएको छ कि त्यसको विकास नगरेसम्म संविधानप्रदत्त राजनीतिक अधिकारहरुको उपयोग पनि हुन सक्दैन र तिनको संरक्षण पनि संभव छैन । त्यसकारण हामीले निर्धारण गरेको राजनीतिक अभिष्ट पूरा गर्न समतामूलक समृद्धि हाम्रो मुख्य साधन हुनेछ र बनाउनुपर्छ ।

अब बाँकी रहेका तीन स (समानुपातिक÷सहभागितामूलक लोकतन्त्र, स्वाधिनता÷सार्वभौमिकता र सदाचार÷सुशासनलाई समृद्धि हासिल गर्ने आधार हुन् । यी त्यस्ता पूर्व शर्तहरु हुन् जसले यो समाजको जातीय, भाषिक, सांस्कृतिक एवं सामुदायिक विविधतालाई सम्बोधन र संरक्षण गर्दै दुई ठूला देशबिचको अर्थराजनीतिक सम्बन्धलाई प्रगाढ बनाउँदै हाम्रो आर्थिक विकास र समृद्धिको लक्ष्य हासिल गर्नेछ । त्यसैगरी यो देश भ्रष्टाचार र अनियमितताको दलदलमा फसेको छ । अपारदर्शी राजनीतिले आर्थिक अनियमिततालाई प्रश्रय दिइरहने र त्यसले अन्ततः राजनीतिलाई सफा र स्वच्छ बनाउने भन्दा आपराधिकरणतर्फ धकेल्ने खतरा छ । यसर्थ, सुशासन, सदाचारसँगै पारदर्शी र सफा राजनीति नै समृद्धि प्राप्त गर्ने आधार हो । अब यहि ‘५ स’को राजनीतिक कार्यदिशा अंगालेर निर्धारित राजनीतिक लक्ष्य हासिल गर्न सकिन्छ । अनि यो नै नयाँ समुन्नत समाजवादमा पुग्ने मार्ग अनि वैकल्पिक राजनीतिको कार्यभार हो । ।

No comments:

Post a Comment

कस्तो विकास, कस्तो अर्थतन्त्र

मनिकर कार्की निवर्तमान सामान्य अर्थमा अपेक्षित दिशातर्फको परिवर्तन, उत्पादन र उपभोगको वृद्धि, भौतिक पूर्वाधारको निर्माण नै विकास हो।...